आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ७२ जिल्लाको मतपत्र छपाइ सकियो, चुनावको दिन सार्वजनिक बिदा

बिहीबार, १५ वैशाख २०७९, २० : ५९
बिहीबार, १५ वैशाख २०७९

आज मिति २०७९ साल वैशाख १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. निर्वाचन आयोगका विभिन्न निर्णय

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।

‘आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ’, उनले भने । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।​

यसैगरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।

आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

​२. गृहमन्त्रीको गतिविधि आयोगको नोटिसमा

गृहमन्त्री बागी उम्मेदवारलाई फकाउन चितवन पुगेको विषय आफ्नो नोटिसमा रहेको निर्वाचन आयोगले जनाएको छ।  सार्वजनिक पदमा रहेको व्यक्ति फिल्डमा पुग्नु आचारसंहिता अनुकुल नहुने आयोगको भनाइ छ ।

​३. विप्लवको पार्टीमा विवाद

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली‘सुदर्शन’ धर्मेन्द्र बास्तोला पक्षले गृह कार्य नपुगेको भन्दै भोलि मात्रै भेला गर्ने भएका छन् । पार्टी नीति विपरित मिडियामा बोल्दै हिँडेको भन्दै गत बुधबार विप्लवले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेका थिए ।

​४. गभर्नरको मुद्दा हेर्दाहेर्दैमा

सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि बिहीबार पेसीमा चढेको उक्त रिटको सुनुवाइ नसकिएपछि शुक्रबारका लागि पेसीमा राख्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

​५. वायुसेवा संचालकको चेतावनी

नेपाल नागरिक उड्ययन प्राधिकरण –क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । उनीहरुले माग पूरा नभए हवाइ सेवा ठप्प पार्ने सम्मको चेतावनी दिएका छन् ।

​६. आर्थिक वृद्धिदर प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७–७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

​७. सेयर बजार

यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका १३ मध्ये सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५५ अंकको गिरावट आएको छ ।

​८. फुटबलमा विवाद

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् ।

नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना खेलाडी राति नै होस्टेल छोडेर गएका थिए । त्यसपछि खेलाडीहरू बन्द प्रशिक्षणमा नआउँदा प्रशिक्षक अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।

​९. सिर्जनाको संकल्प सार्वजनिक

नेपाली काँग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् । ‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

​१०. यो पनि...

नेपाल मजदुर किसान पार्टीले अमेरिका र अमेरिकी आर्थिक परियोजना एमसीसीको विरोधदेखि नेपालको आन्तरिक राजनीतिक समीक्षा गरेर घोषणापत्र सार्वजनिक गरेको छ। एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गरेको विषयलाई नेमकिपाले विरोध गर्दै पास गराउन भूमिका खेल्ने दलहरूको समेत आलोचना गरेको हो।

​नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप