आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि धमलाले आचारसंहिता उल्लंघन गरेको काउन्सिलको ठहर, लिइयो २ घण्टा कक्षा

शुक्रबार, ०९ वैशाख २०७९, २० : ००
शुक्रबार, ०९ वैशाख २०७९

आचारसंहिता उल्लंघन गरेको भन्दै सञ्चारकर्मी एवं मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ । शुक्रबार धमलाले प्रेस काउन्सिलको कार्यालयमा पुगेर २ घण्टा पत्रकार आचार संहिताबारे कक्षा लिएका छन् । उनले अगामी दिनमा पत्रकार आचारसंहिता विपरितका काम नगर्ने प्रतिबद्धता समेत जनाएको प्रेस काउन्सिल नेपालले जनाएको छ । 

हवाई जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रुपमा लिई काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखीकरण कक्षामा सहभागी गराएको हो ।

हवाई जहाजभित्रबाटै जबर्जस्ती टिभीमा लाइभ गरेको, नेपाल बार एशोसिएशनको बैठकमा समेत अनुमति बिना पसी लाइभ गरेको विषयमा काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रबार कक्षामा राख्ने र  आइन्दा पत्रकार आचारसंहिता उल्लंघन नगर्न सचेत गराउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई पालना गर्दै धमला शुक्रबार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए । धमलालाई नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल,  काउन्सिलका सदस्य गोपाल बुढाथोकी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र महासंघका अध्यक्ष विपुल पोखरेलले आचारसंहिता पढाएका थिए । 

काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन​कर्तालाई आवश्यकता अनुसार अभिमुखीकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो । यस्तो खालको कक्षामा सहभागी धमला पहिलो पत्रकार भएको काउन्सिलले जनाएको छ । 
तर, नयाँ अनलाइनका सञ्चालक, सम्पादक र सञ्चारकर्मीलाई पनि आचारसंहिता कक्षा काउन्सिलले अनिवार्य गरेको छ । यही चैत १ गतेदेखि काउन्सिलले अनलाइन दर्ता गर्नु पूर्व सञ्चालक, पत्रकारहरुले अनिवार्य रुपमा आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको हो । 

त्यस्तो कक्षा लिएपछि मात्र काउन्सिलले अनलाइन सूचीकरण गर्न थालेको छ ।  शुक्रबारको कक्षामा धमलासँगै यस्ता सूचीकरण प्रक्रियामा रहेका सञ्चालक र पत्रकारहरूसमेत थिए । काउन्सिलले कक्षाका लागि विज्ञका रुपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई बोलाएको थियो । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र महासंघका अध्यक्ष विपुल पोखरेलले समेत आचारसंहिताका विषयमा संक्षिप्त बोलेका थिए ।

त्यसक्रममा पत्रकार धमलाले प्रेस काउन्सिलको सक्रियता र नयाँ थालनीको प्रशंसा गरेका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप