बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्छ : हृदयेश त्रिपाठी

शनिबार, १९ चैत २०७८, १९ : २२
शनिबार, १९ चैत २०७८

स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेभन्दै जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ। शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका हुन् ।

दलीय आधारमा हुँदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुन कठिन हुने आफूहरूको धारणा रहेको उनले प्रस्ट पारे । पार्टीले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

'हाम्रो प्राथमिकतामा युवा वर्ग हुने छ । हामी युवालाई अवसर दिन चाहन्छौँ,' उनले भने। स्थानीय तहको बढ्दो बेरुजु र अनियमितता अन्त्य नै आफ्नो पार्टीको मूल चुनावी नारा हुने उनले बताए । यसका साथै अध्यक्ष त्रिपाठीले माध्यमिक तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य तथा कृषिको उन्नति आजको आवश्यकता रहेको बताए ।

स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि हुँदा उसले निष्पक्ष ढंगले काम गर्नेमा आफूहरू विश्वस्त रहेको त्रिपाठी बताउँछन् । उनले आफ्नो पार्टीबाट कुनै प्रतिनिधिले जिते दलीय बन्धनमा नराख्ने बताएका छन् ।

यसका साथै उनले नेपाली राजनीतिमा गठबन्धनको संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 'गठबन्धन गरेर सरकार चलाउनु गलत छ । गठबन्धन गरेर चुनावमा जानु पनि गलत हो । त्यसले जनताको स्वस्थ म्यान्डेट आउँदैन । गठबन्धन गर्ने हो भने छुट्टाछुट्टै दल किन चाहिए । यो परिपाटी संविधान र लोकतन्त्र विपरीत छ,' अध्यक्ष त्रिपाठीले भने । उनले प्रतिनिधि सभा सदस्य रेशम चौधरीको रिहाइको माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप