आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालको दोस्रो इनिङ्ग्स

मङ्गलबार, १० जेठ २०७९, ०९ : ०२
मङ्गलबार, १० जेठ २०७९

भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल दोस्रो पटक निर्वाचित भएकी छन् । महानगर प्रमुखका रूपमा एक कार्यकाल पूरा गरेकी उनी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेकी थिइन् ।

नेकपा माओवादी केन्द्रकी नेतृ दाहाल २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी हुन् । उनी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी छोरी हुन् ।

उनी पार्टीभित्र इमान र प्रतिष्ठाका लागि संघर्षरत नेतृत्वका रूपमा पनि स्थापित छन् । माओवादी आन्दोलन सुरु भएदेखि नै कम्युनिस्ट राजनीतिमा लागेकी उनी १० वर्षे माओवादी जनयुद्धमा पनि सक्रिय भूमिकामा थिइन् ।

२०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि भूमिगत भएकी थिइन् । पिता प्रचण्डको प्रेरणाबाटै राजनीतिमा होमिएकी उनी माओवादी जनयुद्धका क्रममा अन्य सहकर्मीसँगै सक्रिय थिइन् ।

उनले पार्टी संगठनमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिन् । जनयुद्धकालमा उनले देशको विकट ग्रामीण क्षेत्रमा रहेर काम गरिन् भने प्रवास विभाग अन्तर्गतको संगठनमा पनि काम गरिन् । उनले हरेक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।

उनले माओवादी केन्द्रको महिला संगठन ‘अखिल नेपाल महिला संघ (क्रान्तिकारी)’ को महासचिव हुँदै अध्यक्षको जिम्मेवारीमा रहेरसमेत काम गरिसकेकी छन् । उनी माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य पनि भइन् ।

जनयुद्धकालमा माओवादी आधार इलाकाको रूपमा रहेको रोल्पाको जिल्ला सह–इन्चार्जको जिम्मेवारी लिएर काम गरेकी उनी पार्टीको तल्लो तहबाटै नेतृत्व गरेर यहाँसम्म आएकी हुन् । आफ्नो कार्यकुशलताका कारण उनलाई काठमाडौँमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा खटाइयो । त्यतिमात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा पनि काम गरिसकेकी छन् ।

प्रवेशिकासम्म अध्ययन गरेकी उनी समानुपातिक तर्फबाट संविधान सभा सदस्य पनि भइन् । उनी २०६४ जेठ १३ गतेदेखि २०६९ जेठ १४ सम्म संविधानसभा सदस्यको भूमिकामा थिइन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँबाट प्रत्यक्षतर्फबाट निर्वाचन लडेकी रेनु नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भइन् ।

पार्टी संगठनमा रहेर काम गर्दा आइपर्ने समस्याहरूको सहज र सरल रूपमा समाधान गर्न सक्ने क्षमता राख्ने उनी पार्टीभित्र देखापरेका मनमुटाव र विवाद समाधानमा पनि पोख्त छिन् । हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी रेनुले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशको भ्रमण गरेकी छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित उनले ५ वर्षे कार्यकाल पूरा गरिसकेकी छन् । उनले भरतपुरको प्रमुख पदमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीलाई हराएकी थिइन् । उनले ४३ हजार १२७ मत ल्याउँदा एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप