बंगलादेशबाट हामीले के सिक्ने ?
दक्षिण एसियामा अहिले दुई वटा मुलुक आर्थिक अवस्थाका दृष्टिले दुई ध्रुवका उदाहरण बनेका छन् । श्रीलङ्का आर्थिक सङ्कटको उदाहरणका रूपमा चित्रण भइरहँदा बंगलादेश भने आर्थिक उन्नतिको उदाहरण बनेको छ ।
गत मंसिरमा नेपाल उद्योग परिसंघको टोली बंगलादेश भ्रमणमा गएको थियो । उक्त भ्रमणको अवसरमा नेपाली उद्योगीहरूले बंगलादेश छोटो समयमै औद्योगिकीकरणमा जानुको कारण र सरकारले व्यवस्था गरेका नीतिगत व्यवस्थाबारे अध्ययन गर्ने मौका पाए ।
नेपालका उद्योगीहरूले त्यहाँको उद्योगको अवस्था, श्रम समस्याको विषय, लगानीमैत्री वातावरण, कर प्रणालीलगायतको विषयमा बुझेका थिए । भ्रमण टोलीमा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे पनि सहभागी थिए । उनै घिमिरेसँग हामीले त्यस अवसरमा देखेका र बुझेका अनुभवबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ– बंगलादेशको अर्थतन्त्र, औद्योगिक विकास लगायतका विषयमा घिमिरेले व्यक्त गरेको धारणाको सम्पादित अंश–
हामी केही महिना अगाडि उद्योग परिसंघका केन्द्रीय अध्यक्षसमेतको सहभागितामा बंगलादेश गएका थियौँ । ५० वर्ष अगाडि अस्तित्वमा आएको मुलुक लथालिङ्ग होलाजस्तो लागेको थियो । तर, त्यहाँ पुग्दा फरक पाइयो । बंगलादेशले कसरी चाँडै आर्थिक फड्को मार्यो भन्ने विषयमा राम्रोसँग बुझ्ने अवसर पायौँ ।
त्यहाँ लगानीमैत्री वातावरण, कानुन पनि लगानीमैत्री रहेको पायौँ । त्यसका साथै उद्योगपतिहरूको प्रतिष्ठा, उनीहरूलाई हेर्ने दृष्टिकोण, उद्योगीहरूको सुझाव सरकारले ग्रहण गर्ने तरिका हामीले नेपालको तुलनामा फरक पायौँ । मन्त्रीहरूसँग हामीले बैठक गर्यौँ । उद्योगमन्त्री, ऊर्जामन्त्री, विभिन्न मन्त्रालयका सचिवहरूसँग बैठक भयो । त्यो बैठकमा उनीहरूको प्रस्तुति, उद्योगीहरूलाई उनीहरूले दिएको सुविधा, औद्योगिक कानुन, आर्थिक कानुन, करसम्बन्धी कानुन, शान्ति सुरक्षा, बन्द हडताल गर्न नपाइने जस्ता कुराहरू एकदमै कडा रहेछ ।
उनीहरूको भनाइ अनुसार संसद्मा पनि ३५ प्रतिशत निजी क्षेत्रका लागि आरक्षण गरिएको रहेछ । जब त्यो ३५ प्रतिशत मानिस संसद्मा गएर काम गर्न थाले, त्यसपछि औद्योगिक नियम, आर्थिक नियम, आयात निर्यातको नियमहरू, स्वदेशी उत्पादनलाई निर्यात गर्ने कुरा, बन्द हडताल र श्रम ऐनदेखि सारा कुरामा परिवर्तन ल्याए । जसका कारणले अहिले त्यहाँ कुनै पनि उद्योगमा बन्द हडताल गर्न पाइँदैन । बन्द हडताल भएमा तत्काल ‘एक्सन’ लिने रहेछ । उद्योगभित्र ‘नो वर्क, नो पे’, ‘नो स्ट्राइक’ छ । ७÷१० हजार मजदुर भएका उद्योगमा हामी गयौँ । २ सय बिगाहाको उद्योग रहेछ । त्यहाँ १० हजार मजदुर छन् । त्यहाँ राम्रो काम भएको छ । मजदुरले खैनी खाँदैनन्, चुरोट खाँदैनन्, एकले अर्कोसँग कुरा गर्दैनन्, ड्युटीमा कस्तो राम्रो अनुशासन छ । हामी त्यो हेर्दा छक्कै पर्यौँ ।
त्यहाँ मजदुरले आन्दोलन किन गर्दैनन् भने कानुनमै न्यूनतम श्रमको मूल्य दिने बाध्यकारी व्यवस्था रहेछ र बिदा यति दिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका कुरा सम्बोधन गरिएको रहेछ । त्यसपछि पनि बन्द हडताल गरे सेक्युरिटीले ठाउँको ठाउँ एक्सन लिँदो रहेछ । हत्कडी लगाएर थुन्ने वा अत्यधिक आन्दोलन भए गोली हान्ने अधिकार पनि सुरक्षाकर्मीलाई रहेछ । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष भयो । त्यहाँ विगत ४÷५ वर्षदेखि उद्योगमा बन्द हडताल भएको रहेनछ ।
अर्को भनेको बंगलादेशमा ऊर्जा उत्पादनका लागि जलस्रोत छैन । त्यहाँ सोलार र तेलबाट मात्रै ऊर्जा उत्पादन भएको छ । नेपालको विद्युत् ऊर्जा नदीनालाबाट उत्पादन हुने कुरामा उनीहरू अत्यन्तै उत्साहित थिए । त्यहाँका मन्त्री, सचिव पनि नेपालमा लगानी गर्न इच्छुक थिए । ऊर्जा खरिद गर्न पनि इच्छुक थिए । त्यसबेला हाम्रो सरकारले पनि बिजुली बेचौँ–बेचौँ भनिरहेको थियो । अनि हामीले पनि कुरा गर्दा ५ सय मेगावाट बिजुली दिनसक्ने भन्ने सम्झौता पनि भएको थियो । तर, भारतको बाटोबाट प्रसारण लाइन जानुपर्ने अवस्थामा भारतले बाटो दिएको रहेनछ । त्यहाँको ऊर्जामन्त्रीले नेपाल, भारत र बंगलादेशको संयुक्त मन्त्री र सचिवस्तरीय बैठक बोलाएर कूटनीतिक पहल गरेर बाटोको लागि पहल गर्ने कुरा पनि भएको थियो । ऊर्जाको बजार बंगलादेश रहेछ भन्ने देखियो ।
अर्को, उद्योग अवलोकन गर्दा एकदम उत्साहित हुने खालको थियो । बन्द हडताल छैन, ट्रेड युनियन छैन । उनीहरूको अधिकार पनि उद्योगपतिले दिएको छ । त्यसकारण टार्गेट अनुसारको उत्पादन भयो । ‘कस्ट अफ प्रोडक्सन’ घट्ने भयो । त्यसकारण वस्तुको मूल्य पनि कम भयो । त्यो पनि त्यहाँ राम्रोसँग देखियो ।
त्यस्तै, अहिले ४ वर्षदेखि गार्मेन्ट उद्योगमा बंगलादेश विश्वमै दोस्रो प्रमुख मुलुक बनेको छ । उसले निर्यात गर्ने गार्मेन्ट उद्योगबाट उत्पादित वस्तुले विश्वबजारमा चीनपछि दोस्रो स्थान जमाउन सकेको छ । जसका कारण उद्योगमैत्री वातावरण नै हो । जसको परिणाम बंगलादेश विश्वको दोस्रो गार्मेन्ट वस्तु निर्यात गर्ने मुलुक भयो । त्यहाँ अहिले करको पनि राम्रो व्यवस्था छ । रिमोट एरियामा सरकारले जग्गा पनि सस्तोमा लिजमा दिने, जति बढी रोजगारी सिर्जना गर्छ उद्योगलाई त्यति बढी राज्यले करमा छुट दिने, अरुअरु रोयल्टीहरु छुट दिने, जसले बढी निर्यात गर्छ, विदेशी मुद्रा आर्जन गर्छ, व्यापार घाटा घटाउँछ, त्यस्ता उद्योगीलाई पनि राज्यले विशेष सहयोग गरेको देखियो ।
औद्योगिकीकरण गर्न, व्यापार घाटा घटाउन, मुलुकलाई आत्मनिर्भर बनाउन बंगलादेशको औद्योगिक र आर्थिक नीतिहरू अवलम्बन गर्ने हो भने धेरै राम्रो हुने देखियो । त्यहाँको प्रविधि, त्यहाँको टेक्नोजोली नेपालमा भित्र्याएर गर्न सकियो भने त्यसले पनि नेपालको स्तरोन्नति हुन्छ । दक्ष जनशक्ति उत्पादन गर्न, निर्यात गर्न नेपालले पनि धेरै कुरा बंगलादेशबाट सिक्न सक्छ ।
बंगलादेशको मुख्य निर्यात गर्ने वस्तु गार्मेन्ट उत्पादन, माछा र तरकारी हो । जसमध्ये अहिले नेपालमा गार्मेन्टका वस्तु र माछा आयात हुन्छ । पहिले नेपालले गार्मेन्ट उत्पादन अमेरिका, बंगलादेश पठाउँथ्यो । अहिले त्यहाँबाट यता आइरहेको छ ।
बंगलादेशको आर्थिक अवस्था सुध्रन ब्यूरोक्र्याट्सको पनि भूमिका छ । नेपालका कर्मचारीतन्त्रमा उद्योगीहरूले लुट्छन्, खान्छन् भन्ने कन्सेप्ट छ । तर, त्यहाँका सचिवहरूले उद्योगीहरूलाई एकदमै धेरै मान प्रतिष्ठा दिन्छन् । उनीहरूसँग गफ गर्ने, कुराकानी गर्ने तरिका, काउन्सिलिङ गर्ने तरिका एकदमै फरक छ । नेपालमा त्यस्तो छैन । नेपालमा कुशासनका तीन पक्ष राजनीतिक पार्टी, ब्यूरोक्रेट्स र निजी क्षेत्र नै जिम्मेवार हो । तर, त्यहाँका राजनीतिक पार्टीका नेता तथा मन्त्रीले उद्योगपतिलाई हेर्ने दृष्टिकोण र व्यवहार, कर्मचारीतन्त्रले हेर्ने तरिका पनि फरक देखियो । एकदम फ्रेन्ड्ली व्यवहार, रेस्पोन्स गरेर कुराकानी गर्ने, त्यहाँको उद्योग संगठनको प्रमुखले हामीलाई के भने भने सरकारको हरेक नीति निर्माणका क्रममा उद्योगीहरूले दिएको राय सल्लाह बडो महत्त्वको साथ राख्ने गर्छन् रे । त्यसले पनि त्यहाँ औद्योगीकरण गर्न मद्दत पुग्यो ।
मेडिकल हब पनि हो बंगलादेश । उनीहरू मेडिकल डाक्टरहरू उत्पादनमा पनि इच्छुक छन् । बङ्गलादेशीहरू नेपालमा मेडिकल पढाउन इच्छुक छन् । नेपाल र बंगलादेशको हावापानी, वातावरण मानिसहरूको खानपान र संस्कृति पनि मिल्दोजुल्दो रहेका कारण विद्यार्थीहरू यहाँ पढ्न आउन धेरै इच्छुक छन् । त्यहाँको टोलीले हामीलाई मेडिकल स्टुडेन्टहरु नेपालमा अध्ययनका लागि पठाउन पनि इच्छुक रहेको बताए ।
अर्को, त्यहाँको आर्थिक वृद्धिको विषयमा कपी गरेर यहाँ पनि त्यस्तै नीति ल्याएर औद्योगिकीकरणमैत्री, रोजगारी सिर्जना गर्ने, दक्ष उद्योगहरू स्थापना गर्ने, स्वदेशी कच्चा पदार्थहरू प्रयोग गरेर वस्तुको उत्पादन बढाउने र विदेश निर्यात गर्ने विषय हामीले त्यहाँबाट सिक्न सक्छौँ ।
भीम घिमिरे नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
