बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कथा : नौली

शनिबार, ११ असार २०७९, ०६ : ४२
शनिबार, ११ असार २०७९

 –धन्धा नमान यार सोहन । अरे, यार कहिलेकाहीँ त मोज गर ।

–मोज रे । हामी पढ्न आएका कि मोज गर्न ? 

–पढाइ ! पढाइ !! पढाइ !!! हैन कति गर्ने पढाइ ? 

–पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न । 

–हो, त्यसो भन न त ।

म डुल्न मन पराउने मान्छे भने होइन । साथी भाइले प्रस्ताव राख्दा पनि विभिन्न बहाना बनाएर टार्दै आएको छु । तर आज किन हो किन डुल्न जाने प्रस्ताव मैले आफै राखे । जाँच सकिएको भर्खरै एक दुइ दिन भएको थियो । त्यसैले पनि होला, मैले पनि सुरैसुरमा डुल्न जाने प्रस्ताव राख्दिएँ । 

म बसमा अघिल्लो सिटमा थिएँ । पछाडि सँगै पढ्ने दुइजना साथी रवि र संजय थिए । बाटोमा ती दुबैले निकै खासखुस गरे । मैले उनीहरूको कुरामा त्यत्ति ध्यान दिइनँ । बस रत्नपार्क पुगेर सबै यात्रुलाई ओराल्यो । डुल्न त हामी निस्कियौं तर कहाँ जाने कुनै टुंगो थिएन । मैले भनें, ‘चिडियाखाना जाऊँ, त्यता नगएको धेरै भो ।’ 

रविले मुख विगार्यो, ‘त्यहाँ नजाउँ यार । सबै जोडीका जोडी भएर हिँड्छन् । हामीलाई त साह्रै झुर हुन्छ क्या ।’ 

‘हामी चिडियाखानाका जीवजन्तु हेर्न जाने । ती जोडीसँग हाम्रो के लिनुदिनु । तिमीहरूको यहीं बानी त मलाई ठीक लाग्दैन । अहिले एक्लै कोठा फर्किदिन्छु अनि ।’ 

मेरो घुर्कीपछि संजयले फकाउन थाल्यो, ‘नरिसा न यार । ल तैंले भनेकै ठाउँमा जाने । तर हाम्रो प्रस्ताव पनि आज तैंले मान्नुपर्छ । नाँइ भन्न पाउने छैनस् ।’ 

–पहिले भनेर त हेर । 

–एउटा रेष्टुरेण्टमा गएर स्पेशल चिया खाने । 

–ल, त्यत्ति जाबो कुरा पनि म मान्दिन त । 

चिडियाखाना हेरियो अघाउन्जेल । नानाथरिका कुराकानीमा अल्झाएर उनीहरूले धेरै समय खाइदिए । चिडियाखानाबाट निस्किने वित्तिकै मैले भनें, ‘ल संजय, रेष्टुरेण्टमा चिया ख्वाउने कुरा गथ्र्याे नि । ल, कहाँको रेष्टुरेण्ट हो । छिटो गर भोक पनि निकै लागिसक्यो ।’ 

–पख न, तँलाई आज स्पेशल चिया ख्वाउँछौ । 

जाउलाखेलबाट बस चढेर सुन्धारा ओर्लियांै । त्यहाँबाट साँगुरा गल्ली हिँडाउँदै भोटेबहालको एउटा सानो पसलमा छिराए उनीहरूले । 

–ओहो रवि बाबु, निकै दिनपछि आउनु भयो त । अनि संजय नानीलाई सन्चै ?  (मलाई इंगित गर्दै) उ नानी त नयाँजस्तो देख्छु नि ? 

साथीहरूले साहुनीको कुरालाई त्यत्ति ध्यान दिएनन् । खाली मुस्कुराए मात्र । के कुरा चाहिं सिद्ध भयो भने उनीहरू सहर आएको बेला यो रेष्टुरेण्टमा नियमित रूपमा नास्ता गर्न आई रहन्छन् । साहुनीले उनीहरूलाई राम्ररी चिन्छे । 

बाहिरबाट रेष्टुरेण्ट छिर्न मन नलागेझैं देखिए पनि भित्र त्यस्तो फोहोर थिएन । टेबल, कुर्सी सफा थिए । कोठाको रंगरोगन भर्खरै गरिएझैं लाग्थ्यो । एक सोह्र–सत्रकी मैयाँ हामी बसेको टेबुलनेर उभिई र सोधी, ‘दाइहरूलाई के ल्याऊँ ?’ 

–सेकुवा, भुट्वा, मासु के छ ? 

–सबथोक छ । 

रविले घातक मुस्कान छाड्यो र सोध्यो– ‘साँच्चै सबथोक छ ?’ 

संजयले अर्डर गर्यो, ‘तीन ठाउँ भुटुवा र तीनै ठाउँमा स्पेशल चिया ।’ 

अर्डर गरेको ५ मिनेटमै भुटुवा आइपुग्यो र तीन गिलासमा एलटी अर्थात् लोकल ठर्रा ।

–यो के हो यार । तिमीहरूले स्पेशल चिया भनेको होइन ? 

–हो, यही त हो नि स्पेशल चिया । तैंले पनि चिनिस् । खोयाबिर्के ल यार । कहिलेकाहीँ त खानुपर्छ क्या । 

– मैले जिन्दगीमा पिएकै छैन । मसँग मजाक नगर यार । 

– ल जिन्दगीमा नगरेको अनुभव त बटुल्नु पर्छ नि । 

रविले त्यो भनाइसँगै आफ्नो गिलास आधा रित्यायो । संजयले पनि उसलाई साथ दिंदै मलाई भन्यो, ‘कमसेकम भुटुवा त चबा ।’ 

भोक पनि निकै लागि सकेको थियो । म भुटुवा चबाउन थालें । 

–त्यसो भए तैले नखाने एलटी ? (मैले नकारात्मकमा टाउको हल्लाएँ)

रविले गिलासमा हाल्दै भन्यो, ‘ल वियर त अलिकति खान्छस् नि । जाँच सक्किसक्यो, के को टाउको दुःखाइ ?’

युवा मन त्यत्ति २÷४ घुट्को वियर पनि नखाए लाछी भनि हाल्छन् नि । यस्तै सोचेर वियर चाहिँ निलेँ घुटुघुटु । साथीहरूले मानाको माना रित्याउँदै गए । त्यो एक बोटल वियर मैले पनि कतिखेर सिध्याएँ । गफगाफमा पत्तै भएन ।

हठात नाडीको घडीमा मेरो नजर पर्यो । रातको साढे आठ बजेछ । ओहो जाउँ यार अन्तिम बससम्म पाई हालिन्छ कि ? 

संजय करायो, किन हतार गर्छस् भन्या । ट्याक्सीमा जाँउला नि । अझै त हामीलाई पुगेकै छैन । तँलाई पुगेर हुन्छ । कि कसो रवि ? 

रविले पनि हो मा हो मिलाउदै भन्यो, ‘नडरा न यार, सबै पैसा हामीले नै तिर्छाै । तैले हामीलाई साथ मात्रै दिए पुग्छ ।’ 

मलाई पनि झसंग रिस उठ्यो, ‘के मलाई कंगाल भन्ठानेका । तिमी दुवैलाई किन्न सक्छु, बुझ्यौ ? लौ आज जति घिच्न सक्छौ घिच । मेरो तर्फबाट फ्री ।’ 

दुवैले घातक मुस्कान छाडे । रविले भन्यो, ‘हो हामीलाई पनि यही चाहिएको सोमले कुरा बुझेछ । साहुनी ल हामीलाई चाहि कडा खालको वासा थप एक माना । दाइ सोमलाई वियर । अनि के बच्या छ, चिकेन फ्राइ, मटन सबै एक÷एक प्लेट पाउँ त ।’ 

सित्तैमा पाए त यिनीहरूलेचार माना चुक पनि चट् पार्छन् । आफूले तिर्नुपर्ला भनेर अड्कली अड्कली अर्डर गरिरहेका साथीहरूले । मेरो तर्फबाट फ्री भन्ने वित्तिकै भोज मनाउन सुरु गरे ।

पिएपछि नशा नलाग्ने कुरै थिएन । साथीहरूले प्रस्ताव राखे आज टन्न खाइयो । आजको रात यतै बसौं । प्रहरीको गस्तीले भेट्योे भने रातभरि चिसो खोरमा जाँक्छ । 

मलाई पनि उनीहरूको कुरा ठीकै लाग्यो । ‘नआउनु घुम्न आई हालियो । नपिउनु टन्न पिई हालियो । लौ यार अब तिमीहरूले जे जे बन्दोबस्त गर्छाै गर ।’ मेरो अर्डरसँगै रवि होटेल पछाडि गयो र तुरून्तै सन्देश बोकेर आयो, ‘ल, बेड पनि ठ्याक्कै ३ वटा खाली रहेछ । जाउँ उतै खाना कोठामै खाऊँ ।’ 

खाना त के खाइन्थ्यो, जुठोसम्म पारियो । खाना खाँदासम्म मैले यताउती कहीँ हेरिन । चुठ्ने बेला जसै मगको पानी लिन हात अगाडि बढाएँ । एउटा षोड्से युवती मगको पानी हाल्दिदै भनिन्, ‘रामरी चुठ्नुस् दाइ ।’ 

उनी निहुरिएर पानी हाल्दा छातीको अग्रभाग ह्वाङ्गै खुलेको देखियो । वियरको नशाले त मलाई छोएकै थियो । त्यो दृष्यले मलाई झन नशा दियो । मैले कसरी चुठें, पत्तै पाइनँ । 

‘दाइ ढोका बन्द नगर्नुस् ल । म तपाईंको लागि सुपारी, सुकमेल लिएर आउँछु,’ हात पुछ्न रूमाल दिदै उनले भनिन् । 

पहिले उनी कुन डे«समा थिइन्, त्यो मैले ख्यालै गरिन । हातमा सुपारी सुकमेलको बट्टा लिएर आउँदा उनको जीउमा झिनो कपडा थियो । उनको शरीरका भित्री लुगा प्रष्ट देखिन्थ्यो । 

सुपारीको बट्टा थमाउँदै उनले सोधिन्, ‘दाइ म एकछिन यहाँ बसँु ?’ तर मैले कुनै प्रतिक्रिया नजनाउँदै उनी ढसमस्स बसिन् । मलाई थाहा थिएन, म सुपारी टोकिरहेछु या कुनै ढुंगा ? 

जवान युवतीसँग अझसम्म यति नजिक म कहिल्यै आँखामा आँखा मिलाउदै बसेको थिइन । ती कथित बैनी भने मलाई आफ्नो हाउभाउ देखाउँदै आकर्षित गर्ने कोशिस गर्दै थिइन् । 

मलाई के कुरामा द्विविधा रहेन भने यो रेष्टुरेण्टका नियमित ग्राहक रवि र संजय रहेछन् । बेला–बेलामा डेराबाट हराउँदा उनीहरूको बास यही हुँदोरहेछ र आजको यात्रामा यहाँसम्म ल्याइ पुर्याउन उनीहरूले विहानैदेखि ग्राण्ड डिजाइन तयार पारिसकेका 

रहेछन् । ग्राण्ड डिजाइनअनुरूप उनीहरू आ–आफ्नो कथित प्रेमिकाहरूसँग अघि नै बिस्तरामा चालु भैसकेका होलान् । अनि मलाई त्यो खाडलमा जाँक्न काँचो मासु पठाइदिएका होलान् । 

– दाइ केही कुरा गर्नुस् न । कि तपाईं लाटो हुनुहुन्छ ? 

कत्रो साहस, कत्रो आँट । मलाई लाटो रे । मन त लाग्थ्यो, उनलाई एक थप्पड बजाई दिऊँ र ‘हो’  म लाटो नै हुँ भनी ईशाराले नै कोठाबाट धपाई दिऊँ । तर म विवश थिएँ । उनी विवश थिइन्, आफ्नो ड्युटी गर्दै थिइन्, जागिर पकाउँदै थिइन् । 

– मलाई चुरोटको तलतल लाग्यो । 

– म ल्याइ हाल्छु नि । शिखर ल्याऊँ कि ५५५ ?

– जुन भए पनि हुन्छ । 

त्यसो त मैले जिन्दगीमा एक सर्काे चुरोट पनि तानेको थिइनँ । मनले भन्यो, आज तैंले धेरै कुराको पहिलोपल्ट अनुभव गर्ने भइस् । सायद मन एकछिन भए पनि एकान्त चाहन्थ्यो र कथित बैनीलाई कोठाबाट धपाउन चुरोटको अर्डर गर्न पुग्यो । 

धुवाँ उडाउदै उनी आइ पुगिन् र त्यही जलिरहेको चुरोटबाट अर्को चुरोट सल्काएर मलाई दिइन् । धुवै–धुवाँले रूमल्लियो कोठा ।

–झ्याल खोल । 

–कुरा बाहिर जाला । 

–हैन धुवाँ मात्रै बाहिर जाला । हामीले कुरै गरेका छैनौं भने कसरी कुरा बाहिर जाला ? 

–अब त गर्दैछौं नि । 

मलाई लाग्यो, उनलाई चुरोट लिन पठाएको वेला नै छेस्किनी लाएर आरामका साथ म किन सुतिन ? अब कुन बहाना लिएर फेरि बाहिर पठाउँ ? 

–एक जग मनतातो पानी लिएर आऊ । 

–(सिरानीतिर देखाउँदै) ऊ त्यहाँ छँदै छ नि । 

अरू केही चाहिएला कि भनेर म कोठाको निरीक्षण गर्न थाले । 

उनी लाजको सीमा पार गर्दै गाऊनको गोजीबाट कण्डमको बट्टा झिक्दै भनिन्– नसुर्ताउनोस् यो पनि छ । यही खोज्नु भएको होला हैन ?

अब भने उनीसँगको पिण्ड छुटाउन गाह्रो थियो । ल तिम्ले कुराकानी गर्ने भनेको होइन । तिमीले नै सुरु गर । तिमी यस्तो दलदलमा किन ? को हौ तिमी ? कि यही होटेलवालाकी छोरी ?

मेरा हठात् प्रश्नले उनका आँखा रसाएर आए । धेरैवेर केही बोल्न सकिनन् । खाटमुनि कतिखेर उनले रक्सीको बोतल राखेकी थिइन् । गिलासमा खन्याइन् र एक गिलास स्वात्त पारिन् । ‘मेरो कथा सुनेर के गर्नु हुन्छ दाइ ?’

–म कहिलेकाहीँ कथा पनि लेख्छु । हुन सक्छ, तिम्रो कथा सुनेर एउटा राम्रो कथा जन्माउन सकुँ । 

–आजसम्म जति आए केवल मलाई गिजोलेर मेरो शरीर उपभोग गरेर गए । तपाई पहिलो व्यक्ति हुनुहुन्छ, जो मलाई मेरो जीवनका तीता क्षणहरू वाँड्न भन्दै हुनुहुन्छ । म एक–एक भन्छु दाइ, एक–एक ।

.....

यहाँनेर उनको भनाइ हुबहु उतार गर्दा अर्को लम्बेतान कथा बन्न जाला, त्यसैले उनको भनाइ संक्षेपमा राखौ । ‘पहाडको गाउँमा हुर्किएकी नौली गाउँकै स्कूलमा कक्षा ९ मा पढ्दै थिइन् । लाहुरबाट एक नौलो युवक गाउँमा आयो । ऊ गाउँको जिम्दारको छोरो रहेछ । केही दिनमै दुई दिल एक भए । 

घरको आर्थिक स्थिति कमजोर भएकी नौली धनमा लोभिई । जमिन्दारको छोरोसँग भागेर सहरमा आई । ३÷४ महिना होटेलमा दुवै खुब शानसँग बसे । नौली आफूलाई संसारकै सबैभन्दा भाग्यशाली ठान्थी । तर अचानक जिम्दारको छोरो बिदा सकिएपछि नौलीलाई कुनै खबरै नगरी विदेशियो । नौली विचल्लीमा परी । होटेलमा खाएको ५ हजार जति तिर्नु थियो । होटेलेले नौलीलाई साधन बनाएर रकम असुल उपर गर्यो । नौलीको ऋण त कट्टा भयो तर ऊ गाउँ जान पनि सकिन । उम्किन नसक्ने दलदलमा भासिई । 

नौलीको कथामा कुनै नौलो घटना थिएन । गल्ती उसको पनि थियो । तर उसको प्रस्तुतीकरण यति घतलाग्दो थियो कि म पनि उसंगै आँसु झार्न बाध्य भएँ । वियरको नशा पनि उत्रियो । 

रात जसोतसो कट्यो । न उसले मलाई छोई, न मैले उसलाई छोएँ । साथीहरूले भने मलाई आफ्नै ड्याङको मूला बनाउन सक्षम भएकोमा गर्वित थिए ।

त्यसै त भावुक, त्यो घटनापछि म अझ भावुक हुन थालें । तर किन–किन मेरा गोडाहरूले उही रेष्टुरेण्ट र उही नौलीलाई खोज्न थाले । मलाई आफ्ना दुःख सुनाएर नौलीले आफूलाई भुलेकी थिई । त्यो घटनापछि म उसलाई भुलाउन, उसको पीडामा महलम लगाउन गइरहन्थें । 

म साथीहरूभन्दा बढी नै रेष्टुरेण्ट धाउन थालेको थिएँ । म गएपछि नौलीको मुहार पूर्णाकार चन्द्रमाझंै धपक्क बल्थ्यो । उसलाई भेट्न होटलवालीलाई दस्तुर भने बुझाउनै पथ्र्यो । तर नौलीलाई पर्दैनथ्यो । मैले नौलीसँग त्यो सम्बन्ध पनि कायम गर्दिनथेँ । लाज हराइसकेकी नौली मलाई देखेर लजाउन थालेकी थिई । विभिन्न परिकार आफ्नै हातले बनाएर ख्वाउँथी । म त्यसको पैसा पनि तिर्दिनथें । शरीर बेच्नेहरूले त सबैलाई माया गर्छन् तर त्यो देखावटी हुन्छ । के नौलीले मलाई भने साँच्किै माया गर्न थालेकी हो ? कि मलाई पनि देखावटी माया नै गरेकी हो ? उसले जे सोंचे पनि म भने उसको प्रेममा विस्तारै विस्तारै फस्दै गएको थिएँ । 

नौलीलाई देख्न नपाए के के हराएझैं लाग्थ्यो । नौलीलाई लिएर नानाथरिका सपना बुन्न थालेको थिएँ म । संजय र रविले मलाई यस बारेमा पटक पटक सचेत गराए । तर मैले उनीहरूको कुरा एक कानले सुनेर अर्को कानले उडाइ दिएँ । 

मनको निकै अन्तद्र्वन्द्वपछि म नौलीसँग विवाह गर्ने स्थितिमा पुगें । आखिर के कमी छ उसमा ? मेरो मनलाई बुझ्ने कोही नारी छ भने त्यो नौलीबाहेक अरू कोही हुन सक्तिन । आखिर कमल पनि त हिलोमै फूल्छ । मैले स्याहरेर कसैको जिन्दगी नरकतुल्य हुनबाट जोगिन्छ भने मैले त्यो किन नगर्ने ? मेरो मनमा सधँै यस्तै कुरा मात्रै खेल्थे । 

एकदिन निकै आँट गरेर मैले प्रस्ताव राखें– नौली म तिमीसँग विवाह गर्न चाहन्छु । 

–ठट्टा नगर्नुस् दाइ । म जस्तालाई कसले गर्छ बिहे ? 

–यो ठट्टा होइन नौली । मैले बडो सोँच विचार गरेरै तिमीलाई अपनाउने निर्णय लिएको हुँ । 

–पहिले त्यो जमिन्दारको छोरो बिर्खबहादुरले पनि त्यस्तै मायाजालमा पारेर मसँग बिहेको प्रस्ताव राख्यो र आज मलाई यो स्थितिमा पुर्यायो । हुन्दिनुस् दाइ, मलाई मेरै हालतमा छाडी दिनुस् । तपाईंले मात्रै चाहेर हुँदैन । तपाईंको परिवारले स्वीकारेन भने म यही फुटपाथमै त फ्याँकिने हो आखिरमा । 

–पुराना कुरा बिर्स नौली । तिम्रा अतीतका बारेमा हाम्रा परिवारलाई बताउनु नै किन पर्यो र ? आऊ अब, हामी आजदेखि नयाँ जीवनको सुरुवात गरौं । 

–मेरो अतीतको पर्दा उघ्रियो भने तपाईंको परिवारमा ठूलो चोट पर्ला । म आफूजस्तै तपार्इंलाई पनि वेघरवार बनाउन चाहन्न दाइ । 

–बेघरवार, यहाँको कसको पो घरवार छ र ? आँटिलो छोरोले बाउ आमाको मुख ताक्नु हुन्न । परिवारकाले स्वीकारेन भने तिमीलाई पाल्ने क्षमता छ ममा । पालिनको लागि तिम्रो शरीर बेच्नु जरूरी छैन नौली तिमीलाई अब । आउ नयाँ जीवनको सुरुवात गरौं । 

नौली मेरो छातीमा टाँसिई । धेरै बेरसम्म रोइरही । मेरा राजा मेरो प्राण भनेर चुम्वनको वर्षा गरिरही । 

पशुपतिमा गएर मैले नौलीको सिउँदोमा सिन्दुर भरेंं । सरासर डाक्टरकोमा लगें । रगत जाँच गर्न भनियो । धन्न उनको रगतमा एचआइभी पोजिटिभ देखिएन । मेरो महानता देखेर डाक्टर पनि खुशी भए । जाँच फी र औषधीको समेत शुल्क लिएनन् । बरू आउँदै गर्नु भनेर नयाँ जीवनको शुभकामना दिए । 

मैले शरीर बेच्ने आइमाईसँग बिहे गरें भन्ने खवर मेरो गाउँमा खरमा लागेको आगोझैं फैलियो । खबर पुर्याउने भूमिका रह्यो मेरै महान मित्रहरू संजय र रविको । बाको प्रतिक्रिया थियो– अब मेरो लागि त्यो छोरो मरेतुल्य भयो । त्यसको लागि यो घरको ढोका सदाको लागि बन्द भयो । 

म आफ्नो जीवनदेखि खुशी नै थिएँ । श्रीमतीले खाना बनाउँथी । सानो अफिस फेला पारेको थिएँ । खाना खाएर अफिस जान्थें । साँझ अफिसबाट फर्किदा ऊ मेरै प्रतिक्षामा हुन्थी । खाजा तयार हुन्थ्यो । तपाईंलाई दुःख दिएँ भनेर बीच–बीचमा हीनताबोध गर्थी । मैले उसलाई ढाडस दिन्थें । हुन पनि साथीहरूको आवत जावत बन्द भएको थियो । सबैसँग सम्पर्क टुटेको थियो मेरो । 

बिहे भएको करीब ६ महिनापछि एकदिन अचानक संजय मेरो डेरामा आइपुग्यो । उसलाई भेटेर हामी औधी रमायौ । ऊ केही महिनाको लागि आफ्नो अफिसको काममा आएको रहेछ । हल्ला फैलाउने काम सबै रविले गरेको भनेर बहाना बनायो उसले । हाम्रै डेराको छेउमा बस्यो ऊ । तर खाना हाम्रै भान्सामा खान थाल्यो । एक्लै के दुःख गर्छस् भनेर मैले नै उसलाई अनुरोध गरेको थिएँ । 

विहान गफगाफको लागि बोलाउँदा समय छैन भन्थ्यो संजय तर पछि थाहा पाइयो बेलुकी म नभएको बेला चिल्लो घस्न आउँदो रहेछ । फेरि आजकल नौलीको ब्यावहारमा पनि केही परिवर्तन आएको देखिन्थ्यो । 

एकदिन मैले अप्रत्यक्ष रूपले नौलीलाई सचेत गराएँ । उसले कुनै जवाफ फर्काइन । 

सन्चो नभएकोले एकदिन म अफिसबाट चाँडै डेरा आइपुगें । कोठामा संजय नौलीसँग टाँसिएर हाँसी–हाँसी गफ गरिरहेको थियो । 

–यो के चाल हो संजय तिम्रो ? तिमीलाई गफ गर्न बोलाउँदा समय छैन भन्छौ । म नभएको बेला लुकी–लुकी मेरो कोठामा आउने ? 

–कुरा त्यसो होइन यार, तिमी नभएको बेला भाउजूलाई एक्लै बोर हुन्छ, त्यसैले गफगाफको लागि आउँछु । 

–मलाई सबै थाहा छ, तिम्रो व्यवहार । तिम्रो त्यो बानी अझै गएको छैन । 

–त्यति ठूलो आरोप नलगा यार, हेर तंैले त्यस्तै सोच्छस् भने म तेरो नजरबाट सदाको लागि टाढा भैदिन्छु । म आजै डेरा सर्छु । 

नौली मेरो खुट्टामा छाँद हालेर अश्रुधारा बगाउन थाली । मेरो प्राण संजय बाबु र म बीच त्यस्तो कुनै अपवित्र सम्बन्ध छैन । पहिले म हरेक ग्राहकको नौली थिएँ । मैले अब त्यो काँचुली फालिसकें । कसैसँग बोल्दैमा, हाँस्दैमा हजुरलाई जलन हुन्छ भने म अबदेखि कसैसँग सम्वन्ध बढाउँदिन । 

मैले नौलीलाई अंगालो हालें । हनहनी आएको ज्वरो पनि क्षणभरमै दूर भयो । मलाई लाग्यो, त्यो ज्वरो पनि शंकाकै ज्वरो थियो । जो अब पूरापूर उत्रिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप