सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले षडयन्त्रपूर्वक हटाएको भन्ने इमरानको दावी पाकिस्तानी सेनाद्वारा अस्वीकार

शुक्रबार, ०२ वैशाख २०७९, २० : ४४
शुक्रबार, ०२ वैशाख २०७९

पाकिस्तानी राजनीतिमा बलियो प्रभाव भएको त्यहाँको सेनाले अपदस्थ प्रधानमन्त्री इमरान खानले अमेरिकाले उनलाई षडयन्त्रपूर्वक हटाएको भन्ने आरोपको खण्डन गरेको छ । ६९ वर्षीय खानले गत आइतबार संसदबाट अपदस्थ भएका थिए । 

अमेरिकाको सल्लाह नमानेर मस्को भ्रमणमा गएकाले अमेरिका आफूलाई हटाउन लागेको खानले आरोप लगाएका थिए । वासिङ्टनले पहिले नै यो आरोप खण्डन गरिसकेको छ ।  इमरान खानले रुसले छिमेकी युक्रेनमाथि आक्रमण सुरु गरेको दिन फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । 

खानले अमेरिकी षडयन्त्रलाई नागरिक तथा सैन्य नेता सम्मिलित मन्च ‘नेसनल सेक्युरिटी कमिटी (एनएससी)’ ले पनि समर्थन दिएको आरोप लगाएका थिए । सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखरले यो आरोप खण्डन गरेका छन् ।

एनएससीले यही महिना एक ‘विदेशी मुलुक’ बाट आएको केबलमा अविश्वासको प्रस्तावबारे प्रयोग भएको गैर–कुटनीतिक भाषामाथि चासो दिएर वक्तव्य जारी गरेको थियो ।  त्यसतर्फ संकेत गर्दै प्रवक्ता इफ्तिखरले भने– ‘पत्रमा एउटा पनि षडयन्त्रयुक्त शब्द परेको छ कि छैन तपाइ आफैले हेर्न सक्नुहुन्छ ।’ धेरैले सो पत्र अमेरिकाले पठाएको आशंका गरेका छन् ।

खानको मन्त्रिमण्डलका सूचना मन्त्री रहेका फवाद चौधरीले खानको सरकार अपदस्थ गर्न अमेरिकाबाट षडयन्त्र भएको भन्ने आरोपमाथि छानविनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन् ।  खानले पाकिस्तानी सेना प्रमुख जनरल जावेद बज्वाले विपक्षीसँग गतिरोध अन्त्यको लागि मध्यस्थताको प्रस्ताव गरेका छन् ।

सेनाका प्रवक्ता इफ्तिखरले खानको यो आरोपको पनि खण्डन गरे । तर खासमा खानले नै ‘विपक्षीले अविश्वासको प्रस्ताव फिर्ता लिएमा आफूले तत्काल निर्वाचन घोषणा गर्ने प्रस्ताव विपक्षीकहाँ पु¥याईदिन’ आग्रह गरेको सेनाका प्रवक्ताले बताए ।

‘बज्वाले विपक्षी मोर्चाकहाँ यो सन्देश पुर्याइदिएका पनि थिए । तर उनीहरुले आफ्नो योजनाबाट पछाडि नहट्ने अडान लिए,’ इफ्तिखरले दावी गरे । पत्रकार सम्मेलनमा इफ्तिखरले अफगानिस्तान छाडेपछि अमेरिकाले पाकिस्तानमा सैन्य आधार राख्न कहिले पनि आग्रह नगरेको पनि बताए ।

खानले एक अन्तरवार्तामा आफूले अमेरिकी सेनाको आधार राख्ने प्रस्ताव ठाडै अस्वीकार गरिदिएपछि वासिङटन आफूविरुद्ध लागेको बताएका थिए । –रोयर्टसबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप