आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : स्थानीय तह निर्वाचनका लागि कहाँ–कहाँ टुङ्गो लाग्यो उम्मेदवार ? काँग्रेसको घोषणापत्र सार्वजनिक

अधिकांश महानगरमा सोमवार उम्मेदवारी दर्ता गर्दै ठुला दल
आइतबार, ११ वैशाख २०७९, २१ : ३८
आइतबार, ११ वैशाख २०७९

आज २०७९ वैशाख ११ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा स्थानीय तह निर्वाचनका लागि काँग्रेसले ल्यायो सङ्कल्प पत्र, काठमाडौं महानगर : ठुला दलले भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने, विराटनगरको मेयरमा तीन जनाको उम्मेदवारी दर्ता, भरतपुरमा पनि ठुला दलले उम्मेदवारी दर्ता गर्न बाँकी, ललितपुर महानगरमा राप्रपाबाट मेयर र उमपेयरमा उम्मेदवारी, ठुला दल बाँकी, वीरगञ्ज महानगरमा ‘हेभी वेट’ उम्मेदवारले भोलि उम्मेदवारी दर्ता गराउने, वीरगञ्ज महानगरमा ‘हेभी वेट’ उम्मेदवारले भोलि उम्मेदवारी दर्ता गराउने, ११ उपमहानगरमा क–कसले दर्ता गराए उम्मेदवारी ? लगायत छन् ।

१. स्थानीय तह निर्वाचनका लागि काँग्रेसले ल्यायो सङ्कल्प पत्र
सत्तारुढ नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमबीच काँग्रेसले सार्वजनिक गरेको ८८ पृष्ठ लामो सङ्कल्प पत्रमा आफ्नो पार्टीले जितेका स्थानीय तहमा के–के गर्ने र के–के नगर्ने भन्ने फेहरिस्त प्रस्तुत गरिएको छ । 

२. काठमाडौं महानगर : ठुला दलले भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ । भोलिसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची छ । काठमाडौं महानगरपालिकामा साना दल र केही स्वतन्त्र उम्मेदवारले आइतबार उम्मेदवारी दर्ता गराए पनि ठुला दलले भोलिमात्र उम्मेदवारी दर्ता गराउने भएका छन् ।

३. विराटनगरको मेयरमा तीन जनाको उम्मेदवारी दर्ता
विराटनगर महानगरपालिकामा तीन जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर महानगरमा पनि ठुला दलले आइतबार उम्मेदवारी दर्ता गराएनन् । उनीहरुले सोमबारमात्र उम्मेदवारी दर्ता गराउने भएका छन् ।

४. भरतपुरमा पनि ठुला दलले उम्मेदवारी दर्ता गर्न बाँकी
भरतपुर महानगरपालिकामा पनि आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ताको पहिलो दिन ठुला राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएन । सो महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका तर्फबाट विजय सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

५. ललितपुर महानगरमा राप्रपाबाट मेयर र उमपेयरमा उम्मेदवारी, ठुला दल बाँकी
ललितपुर महानगरपालिकामा राप्रपाले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । यो पालिकामा पनि ठुला दलहरुले आइतबार उम्मेदवारी दर्ता गराएनन् । 

६. वीरगञ्ज महानगरमा ‘हेभी वेट’ उम्मेदवारले भोलि उम्मेदवारी दर्ता गराउने
वीरगञ्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा राजेशमान सिंह र नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर दुवै उम्मेदवारले आइतबार मनोनयन दर्ता भने गराएनन् । वीरगञ्ज महानगरको मेयरमा यी दुईलाई ‘हेभी वेट’ उम्मेदवार मानिएको छ । 

७. पोखरा महानगरपालिकामा मेयरमा धनराज आचार्य र दीपक पौडेल भिड्दै
पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेका तर्फबाट दीपक पौडेलले मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । तर दुवै उम्मेदवारले आइतबार मनोनयन पत्र भने दर्ता गराएका छैनन् । उनीहरुले सोमबार मात्र मनोनयन पत्र दर्ता गराउने भएका छन् । पोखरा महानगरमा आइतबार अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

८. ११ उपमहानगरमा क–कसले दर्ता गराए उम्मेदवारी ?
देशका ११ उपमहानगरपालिकामा मेयर र उपमेयरका लागि आइतबार साना दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराए पनि ठुला दलले भने सोमबारमात्र उम्मेदवारी दर्ता गराउने भएका छन् । 

९. कहाँ–कहाँ टुङ्गो लाग्यो उम्मेदवार ?
प्रमुख राजनीतिक दलहरु स्थानीय तहको उम्मेदवारी मनोनयन दर्ता गर्ने दिनसम्म पनि उम्मेदवार टुङ्गो लगाउन व्यस्त देखिएका छन् । कतै सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलाउन त कतै दलले आफ्नो तर्फबाट उम्मेदवार चयन गर्न आइतबार बैठक आयोजना गरेका थिए । 

१०. टिकटका लागि कुटाकुट, टिकट नपाएपछि दल परिवर्तन
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । टिकट नपाएपछि भने उम्मेदवारका आकांक्षी जसपा परित्याग गरी लोसपामा प्रवेश गरेका छन् । 

११. र यो पनि,
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई सुम्पिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश  सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । 

गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ।  गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो ।

लामो समय नेपाली काँग्रेसको राजनीति गरेका पूर्वमन्त्री गोविन्दराज जोशीले आफ्नो छोरा दीपकराज जोशीलाई राजनीतिमा अघि बढाएका छन् । दीपकले तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । 

नेकपा एमालेले निर्वाचन आयोगले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनेर सार्वजनिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेले आइतबार यसबारे निर्वाचन आयोगलाई ध्यानकर्षण पत्र नै बुझाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप