शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उमेर समूहका प्रतियोगिता गर्न क्यानलाई किन सकस ?

आइतबार, २२ जेठ २०७९, १६ : २३
आइतबार, २२ जेठ २०७९

नेपाली क्रिकेटको नेतृत्व तहमा विवाद सिर्जना भएपछि सन् २०१६ मा आईसीसीले क्यानको सदस्यता निलम्बन गर्यो । त्यतिखेर विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले नेपाल क्रिकेट सङ्घमा सरकारी हस्तक्षेप र आर्थिक अनियमितता भएकाले त्यस्तो कदम लिइएको जनाएको थियो । क्यानको विवाद अदालतमा पनि पुगेको थियो । त्यसपछि नेपाली क्रिकेटमा हुने प्रतियोगिताहरु जीर्ण बनेसँगै नेपाली क्रिकेट खेलाडी उत्पादनमा पनि कमजोर भयो । 
यसै समयमा केही घरेलु प्रतियोगिता भएपनि नेपालले आईसीसीले गर्ने कुनै पनि प्रतियोगिता खेल्न पाएन । २०७६ असोज २७ क्यान आईसीसीले क्यानलाई शसर्त फुकुवा गर्यो । तर क्यान अझै पनि आईसीसीको निगरानीमा छ । यस्तो समयमा क्यानमा हुने बिभिन्न किसिमका विषयमा आईसीसीको चासो हुन्छ । 

आईसीसी समक्ष नेपाली क्रिकेटको विकास र विस्तार देखाउन खोज्ने क्यान बेला–बेलामा चुक्ने गर्छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गर्ने विषयदेखि लिएर उसले गर्ने अन्य प्रतियोगितामा खर्च विवरण देखाउने कुरामा क्यान चुकेको छ । 
त्यस्तै, उमेर समूहका प्रतियोगिताहरु गर्ने विषयमा पनि क्यान चुकेको छ । क्यान निलम्बनबाट फुकुवा भएको समयदेखि हालसम्म नेपाली क्रिकेटमा एक मात्र उमेर समूहको महिला क्रिकेट प्रतियोगिता भएको छ ।
क्यान निलम्बन भएको चार वर्ष उमेर समूहका प्रतियोगिता नभएको समयमा क्यानको जिम्मेवारी आएपनि पुरुषतर्फ एक र महिलातर्फ एक प्रतियोगिता मात्र भए । त्यसैको कमजोर रुप मलेसियामा जारी आईसीसी यू–१९ महिला विश्वकप छनोट अन्तर्गत एसियाली छनोटमा पनि देखियो । 

पहिलो खेलमा आयोजक मलेसियाविरुद्ध सहज जित निकालेको नेपाल दोस्रो खेलमा बलियो टोली युएईसँग लज्जास्पद हार व्यहोर्ने । उक्त हारसँगै क्यानको निकै आलोचना भयो । नेपाली क्रिकेटमा उमेर समूहका प्रतियोगिता नहुँदा यसले कमजोर रुप लिएको सबैमा विदितै छ । त्यसैले क्यान निकै आलोचित भयो । 

क्यान निलम्बन भएको समय चार वर्ष र पछिल्लो दुई वर्ष उमेर समूहका प्रतियोगिता नहुँदा कमजाेर भएको क्यानको भनाइ छ । क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली क्रिकेटमा उमेर समूहका प्रतियोगिता नहुँदा आफूहरु कमजोर बनको स्वीकार्छन् । तर, टिममा रहेका केही खेलाडीहरु प्रदेश तथा घरेलु लिगहरु खेलेका हुनाले पनि केही सहज भएको उनको भनाइ छ । 


महिलाको सिनियर टोलीको खेल खेलाउन आफूहरु सफल भएपनि उमेर समूहका खेलहरु गर्न नसक्नु कमजोरी भएको मल्लले बताए । तर, अघिल्लो दिन उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु पछिल्लो दिनको खेलमा कमजोर नतिजा आउँदा आफूहरु पनि अलमलमा परेको उनको भनाइ छ । 

क्यानले ४४ जना खेलाडीहरुबाट टिम तयार पारेको र एक महिना तयारी गरेको मल्लले बताए । उनका अनुसार एक महिना टिमको तयारी गरेर प्रतियोगिता खेल्न जानु निकै ठूलो कुरा हो । नतिजा सधैँ टिमको पक्षमा हुँदैन । तर अन्य खेलको टिमले राम्रो प्रदर्शन गर्ने कुरामा क्यान ढुक्क छ ।

‘४४ जना खेलाडीबाट छनोट गरेर टिम तयार पारेकोमा ५ जना राम्रो खेलाडीहरु मलेसिया जान पाएनन् । त्यसैले पनि रिजल्ट कमजोर भयो । तयारी राम्रो भएको हो,’ मल्लले भने । 
मल्लले अब क्यानले सिनियर टिमको प्रतियोगितासँगै उमेर समूहका प्रतियोगितामा पनि ध्यान दिने बताएका छन् । उनले प्रदेश र सिनियर टिममा खेलिरहेको खेलाडीहरुमध्ये नै केही खेलाडीहरु सिनियर टिममा खेल्ने खेलाडी भएकाले अहिले केही सहज भएपनि अन्तिम विकल्प उमेर समूहका प्रतियोगिता नै भएको जनाए । 

‘उमेर समूहका प्रतियोगितामा हामीले ध्यान दिनेछौं । सिनियर टोलीका प्रतियोगिता जस्तो उमेर समूहका प्रतियोगिता पनि अबको मुख्य आवश्यक्ता हो,’ उनले भने । 
यू–१९ विश्वकपमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् । नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप