आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनविरुद्ध एमालेलाई क–कसको साथ ? पल विरुद्धको मुद्दामा पीडितले फेरिन् बयान

विप्लवलाई प्रचण्ड–माधवको आश्वासन
आइतबार, ०४ वैशाख २०७९, २१ : २६
आइतबार, ०४ वैशाख २०७९

आज २०७९ वैशाख ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनलाई सकस, स्थानीय तह निर्वाचन : सत्तारुढ गठबन्धनभित्र कहाँ कसको दाबी ?, पल शाह विरुद्धको बलात्कार मुद्दामा पीडितले फेरिन् बयान, पाँच दलीय गठबन्धनविरुद्ध एमालेलाई क–कसको साथ ?, सल्यानसहितका केही जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने, गठबन्धनका कारण मत बदर हुने चिन्ता, विप्लवलाई प्रचण्ड–माधवको आश्वासन लगायत छन् ।

१. चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनलाई सकस
सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल मिलाउन सकस भएको छ । आइतबार बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा सोमबार साँझसम्म देशभरका ६ महानगर र ११ उपमहानगरमा तालमेलको खाका बनाउने सहमति भएको छ । तर, महानगर र उपमहानगरमा पनि दलहरुबीच आ–आफ्नो दाबी कायम छ ।

२. स्थानीय तह निर्वाचन : सत्तारुढ गठबन्धनभित्र कहाँ कसको दाबी ?
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र ६ महानगर र ११ उपमहानगरमा आ–आफ्नै दाबी छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले विभिन्न महानगर र उपमहानगरमा दाबी गरेका छन् । गठबन्धनमै रहेको अर्को दल राष्ट्रिय जनमोर्चाले भने महानगर र उपमहानगरमा खासै चासो राखेको छैन । उसले केही वडामा मात्र भागवण्डा खोजेको छ । 

३. पल शाह विरुद्धको बलात्कार मुद्दामा पीडितले फेरिन् बयान
अभिनेता पल शाह विरुद्ध दायर बलात्कार मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए ।

४. पाँच दलीय गठबन्धन विरुद्ध एमालेलाई क–कसको साथ ?
स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनले तालमेल गर्ने भए पनि नेकपा एमालेले पनि विभिन्न दल तथा समूहको साथ खोजिरहेको छ । यस क्रममा एमालेलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले दह्रो साथ दिने भएको छ । यस अतिरिक्त तनहुँमा गोविन्दराज जोशी समूहले पनि एमालेसँग सहकार्य गर्ने भएको छ । जोशी नेपाली काँग्रेसका पूर्व नेता हुन् ।

५. सल्यानसहितका केही जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने
सल्यानसहितका केही जिल्लाका स्थानीय तहमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । तालमेल नहुने पालिकामा आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति जिल्लास्तरीय गठबन्धनको बैठकले गरेको छ । खासगरी एमालेको तुलनामा गठबन्धन घटक बलियो भएका पालिकामा गठबन्धनबीच तालमेल नगर्ने सहमति भएको हो ।

६. गठबन्धनका कारण मत बदर हुने चिन्ता
स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै राजनीतिक दलहरु चुनावी तालमेलको खाका बनाइरहेका छन् । तर यसरी तालमेलका आधारमा दलहरु चुनावमा जाँदा मत बदर प्रतिशत बढ्ने चिन्ता थपिएको छ । तालमेल भएका स्थानीय तहमा एउटा पार्टीबाट मेयर र अर्को पार्टीबाट उपमेयरका उम्मेदवार हुन्छन् भने वडाध्यक्ष र वडा सदस्य पदमा पनि अलग अलग पार्टीबीच तालमेल हुन सक्छ । जसले गर्दा मतदाता अन्योलमा परी मत बदर हुन सक्ने देखिएको हो ।

७. निलम्बन विरुद्ध सर्वोच्च अदालतमा गभर्नर अधिकारीको रिट निवेदन
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले आइतबार रिट निवेदन दिएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट निवेदन दिएका हुन् । सो रिट आइतबार नै दर्ता भएको छ ।

८. विप्लवलाई प्रचण्ड–माधवको आश्वासन
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएका छन् । आइतबार भएको भेटवार्तामा प्रचण्ड र नेपालले विप्लवसहित सो पार्टीका नेतालाई यस्तो आश्वासन दिएका हुन् ।

सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरेका थिए ।  

इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौँ फिर्ता भएको छ । जहाजको देब्रे भागको इन्जिनमा समस्या भएपछि सो इन्जिन ‘सटडाउन’ गरेर विमान काठमाडौँ फर्किएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गाडी आयातमा लगाइएको प्रतिबन्ध तत्काल नखुल्ने बताएका छन् । अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिलाई उनले अर्थतन्त्र संकटमा परेको बेला सरकारलाई साथ दिन आग्रहसमेत गरेका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप