बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हुण्डी कारोबारको अखडा बन्दै ठमेल, नरदेवी, न्यूरोड क्षेत्र

हुण्डीमा चिनियाँ व्यापारीको संलग्नता, राजस्व गुम्दै
बुधबार, ०८ असार २०७९, ०९ : ४२
बुधबार, ०८ असार २०७९

लोकेन्द्र भट्ट/निकेश खत्री

ठमेल, नरदेवी, न्यूरोड र इन्द्रचोक पर्यटकीय क्षेत्र भनेर चिनिन्छ । तर हाल उक्त क्षेत्र चिनियाँ व्यापारीको संलग्नतामा नेपालमा अवैध मानिएको हुण्डी कारोबारको अखडाको रूपमा चिनिन थालेको छ ।

न्यूरोड, भोटाहिटी, महाबौद्ध, ठमेल, नरदेवी लगायतका क्षेत्रमा रहेका व्यावसायीले चीनतर्फको सामान निर्यात गर्दा र उताबाट आयात गर्दा हुण्डीमार्फत भुक्तानी गर्नुपर्छ । अझ महाबौद्धका चिनियाँ सामान पाउने बजारमा आउने प्रत्येक सामानको भुक्तानी हुण्डीमार्फत् हुने गर्छ । यसै गरी, ठमेल तथा नरदेवी क्षेत्रमा सञ्चालनमा रहेका हस्तकलाका सामग्री बिक्री गरेबापत हुण्डीमार्फत् भुक्तानी लिनुपर्ने बाध्यता छ ।

‘चीनबाट हुने आयात र चीनतर्फ हुने निर्यातको सबै भुक्तानी हुण्डीमार्फत् हुन्छ,’ ठमेलमा हस्तकला सामग्री व्यापार गर्ने एक व्यापारीले भने, ‘अहिले यस क्षेत्रका व्यापारीहरू हुण्डीको जालोमा नराम्ररी फसिसकेका छन् ।’ नेपालबाट चीनतर्फ जाने हस्तकलाको सामग्रीको भुक्तानीसमेत हुण्डीमार्फत् नै हुने गरेकाले विदेशी मुद्राको अपचलन बढिरहेको ती व्यापारीले बताए ।

‘ठमेल, न्यूरोड, नरदेवी, महाबौद्ध आसपास क्षेत्रमा चिनियाँ व्यापारीको संलग्नतामा हुन्डी कारोबार झन–झन मौलाइ रहेको छ,’ ती व्यापारी थप्छन्, ‘राजधानीका भित्री मुख्य व्यापारिक र पर्यटकीय क्षेत्रलाई अखडा बनाएर हुण्डीको व्यापक कारोबार भइरहेको छ ।’ यसले कर छलीलाई समेत सहयोग गरिरहेको उनले रातोपाटीलाई बताए ।

अहिले ठमेल क्षेत्र चिनियाँ व्यापारीले गैरकानूनी रुपमा रेष्टुरेन्टलागयत व्यवसाय सञ्चालन गर्दै आएको स्थानीय व्यापारी बताउँछन् । यसरी सञ्चालन हुने अधिकांश रेष्टुरेन्टहरु दर्ता बिना नै सञ्चालन हुँदै आएका छन् । कतिपयले रेष्टुरेन्टको नाममा क्यासिनो समेत सञ्चालन गर्दै आएको र त्यस्तो क्यासिनोमा नेपालमा रहेका चिनियाँ व्यापारी र नेपाल आउने चिनियाँ पर्यटकहरु संलग्न हुने गरेको बताइन्छ । त्यस्ता रेष्टुरेन्ट र क्यासिनोबाट हुने कमाईलाई समेत विदेश पठाउन हुण्डीको प्रयोग भइरहेको छ ।

‘ठमेल क्षेत्रमा चिनियाँ केही चिनियाँ व्यापारीहरूले गैरकानूनी रूपमा रेष्टुरेन्ट, क्यासिनो र होटल सञ्चालन गरेका छन्,’ ती व्यापारीले भने, ‘यसरी सञ्चालन गरिएका रेष्टुरेन्टहरूले आर्जन गर्ने गैरकानूनी आम्दानीसमेत हुण्डीको माध्यमबाट विदेश पठाइन्छ ।’

यसरी हुन्छ हुन्डी कारोबार 

कोरोना महामारीपछि नेपाल र चीनबीचको व्यापार निकै घटेको छ । चिनियाँ नाकामा हुँदै आएको कडाइका कारण नेपालको स्थल मार्गबाट चीनमा निर्यात ठप्पजस्तै छ । तर, यो बीचमा गलैंचा, अत्तर, बास्नादार तेल, जडीबुटी, थाङ्का पेन्टिङ, मूर्ति लगायतका सामानहरूको निर्यात भने यथावस्थामै भइरहेको छ । यसरी हुने निर्यात व्यापारमध्ये अधिकांशमा चिनियाँको प्रत्यक्ष संलग्नता छ ।

काठमाडौंको भित्री बस्तीहरुमा उत्पादन हुने यस्ता सामानहरु चिनियाँ व्यापारीले किन्ने गरेका छन् । यस्तो सामानका लागि भुक्तानी भने नेपालभित्रै गैरकानूनी रुपमा गरिएका आम्दानीबाट हुने गरेको जानकारहरू बताउँछन् । विदेश पठाइएका सामानको भुक्तानी भने चिनियाँ व्यापारीले उतै सेटलमेन्ट गर्ने गरेका छन् । 

नेपाललाई तेहोरो क्षति

विदेशी विनिमय सञ्चिति घट्दै गएका कारण यतिबेला नेपालको अर्थतन्त्र संकटमा परेको छ । यो अवस्थालाई कम गर्न भन्दै सरकारले विदेशबाट हुने रेमिट्यान्स आप्रवाहलाई विशेष महत्व दिँदै आएको छ भने नेपालको आयात कम गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । कुनै पनि देशका लागि विनिमय सञ्चितिको आधार भनेको निर्यात पनि हो । तर, अहिले नेपालबाट चीनमा निर्यात हुने अधिकांश वस्तुको भुक्तानी नै हुँदैन । यसले देशको विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पारेको छ । 

त्योभन्दा ठूलो असर चाहिँ नेपालको राजश्वमा परेको छ । नेपालमा विदेशीले व्यवसाय गर्दा आम्दानीको औसत ३० प्रतिशत रकम करबापत सरकारलाई बुझाउनुपर्छ । तर, गैरकानूनी व्यापारको ‘सेटलमेन्ट’ गर्न हुन्डी सजिलो माध्यम बन्दा यसले राज्यकोषलाई प्राप्त हुने करोडौंको आम्दानी गुमिरहेको छ । उता, चिनियाँहरुको यस्तो रबैयाका कारण हस्तकलालगायत सामान निर्यात गर्ने व्यवसायीहरू भने तनावमा परेका छन् । वैधानिक रुपमा निर्यात गर्दै आएका व्यवसायीहरु गैरकानूनी रुपमा हुने यस्तो व्यापारका कारण प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

‘यहाँ सङ्कलन गरेको सामान चिनियाँ कार्गोबाट जान्छ । सबै एजेण्टले नै यो काम गर्छन्,’ ठमेल क्षेत्रका अर्का व्यवसायी भन्छन्, ‘यसले गर्दा हामी नेपालीको कार्गो व्यवसाय संकटमा पर्दै गएको छ । त्यति मात्र होइन, देशले ठूलो मात्रामा राजश्व गुमाइरहेको छ ।’

विच्याटको प्रतिबन्धपछि झनै फैलियो हुन्डी

नेपालभित्र हुने कारोबारमा समेत चिनियाँ भुक्तानी माध्यमको प्रयोग हुन थालेपछि नेपाल राष्ट्र बैंकले यस्ता एप्लिकेसनबाट भुक्तानी गर्न रोक लगाएको थियो । यसै क्रममा दर्ता बिनै चलेको चीनको भुक्तानी प्रणाली ‘विच्याट’ समेत प्रतिबन्धमा पर्यो । राष्ट्र बैंकको निर्देशनसँगै यस्तो भुक्तानी रोकिएपछि उनीहरुले गैरकानूनी आम्दानीहरु स्वदेश लैजाने विकल्पको रूपमा हुन्डी कारोबार बढाउन थालेको रातोपाटी स्रोत बताउँछ ।

‘अहिले यस्तो कारोबारमा २÷३ जना चिनियाँ एजेन्टको प्रमुख संलग्नता छ,’ स्रोतले भन्यो, ‘उनीहरुले ठमेल, नरदेवीलगायतका क्षेत्रबाट मात्रै मासिक दश करोडभन्दा बढी मूल्य बराबरको सामान चीन निर्यात गर्छन् ।’ सिजनमा यस्तो व्यापार दोब्बर हुने गरेको  गरेको स्थानीय व्यवसायी दाबी छ । तर, भन्सार विभागको तथ्याङ्कमा भने १० महिनामा चीनमा जम्मा ६७ करोडको सामान मात्रै निर्यात भएको देखिन्छ, जुन विश्वास गर्नै नसकिने खालको रहेको त्यस क्षेत्रका व्यापारीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप