सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कविता : नयाँ वर्ष

बुधबार, ३० चैत २०७८, १९ : १५
बुधबार, ३० चैत २०७८

आउँछ, ३६५ दिनपछि 
प्रत्येक साल नयाँ वर्ष
हटाउँछन् सबैले, 
पुरानो सालको क्यालेण्डर भित्ताबाट
अनि झुण्ड्याउँछन् सबैले, 
नयाँ सालको क्यालेण्डर भित्तामा
छाउँछ, सबैको मनमा हर्ष र उमङ्ग
गर्छन् आदान प्रदान, शुभकामना एक अर्कामा
मनाउँछन् रमाईलो गरी
सबैले आआफ्नो गच्छेअनुसार
बनाउँछन् भावी योजना थरिथरिका ।
तर, गरीबको झुपडीमा, 
छाउँछ न कुनै हर्ष र उमङ्ग
न त पाक्छ, कुनै मीठा परिकार नै
न त आङ्गमा, कुनै नयाँ कपडा नै
न त बनाउँछन् कुनै भावी योजना नै
चासो हुन्छ केवल, 
मुखमा माड लगाउने के ले?
न त फेर्न सके, 
बर्षौैदेखि चुहिएको घरको छानो नै
न त फेर्न सके, 
एकसरो नयाँ लुगा नै
श्रीमतीको चोलो, छोराको कमिज र कट्टु, 
अनि छोरीको घाँगर र फ्रक, 
न त आफ्नै दौरा सुरुवार र टोपी फेर्न सके
टालेर ढाकिएको छ आङ्ग
अब त बाँकी रहेन, 
टालो ताल्ने कुनै ठाउँ नै।
कामना गरौं, 
अब आउने नयाँ सालमा, 
गरीबले पनि मनाउन सकोस्
नयाँ वर्ष रमाईलो गरी
रमाइलो गरी ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप