शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपासँग गठबन्धन बनाउनेबारे लोसपाले के गर्ला निर्णय ?

शनिबार, २१ जेठ २०७९, १० : ००
शनिबार, २१ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजेदेखि बैठक बस्ने पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । स्थानीय चुनावको चुनावको समीक्षा र अगामी निर्वाचनको एजेण्डामा छलफल हुने गरी बैठक बस्न लागेको उनले बताए । 

लोसपाले मधेश प्रदेशमा मात्र १६ वटा पालिका जितेको छ । लोसपाले गरेको अपेक्षाभन्दा यो सङ्ख्या कम हो । लोसपाले कम्तीमा ३० देखि ४० वटा पालिका जित्ने अपेक्षा गरेको थियो । पार्टीले अन्य प्रदेशमा कुनै पालिका जितेको छैन । चुनावमा कहाँ गडबड भयो लगायतका विषयमा समीक्षा गर्दै अगामी संघ तथा प्रदेशको चुनावमा कसरी जाने लगायतका विषयमा पनि लोसपाले छलफल गर्नेछ । 

जसपा र लोसपाको बीचमा गठबन्धन वा एकता गर्ने विषय पनि चर्चामा आएको छ । तर नेता शुक्ल भन्छन्, ‘एकता वा गठबन्धनको विषय बाहिर हल्ला मात्र हो । पार्टीभित्र यो छलफलको विषय नै बनेको छैन, त्यसैले बैठकमा यो एजेण्डामा छलफल हुनेछैन । यद्यपि कसैले यो विषय उठाए पार्टीको शीर्ष तहबाट त्यसका बारेमा जवाफ दिने वा स्पष्ट पार्ने काम हुनसक्छ । नत्र त्यसको विषयमा कुनै छलफल हुनेछैन ।’

गत भदौमा लोसपा गठन भएपछि कार्यकारिणी समितिको यो तेस्रो बैठक हो । लोसपाले अहिलेसम्म केन्द्रीय समिति गठन गरेको छैन । कार्यकारिणी समिति पनि विस्तार भएको छैन । पार्टीमा कसैलाई कुनै जिम्मेवारी पनि दिएको छैन । जिल्ला तथा प्रदेशमा तदर्थ समितिहरू गठन भएपनि त्यसले अझै पूर्णता पाएको छैन । भातृ संगठन पनि बनेको छैन । संघीय संसदीय दलको नेता पनि चयन भएको छैन । जिल्लाहरूमा पार्टी समायोजनको काम पनि बाँकी रहेको छ । यी विषयहरुमा पनि छलफल हुने सम्भावना रहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप