बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन स्रष्टालाई मधुपर्क सम्मान

मङ्गलबार, ३१ जेठ २०७९, ०८ : ५३
मङ्गलबार, ३१ जेठ २०७९

नेपाली साहित्यमा विशेष योगदान पुर्याउने तीन स्रष्टालाई ‘मधुपर्क सम्मान’ गरिएको छ । राजधानीस्थित बानेश्वर ब्याङ्क्वेटमा आयोजित एक समारोहमा ‘मधुपर्क सम्मान २०७९’ पुरुषोत्तम बस्नेत, गणेश रसिक र मोमिला जोशीलाई कार्यक्रमका प्रमुख अतिथि ज्ञानमणि नेपाल, डा. ध्रुवचन्द्र गौतम, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गरेका थिए ।  

तीन विधाअन्तर्गत दिइने सो पुरस्कार गद्यतर्फ वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतलाई, पद्यतर्फ वरिष्ठ साहित्यकार गणेश रसिकलाई र मधुपर्क प्रतिभा सम्मान साहित्यकार मोमिला जोशीलाई प्रदान गरिएको हो । गोरखापत्र संस्थानको सहप्रकाशन साहित्यिक मासिक पत्रिका मधुपर्कको ५६औँ वर्ष प्रवेशको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो । 

विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र दैनिक समाचारका लागि भरोसाको केन्द्र हो भने मधुपर्क नेपाली साहित्यको पाठशाला भएको बताए । उनले भने “नेपाली कला, संस्कृति भाषाको विकासमा गोरखापत्रको ठूलो योगदान छ । मधुपर्कले धेरै साहित्यकर्मी जन्माएको छ, उहाँहरूकै परिश्रम तथा मिहिनेतले यो यहाँसम्म आइपुगेको छ ।” मधुपर्क आम पाठकका लागि बजारमा सजिलै पाउन सक्ने व्यवस्था गर्न नीतिगत प्रणालीमा परिवर्तन गरिरहेको र मधुपर्कका लागि छुट्टै डिजिटल पृष्ठ निर्माण गर्ने प्रयासमा गरिरहेको अध्यक्ष सुवेदी बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासकार ज्ञानमणि नेपालले भने, “राणाकालका शासकहरुमध्ये उदारवादी शासक देव शमशेरले जनतालाई जागरुक बनाउन गोरखापत्रको प्रकाशन सुरु गरे हुन् ।” साहित्यिक श्रीवृद्धिका लागि पञ्चायतकालमा मधुपर्कको प्रकाशन सुरु भएको उनको धारणा थियो । 

सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतले मधुपर्कको विशिष्ट इतिहास रहेको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान गरेकोमा खुशी प्रकट गरे । यसैगरी वरिष्ठ साहित्यकार गणेश रसिकले मधुपर्कले निरन्तर साहित्यकार र कविहरूका रचनालाई प्रकाशन गर्ने र सम्मान गर्ने परम्परा कायम राखेको बताए । उहाँले निरन्तर समर्पणको भावनाका कारण मधुपर्क ५५ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा खुशी व्यक्त गरे । 

मधुपर्कका सम्पादक जयदेव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा मधुपर्क सम्मान, २०७९ चयन समितिका संयोजक डा. धुव्रचन्द्र गौतम, कवि तथा समीक्षक महेश प्रसाईं, मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले मधुपर्कले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप