आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अल्मुताइरीको निराश अभिव्यक्ति, ‘नेपाल एसियन कपमा छनोट हुन सक्दैन’

शुक्रबार, ०२ वैशाख २०७९, १७ : २४
शुक्रबार, ०२ वैशाख २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीले जुन ८ मा जोर्डनसँग खेल्दै एसियन कप छनोट अन्तर्गतको खेल सुरु गर्नेछ । यसै प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पत्रकार सम्मेलन गर्दै टिमको तयारीको विषयमा जानकारी गराएका छन् । तर अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने निराशाजनक धारणा राखे ।

त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले छनोटमा नेपाली टोली सबैभन्दा कमजोर भएको भन्दै एसियन कपमा छनोट हुन नसक्ने बताएका हुन् । उनले सबै समर्थकको चाहना नेपाल एसियन कप खेलोस् भन्ने रहेको तर यो वास्तविकता भन्दा टाढा रहेको जिकिर गरे ।

‘एसियन कप छनोट हुने विषयमा नेपाल धेरै कमजोर छ । हामीले सपना देख्न ठिक छ । तर, त्यो वास्तविकतामा अर्कै छ,’ अल्मुताइरीले भने । नेपालले एसियन कप छनोटका लागि शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । छनोटका लागि मुख्य प्रशिक्षक अल्मुताइरीले २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । छनोट प्रतियोगितामा भने आफूहरुले उत्कृष्ट प्रदर्शन गर्ने उनले बताएका छन् ।

अल्मुताइरीले अगाडि भने, ‘प्रतियोगिता सबै टिमका लागि महत्वपूर्ण छ । हाम्रो लागि पनि प्रतियोगितामा सहभागी हुन धेरै चुनौती छन् । हामी आफूले सक्ने प्रतिस्पर्धा गर्नेछौं ।’ अल्मुताईरीले एसियन कप खेल्न नेपाली टोलीले अझै धेरै मेहेनत गर्नुपर्ने जनाउँछन् । उनले उमेर समूहका खेलकुद प्रतियोगिताबाट नै खेलाडीको आगमन हुँदै राष्ट्रिय टोलीसम्मको यात्रालाई नियाल्नु पर्ने बताए ।

‘जोर्डन र कुवेत जस्ता टोली हाम्रो प्रतिस्पर्धी हुन् । कुवेत घरेलु टिमलाई त्यहाँको मौसमले साथ दिनेछ । जोर्डनको कुरा गर्दा हामीभन्दा धेरै ठूलो टोली हो,’ उनले भने ।

छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

उक्त छनोटमा नेपालको समूहमा परेका टोलीहरू निकै बलियो छन् । जोर्डनसँग नेपालको विगतको खेल इतिहास राम्रो छैन । जोर्डनको घरेलु मैदानमा नेपालले ९ गोल खाएको रेकर्ड अझै ताजा छ । यता कुवेतसँग पनि नेपालको खेल इतिहास राम्रो छैन । आफूहरु छनोटको कठिन समूहमा परेको अल्मुताइरीले बताए । छनोट खेलमा कसरी उत्कृष्ट प्रदर्शन गर्ने भन्ने पक्षमा आफूहरु भएकाले अहिले नै जितेर एसियन कप खेल्छु भन्नु उचित नभएको उनको भनाइ थियो ।

‘नेपाल छनोटको कठिन समूहमा छ । अन्य समूहमा जस्तो नेपाललाई सहज छैन । नेपालसँग एसिया कप छनोट हुने कुनै मौका छैन । जोर्डन र इन्डोनेसियका खेलाडीहरु प्रोफेसनल रुपमा ठूला टिममा खेल्छन् । युरोप जस्ता राष्ट्रमा खेल्ने खेलाडी छन्,’ उनले थपे, ‘हामीसँग त्यस्ता खेलाडी अहिले उपलब्ध छैनन् । रोहित चन्द र किरण कुमार लिम्बू मात्र प्रोफेसनल खेलाडीको रुपमा स्थापित छन् । सबै खेलाडी प्रोफेसनल नभएर हामीलाई एसियन कपको सपना देख्न सकिने अवस्था छैन ।’

अल्मुताइरीले अफ्गानिस्तान, ओमान र यमनसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको बताए । ‘तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । नेपालमा हामीले एक साता मात्र तयारी गर्नेछौं । त्यसपछि कतार या अन्य कुनै देशमा तयारीका लागि जाने योजना छ,’ अल्मुताइरीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप