बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको लफडाले कहाँ–कहाँ रोकियो बजेट ?

शुक्रबार, १० असार २०७९, २१ : १०
शुक्रबार, १० असार २०७९

संविधान त असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रमसहित आर्थिक बर्षको बजेट ल्याउनुपर्ने हुन्छ । सोही क्रममा आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन । खासगरी नेकपा एमालेका जनप्रतिनिधिहरुको अर्घेल्याइँका कारण बजेट प्रभावित हुन पुगेका छन् । एमालेका कारण पोखरा महानगर, हेटौंडा उपमहानगर, जीतपुर सिमरा उपमहानगर र विदुर नगरपालिकाको बजेट प्रभावित हुन पुगेको हो ।

एमालेको अवरोधका कारण गण्डकी प्रदेशको एकमात्र पोखरा महानगरपालिकामा आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ मात्रै प्रस्तुत गरियो । शुक्रबार बिहान नगरसभामा बजेट प्रस्तुत हुनु अगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगर सभा बहिष्कार गर्दा साँझमात्र बजेट पेश भएको हो । दिनभर एमालेका प्रतिनिधि र मेयर–उपमेयरबीचको वार्ता गरेर बेलुका ७ बजे पुनः नगर सभा सुरु गर्दै बजेट पेश गरिएको मेयर धनराज आचार्यले जानकारी दिए । पोखरा महानगरमा एकीकृत समाजवादीका धनराज आचार्य मेयर छन् भने एमालेकी मञ्जुदेवी गुरुङ उपमेयर रहेकी छन् । सहमतिपछि पोखरा महानगरका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याइएको छ ।

हेटौंडामा बहिष्कारपछि नगर सभा स्थगित
नेकपा एमालेले नगर सभा बहिष्कार गरेपछि हेटौंडाको उपमहानगरको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबारका लागि तय भएको नगर सभा एमालेले बहिष्कार गर्दा १२ गते सम्मका लागि स्थगित भएको हो ।
शुक्रबारको नगर सभा प्रभावित भएपछि उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले आगामी असार १२ गते १ बजेका लागि नगर सभा आह्वान गरेकी हुन् । शुक्रबार उपमहानगरपालिकाका कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेपनि एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए ।

जीतपुर सिमरामा पनि एमालेको उदण्डता
मधेस प्रदेशको जीतपुर सिमरा उपमहानगरमा पनि एमालेको असहयोगका कारण शुक्रबारको नगर सभा स्थगित भएको छ । यो उपमहानगरमा पनि एमालेबाट निर्वाचित प्रतिनिधिहरुले नियोजित ढंगले रजिस्ट्रारमा हाजिर नगर्दा गणपूरक संख्या पुग्न नसकेको हो ।

एमालेका नगर सभा सदस्यहरुले नियोजित ढंगले उपस्थिति रजिस्ट्रारमा हाजिर नगरेपछि कानुनतः नगर सभा गर्न गणपूरक संख्या नपुगेकाले नगर सभा स्थगित भएको घोषणा गर्नुपरेको नगरप्रमुख राजन पौडेलले जानकारी दिए । शुक्रबार नगर सभा हलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूका कारण केहीबेर तनावको स्थिति नै सिर्जना भएको थियो । नगरप्रमुख राजन पौडेलले विधि र प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई नगर सभा शुरु गर्न भनेपनि लगातारको होहल्ला र असहज परिस्थितिका कारण करिब ४ बजे नगर सभा स्थगित भएको घोषणा गरिएको थियो ।

विदुरमा माइन्युट नै च्यातियो
वागमती प्रदेशको नुवाकोट जिल्लाको विदुर नगरपालिकामा पनि एमाले जनप्रतिनिधिले माइन्युट नै च्यातेपछि बजेट प्रभावित भएको छ । एमाले जनप्रतिनिधि र अन्य पार्टीका जनप्रतिनिधिबीच विवाद बढ्दै गएपछि एमालेका जनप्रतिनिधिले नगर कार्यपालिकाको बैठकबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेटसम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका (माइन्युट) नै च्यातेका हुन् ।

विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका छन् । शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ ।  

च्यातिएको पुस्तिका ढुंगेलले नै लगेको भन्दै उनीमाथि आवश्यक कानुनी कार्यवाही माग गरिएको छ । च्यातिएर बाँकी रहेको निर्णय पुस्तिकाको कपी भने उजुरीमा संलग्न गरिएको श्रेष्ठले बताए । विदुर नगरपालिकाले यसअघि श्वेतपत्र नै जारी गरेर नगरपालिकाको समग्र आर्थिक अवस्थाबारे जानकारी गराएको थियो ।

त्यस्तै एमालेका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पनि बजे पेश हुन सकेन । छत्रदेव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थकाअनुसार बिहीबार कार्यपालिकाबाट स्वीकृतिका लागि पेश भएको बजेट शुक्रबार पनि स्वीकृत गर्ने प्रयास गरिएको थियो तर बहुमत  पुग्न नसकेका कारण गाउँसभामा पेश हुन सकेन् । पन्थका अनुसार अर्को सूचना जारी नभए सम्मका लागि गाउँसभा स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप