बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले, लोसपा र जनमतबीच गठबन्धनको गृहकार्य

बिहीबार, १६ असार २०७९, १६ : ५६
बिहीबार, १६ असार २०७९

 आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन कायम रहे नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टी मिलेर अर्को गठबन्धन बनाउने तयारी भइरहेको छ ।​ लोसपाले पहिलो प्राथमिकतामा काँग्रेस, जसपासहितको लोकतान्त्रिक गठबन्धनलाई राखेको छ । त्यसका लागि सो पार्टीले आवश्यक प्रयास पनि गरिरहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर सत्तारुढ गठबन्धन नटुट्ने सम्भावना देखेपछि लोसपाले अर्को गठबन्धन बनाउने गृहकार्य थालेको लोसपा सम्बद्ध एक नेताले बताए ।

एमाले, लोसपा र जनमत पार्टीबीच गठबन्धन बनाउने र त्यसमा अन्य साना दललाई पनि सामेल गराउने तयारी भइरहेको स्रोत बताउँछ । त्यसका लागि उनीहरुबीच कुराकानी पनि भइरहेको छ । रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीलगायतसँग पनि गठबन्धनका लागि छलफल गरिने बताइएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले हालै यिनै विषयमा रेशम चौधरीसँग छलफल गरेका छन् । जेलमा रहेका चौधरीलाई राउतले भेटेर चुनावमा तालमेल गर्न प्रस्ताव गरेका थिए । त्यसमा रेशम चौधरी पनि सकारात्मक रहेको बुझिएको छ ।

लोसपा र एमालेबीच चुनावी गठबन्धन हुने लगभग निश्चित भएको छ । त्यसमा सीके राउत नेतृत्वको जनमतलाई समावेश गराउन एमालेको प्रस्ताव छ । एमाले र जनमत पार्टीबीच यस विषयमा सामान्य छलफलसमेत भइसकेको र छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरु बताउँछन् ।

एमाले र लोसपाले आपसमा गठबन्धन बनाउने भन्दा पनि सत्ता गठबन्धन भत्काउनुलाई साझा लक्ष्य बनाएका छन् । सत्ता गठबन्धन भत्किएमा त्यहाँबाट बाहिरिने केही दललाई ल्याएर नयाँ गठबन्धन बनाउने सोच एमाले र लोसपाको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने, ‘गठबन्धनमा जाने कि नजाने भन्ने विषयमा पार्टीले अहिले कुनै निर्णय गरेको छैन, भोलि गएर के परस्थिति बन्छ, थाहा छैन ।’

एमाले एक्लै चुनावमा जान सक्ने र परिस्थिति अनुसार गठबन्धन पनि बनाउन सक्ने उनको भनाइ थियो । ‘गठबन्धनका लागि यही दल, त्यही दल भनेर हुँदैन,’ उनले भने, ‘यी सबै विषयमा परिस्थिति अनुसार पार्टीले निर्णय गर्छ ।’ उनले गठबन्धनको विषयमा लोसपासँग कुनै औपचारिक कुरा नभएको पनि दाबी गरे ।

लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पनि आफूहरु गठबन्धन बनाउने मनस्थितिमा रहेको तर कुन दलसँग कसरी बनाउने भन्नेबारे गृहकार्य नभएको बताए । उनले भने, ‘गठबन्धनका लागि सबै दलसँग अनौपचारिक रुपमा कुराकानी भइरहेको छ तर यही दलसँग हुन्छ भन्ने निश्चित भएको छैन ।’

गठबन्धन आफूले चाहेरमात्र नहुने उनले प्रस्ट पारे । ‘यसका लागि दुवैतर्फबाट सहमति हुनुपर्छ, एजेण्डा र विचार पनि मिल्नुपर्छ, धेरै कुरामा सहमति हुनुपर्छ । अनिमात्र गठबन्धन बन्न सक्छ,’ उनले भने, ‘आगामी दिनमा पार्टीले यसको विषयमा स्पष्ट निर्णय लिन्छ ।’

जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि गठबन्धनका लागि आफ्नो पार्टी खुला रहेको तर त्यसरी कुनै दलसँग औपचारिक सम्वाद नभएको बताए । केही दिन पहिलो सीके राउत र रेशम चौधरीबीच कुराकानी भएको स्वीकार गर्दै उनले दुई नेताबीचको छलफल सकारात्मक भएको बताए । त्यसबाहेक अन्य दलसँग त्यसरी कुराकानी नभएको उनले दाबी गरे ।

उनले भने, ‘गठबन्धनका लागि हामीले विकल्प खुला गरे पनि कुनै पनि दलसँग दस्तावेजकै आधारमा छलफल भएको छैन, चुनावको मिति घोषणा भएपछि यसले केही तीव्रता लिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप