शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी प्रेसर : मौन अवधि अघि नै शीर्ष नेता आ–आफ्नो क्षेत्रमा पुगे

मङ्गलबार, २७ वैशाख २०७९, २२ : २९
मङ्गलबार, २७ वैशाख २०७९

शुक्रबार देशैभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । चुनावअघिको मौन अवधिमा चुनाव प्रचारप्रसार बन्द गरिन्छ जुन मंगलबार मध्यरातपछि सुरु हुँदैछ । तर, त्यसअघि नै सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नै डडेल्धुरा पुगिसकेका छन् । मंगलबार देउवाले कैलाली र डडेल्धुरामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गरे । उनी मौन अवधिभर गृह जिल्लामै बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेकाले काँग्रेसलाई अप्ठ्यारो परेको छ । काँग्रेस एक्लै मल्ल समूह र एमालेसँग लड्नु पर्ने भएकाले देउवा मौन अवधिभर डढेल्धुरामै केन्द्रित हुने भएका हुन् । उनी मतदान गरेरमात्रै काठमाडौं फर्किने परियारले बताए ।

यस्तै गृह मन्त्री बालकृष्ण खाण मंगलबारै गृह जिल्ला रुपन्देही पुगेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने खाण शुक्रबार मतदान गरेरमात्रै काठमाडौं फर्किने भएका हुन् । काँग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने भएकाले काठमाडौंमै छन् । उनी काठमाडौं महानगर प्रमुखमा काँग्रेसका उम्मेदवार सिर्जना सिंहलाई  जिताउने प्रेसरमा छन् ।

काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा पुगेका छन् । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने शर्मा शुक्रबार मतदान गरेरमात्रै काठमाडौं फर्किने भएका छन् । यस्तै काँग्रेस उपभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्का, नेता विजयकुमार गच्छदार लगायत पनि मौन अवधि अघि नै आ–आफ्नो गृह जिल्ला पुगिसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली राजधानीमै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मौन अवधिभर राजधानीमै रहने भएका छन् । ओलीका प्रेस संयोजक रामशरण बजगाईका अनुसार ओलीको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ । त्यसैले ओली मतदान अघि काठमाडौं उपत्यका नछाड्ने भएका हुन् ।

त्यसो त उनको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ हो । झापाको दमक नगरपालिकामा एमाले विरुद्ध काँग्रेस, माओवादी र राप्रपा एक ढिक्का भएका छन् । यसलाई ओलीले प्रेसरको रुपमा लिएका छन् । तै पनि उनी झापा नगएर काठमाडौं उपत्यकामै रहने भएका हुन् ।

यस्तै एमाले महासचिव शंकर पोखरेल हप्ता दिनदेखि गृह जिल्ला दाङमै छन् । दाङका सबैजसो स्थानीय तहमा पुगेर पोखरेलले चुनावी प्रचार गरेका छन् । पोखरेलको निर्वाचन क्षेत्र घोराही उपमहानगरमा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयर हुमा डिसीले उम्मेदवारी दिएका छन् । महासचिव पोखरेल उनीहरुलाई जिताउन लागिपरेका छन् ।

पोखरेल मौन अवधिभर दाङमै बस्ने र शुक्रबार मतदान गरेरमात्रै काठमाडौं फर्किने जनाइएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितलाई जिताउन कमाण्डरको रुपमा खटिएका छन् । स्थापितको चुनावी कमाण्डर भई खटिएका पोखरेलको निर्वाचन क्षेत्र पनि काठमाडौंमै हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल आफ्नै गृह जिल्लामा केन्द्रित भएका छन् । बुटवल उपमहानगरसहित नगरपालिका र गाउँपालिकामा एमालेलाई जिताउन हप्ता दिनदेखि पौडेल गृह जिल्लामै केन्द्रित छन् ।

एमाले नेता घनश्याम भुसाल पनि आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमै केन्द्रित भएका छन् । पार्टी उपाध्यक्ष रामबहादुर थापा चितवन, सचिव टोपबहादुर रायमाझी अर्घाखाची, सचिव लेखराज भट्ट कैलालीमा केन्द्रित भएका छन् ।

प्रचण्ड अब चितवन केन्द्रित, भोट हालेरमात्र फर्किने

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव प्रचार प्रसारको अन्तिम दिन मधेस प्रदेशका ५ जिल्लाका विभिन्न स्थान आयोजित चुनावी सभालाई सम्बोधन गरे । प्रचण्डले मंगलबार रौतहटको पिपरा, विश्रामपुर, सर्लाहीको चक्रघट्टी, मोहत्तरीको बर्दिवास, धनुषाको सहिदनगर र बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका हुन् ।

मधेस प्रदेशका चुनावी सभालाई सम्बोधन गरेर मंगलबार नै काठमाडौं फर्किएका प्रचण्ड बुधबार बिहान आफ्नो गृह जिल्ला चितवनको भरतपुर जाने भएका छन् । उनी निर्वाचन अवधिभर भरतपुरमै बस्ने र शुक्रबार मतदान गरेरमात्रै काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ । भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेनु दाहाल सत्तारुढ गठबन्धनबाट उम्मेदवार छिन् ।

माओवादी केन्द्रका अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आफ्नो गृह जिल्ला गोरखा पुगेको हप्तादिन भन्दा बढी भइसकेको छ । त्यो अवधिभर उनले गोरखाका सबै स्थानीय तहमा हुने चुनावी सभालाई सम्बोधन गरेका श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । सिरानचोक गाउँपालिकाको वडा नम्बर ८ अन्तर्गतको जौबारीमा मतदान गरेरमात्रै श्रेष्ठ काठमाडौं फर्किने भएका छन् ।

यस्तै दाङ र रोल्पाका चुनावी सभालाई सम्बोधन गर्न यसअघि नै काठमाडौं छोडिकेका माओवादी प्रवक्ता कृष्णबहादुर महरा पनि मतदानपछि मात्र काठमाडौं आउने भएका छन् । उनी मौन अवधिको दुई दिन आफ्नो क्षेत्रमै बसेर भोट हाल्न शुक्रबार रोल्पा नगरपालिका जाने भएका छन् ।

यस्तै माओवादीका प्रभावशाली नेता वर्षमान पुन र जनार्दन शर्मा पनि आफ्नो गृह जिल्लामा छन् । मौन अवधिर पुन आफ्नो गृह जिल्ला रोल्पाको माडी चौरमै बस्ने भएका छन् । उनी शुक्रबार मतदान गरेर मात्रै काठमाडौं फर्किने जनाइएको छ ।

अर्थ मन्त्रीसमेत रहेका शर्मा गत सोमबार नै गृह जिल्ला पश्चिम रुकुम पुगेका हुन् । पश्चिम रुकुमका अधिकांश स्थानीय तहमा माओवादी विरुद्ध काँग्रेस र एमालेले चुनावी तालमेल गरेकाले माओवादी प्रेसरमा छ । यसअघिको निर्वाचनमा पश्चिम रुकुमका ६ वटै स्थानीय तहमा माओवादी विजयी भएको थियो ।

शर्मा गृह जिल्ला पश्चिम रुकुमको मुस्किोटमै बसेर मौन अवधि बिताउने भएका छन् । शुक्रबार मतदान गरेरमात्रै उनी काठमाडौं फर्किने जनाइएको छ ।

यस्तै माओवादी नेता शक्तिबहादुर बस्नेत जाजारकोट, देवेन्द्र पौडेल बाग्लुङ, देव गुरुङ लमजुङमा पुगेका छन् । माओवादी नेतृ एवम् ऊर्जा मन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्र ललितपुरमै भएकाले उनी काठमाडौं उपत्यकामै रहने भएकी छन् ।

लोसपा अध्यक्ष ठाकुर जनकपुरमा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर विगत चार दिनदेखि मधेस प्रदेशमा छन् । मधेस प्रदेशका विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्न काठमाडौं छाडेका उनी मौन अवधिभर जनकपुरमै रहने भएका छन् । उनी शुक्रबार मतदान गरेर मात्रै काठमाडौं फर्किने जनाइएको छ ।

सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि मौन अवधिभर जनकपुरमै बस्ने भएका छन् । दुवै नेताले जनकपुर उपमहानगरपालिकालाई प्रतिष्ठानको विषय बनाएका छन् ।

जसपाका अध्यक्ष यादव मधेसमा र भट्टराई पालुङटार केन्द्रित

स्थानीय निर्वाचन अवधिभर प्रायः जसपा अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशमै केन्द्रित भए । जसपाको प्रभाव क्षेत्र मधेस प्रदेश भएकाले अन्य प्रदेश छाडेर उनी मधेस प्रदेशकै चुनावी सभालाई सम्बोधन गरे ।

सप्तरी निर्वाचन क्षेत्र भएका यादव शुक्रबार मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका छन् । जसपाकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने गोरखाको पालुङटारमा छन् । उनले सो नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । पाँच दलीय गठबन्धन गर्न खोजेका भट्टराईले अन्तिममा काँग्रेस र जसपाको मात्रै तालमेल गर्न खोजेका थिए । काँग्रेसले तालमेल नगर्ने भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएपछि उनले एमालेसँग तालमेल गराएका छन् । भट्टराई मौन अवधिभर उतै बस्ने भएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देन झापामा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनाव प्रचारको अन्तिम दिन मंगलबार झापा पुगेका छन् । उनले झापाका विभिन्न चुनावी सभालाई सम्बोधन गरे । उनी मौन अवधिभर झापामै रहने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

‘अध्यक्षज्यूले मंगलबार बिहान झापाको गौरादह र चन्द्रगढीको कार्यक्रमलाई सम्बोधन गर्नुभयो । हल्दीवारी गाउँपालिकाका ५ वटा सभा, बारदही र कचनकलवको कार्यक्रमा सहभागी हुनु भयो,’ श्रेष्ठले भने, ‘मंगलबार दिनभर साना ठूला गरेर ११ वटा कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।’

झापाको कचनकवलमा राप्रपाविरुद्ध काँग्रेस, एमाले र माओवादी एकै ठाउँमा उभिएका छन् । त्यसैले लिङदेनले यो पालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी मौन अवधिभर झापामै बस्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप