आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गभर्नरमाथि सरकारको एक्सनदेखि सुदूरको सरकारमा काँग्रेसको इन्ट्रीसम्म

शुक्रबार, २५ चैत २०७८, २३ : ०६
शुक्रबार, २५ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको २५ गते शुक्रबार आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. गभर्नरमाथि एक्सन
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न कमिटी बनाउने निर्णय गरेको थियो ।

सो निर्णयानुसार अर्थमन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका हुन् । छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन दिने कार्यादेश दिइएको छ । सरकारले निमित्त गभर्नरमा निलम ढुंगानालाई जिम्मेवारी दिएको छ । 

सम्बन्धित समाचार

२. गभर्नर प्रकरणमा एमालेको विरोध
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्नो असक्षमता लुकाउन गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालको पछिल्लो अर्थतन्त्रको अवस्थाबारे सरकारलाई यथार्थ जानकारी गराएपछि आफ्नो असक्षमता खुल्ने भयले सरकारले गभर्नरमाथि प्रहार गरेको प्रतिक्रिया दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल राष्ट्र बैंकको गर्भनर हटाउनु सरकारको निर्णय निन्दनीय रहेको बताएका छन् । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाएपछि सामाजिक सञ्जालमा लेख्दै उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा  राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय रहेको बताए ।

३. सुदूरपश्चिममा काँग्रेस सरकारमा 
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।  प्रदेश प्रमुख देवराज जोशीले संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

 प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् । 

कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नेकपा एकीकृत समाजवादीका कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ । यसैगरी सो पार्टीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ । 

 प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा आजै साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका सपथ गराएका छन् ।

​४. दाहाल राष्ट्रियसभा सदस्य बने
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।

विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।

५. चुनाव नसर्ने
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव नसर्ने बताएका छन् । सत्ता गठबन्धनको बैठकपछि उनले चुनाव नसर्ने बताएका हुन् ।

६. राप्रपाको शक्ति प्रदर्शन
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा  काठमाडौंको खुलामञ्चमा भएको हो । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ ।

राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्रपा नेपालले अबको मुख्य एजेण्डा विकास र समृद्धिको हुनुपर्ने बताएको छ । यद्यपि पार्टीको प्राथमिक वैचारिक राजनीतिक कार्यदिशा ‘संवद्र्धनवादी दर्शनका आधारमा राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्रको पुनस्र्थापना ’ हुने राप्रपा नेपालले बताएको छ ।

८. बारमा एमाले निल
नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो ।

नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ४४७४ मतसहित गोपालकृष्ण घिमिरे अध्यक्षमा विजयी भएका छन् ।

९. एन्फाको समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचनको डेडलाइन आज  सकिएको छ । 
एन्फाको विशेष साधारणसभाले २४ र २५ गते भित्र निर्वाचन गरिसक्न डेडलाइन दिएको थियो ।

१०. र, यो पनि...
निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।

नेपाली काँग्रेसको कोइराला पक्ष एकलौटी अगाडि बढ्न खोज्दा समस्या आएको भन्दै मोरङका तीन दलले काँग्रेससँग गठबन्धन नगर्ने निर्णय गरेका छन् ।  विराटनगरको होटल स्टर्नस्टारमा आज बिहान बसेको काँग्रेस बाहेकका दलको छुट्टै बैठकले काँग्रेसको विकल्प खोज्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमालेमा प्रवेशको तयारीमै रहेका सिंह अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।​

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप