शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा जसपा–कांग्रेसबीच तालमेलको सम्भावना

शनिबार, २१ जेठ २०७९, ०९ : ०६
शनिबार, २१ जेठ २०७९

महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् । 

महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन । जिल्लामा १५ वटा पालिका प्रमुख र उपप्रमुखसहित ३० जना मतदाता छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षबाहेकका मतदाता हुँदैनन् । 

निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा जनता समाजवादी पार्टी (जसपा) जिल्लामा  सबैभन्दा ठूलो दल हो । जसपाका पाँच जना प्रमुख र छ जना उपप्रमुख छन् । त्यस्तै, दोस्रो दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पाँच जना प्रमुख र तीन जना उपप्रमुख छन् । 

नेपाली कांग्रेसले दुई प्रमुख, चार उपप्रमुख, नेकपा एमालेले एक प्रमुख, एक उपप्रमुख, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले एक प्रमुख जित्दा एक जना स्वतन्त्र प्रमुख र एक जना उपप्रमुख रहेका छन् । 

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । सोहीअनुसार दलहरूबीच गठबन्धनको चर्चाले अहिले महोत्तरीको राजनीतिक माहोल तातेको छ । समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौ सदस्यीय हुन्छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ ।

अन्य पाँच सदस्य गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यमध्येबाट हुनेछन् । उनीहरू जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।


महोत्तरीमा जिल्ला समन्वय समिति गठन गर्न बहुमत १६ जना आवश्यक हुन्छ । ठूलो दलको हैसियतले जसपाले लोसपा र कांग्रेसमध्ये एक दलसँग तालमेल गर्दा बहुमत पुग्छ । 

तर, जसपा लोसपासँग भन्दा पनि कांग्रेससँग नजिक छ । दुई दलबीच तालमेल हुँदा सामान्य बहुमत १६ भए पनि १७ मत हुने देखिएको छ ।  यसअघि बल्वा नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि जसपा–कांग्रेस तालमेल भएको थियो । 

जसपा महोत्तरी अध्यक्ष रामबाबु यादव समन्वय समितिका लागि तालमेल कांग्रेससँगै हुन सक्ने बताउँछन् । तर, जलेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन हुन भने बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले जनाएअनुसार त्यहाँ आज निर्वाचन हुने भएको छ । 

‘हामी आजभोलि नै सूचना प्रकाशन गरेर तयारीमा लाग्छौँ । सम्बन्धित जनप्रतिनिधिलाई कार्य क्षेत्र नछाड्न पनि भनेका छौँ’, कार्यालय प्रमुख सुबोध महतोले भने । निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेसँगै जिल्ला समन्वय समिति गठन प्रक्रिया सुरु हुनेछ । 


न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप