मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

११ उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेले कहाँकहाँ टुङ्गो लगाए उम्मेदवार ?

आइतबार, ११ वैशाख २०७९, ११ : ०१
आइतबार, ११ वैशाख २०७९

देशैभरका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगाएका छन् । केहीमा भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।

स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत घोराही र तुलसी उपमहानगरमा दुवै पक्षले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लागिसकेको छ । गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन् ।

यस्तै एमालेबाट घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार छन् । चौधरी दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनेका हुन् ।

तुलसीपुर मेयरमा गठबन्धनबाट काँग्रेसका गेहन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोखबहादुर राना उम्मेदवार बनेका छन् । एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । यो पालिकामा यसअघि मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।

नेपालगञ्ज उपमहानगरको मेयर र उपमेयरमा सत्ता गठबन्धनले उम्मेदवार टुङ्गो लगाएको छैन । यो पालिकामा गठबन्धनबीचको भागबण्डामा मेयर काँग्रेसको भागमा तथा उपमेयर जसपाको भागमा परेको छ । एमालेले भने यो पालिकाका लागि मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाइसकेको छ । एमालेबाट मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल उम्मेदवार छन् । यहाँ यसअघि मेयरमा राप्रपा र उपमेयरमा काँग्रेसले जितेको थियो ।

यस्तै बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट काँग्रेसले उम्मेदवारी दिने भएको छ । काँग्रेसले मेयरका उम्मेदवार टुङ्गो लगाइसकेको छैन । उपमेयरमा भने एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवार बनेका छन् । एमालेबाट बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याल उपमेयरमा उम्मेदवार बनेका छन् । यसअघि मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादीकी शान्ति अधिकारी उम्मेदवार बनेका छन् । वड मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् ।

यो पालिकामा स्वतन्त्र रुपमा गोपाल हमालले पनि उम्मेदवारी दिएका छन् । यसअघि निर्वाचनमा हमाल र वडबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

बागमती प्रदेश अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मिनाकुमारी लामा उम्मेदवार बनेकी छन् । उनी यसअघि एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेकी थिइन् ।

यस्तै, हेटौंडाको उपमेयर काँग्रेसको भागमा परेको छ । काँग्रेसले सो पालिकामा उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छैन । एमालेले हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा यहाँ एमालेले मेयर र उपमेयर जितेको थियो ।

मधेस प्रदेश अन्तर्गत जीतपुर सिमरा उपमहानगरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल उम्मेदवार बनेका छन् । यो पालिकामा उपमेयर काँग्रेसको भागमा परे पनि उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । एमालेले जीतपुर सिमराको मेयर र उपमेयर टुङ्गो लगाउन बाँकी छ । यसअघि यहाँ मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।

यस्तै कलैया उपमहानगरको मेयर काँग्रेस र उपमेयर जसपाको भागमा परेको छ । दुवैले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । एमालेले मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरे पनि उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छैन । यसअघि निर्वाचनमा कलैयाको मेयर र उपमेयर काँग्रेसले जितेको थियो ।

यस्तै जनकपुर उपमहानगरमा सत्तारुढ गठबन्धनभित्र मेयर जसपाको भागमा परेको छ भने उपमेयर काँग्रेसको भागमा परेको छ । दुवैले उम्मेदवार भने टुङ्गो लगाएका छैनन् । एमालेले पनि यहाँ मेयर र उपमेयर दुवै टुङ्गो लगाएको छैन ।

यस्तै प्रदेश १ अन्तर्गत इटहरी उपमहानगरको मेयरमा सत्ता गठबन्धनबाट काँग्रेस र उपमेयरमा एकीकृत समाजवादीले उम्मेदवारी दिने टुङ्गो लागेको छ । तर दुवै दलले उम्मेदवार भने चयन गरिसकेका छैनन् । एमालेले इटहरीको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनबाट धरान उपमहानगरको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ । दुवै दलले उम्मेदवार भने चयन गर्न बाँकी छ । एमालेले धरानको मेयरमा मञ्जु काफ्ले र उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप