शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तयार भयो मौद्रिक नीतिको ‘ड्राफ्ट’

बोर्डबाट पास भए शुक्रबार नै सार्वजनिक हुने
बिहीबार, ०५ साउन २०७९, १५ : ३२
बिहीबार, ०५ साउन २०७९

मौद्रिक नीतिको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ समेत तयार गरेको हो । 

बिहीबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका लागि तयार ड्राफ्टसहित अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । मौद्रिक नीतिको ब्रिफिङका लागि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका गभर्नर अधिकारी एक्लै गएको राष्ट्र बैंक स्रोतले रातोपाटीसँग बतायो ।

‘मौद्रिक नीतिका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ भइसकेको छ । अब म्यानेजमेन्ट टिममा अन्तिम पटक मौद्रिक नीति बारे छलफल हुँदैछ । बोर्डबाट पारित भए, भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुन्छ’ स्रोतले रातोपाटीसँग भन्यो । 

मौद्रिक नीतिका बारेमा प्रधानमन्त्रीको कस्तो धारणा वा सुझाव आयो त ? भन्ने हाम्रो प्रश्नमा स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँगको छलफलमा अरू कोही गएको थिएन । गभर्नरज्यू एक्लै जानु भएको थियो । त्यहाँ के कस्तो छलफल भयो मलाई जानकारी छैन । तयार मौद्रिक नीतिका बारेमा प्रधानमन्त्रीज्यूले पनि के कस्तो सुझाव दिनु भयो, अब बोर्ड बैठक बसेपछि मात्र जानकारी प्राप्त होला’ स्रोतले भन्यो । 

राष्ट्र बैंकले प्रधानमन्त्रीसँगको ब्रिफिङपछि अब मौद्रिक नीतिको तयार ड्राफ्ट अन्तिम पटक व्यवस्थापक समितिमा छलफल गर्दैछ । त्यसमा के कस्ता व्यवस्था वा बुँदाहरूलाई करेक्सन गर्न सकिन्छ गरेर बोर्डमा पठाउने तयारी गरेको छ । यदि बोर्ड उक्त प्रस्ताव पास गरेमा भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुनेछ । तर, अहिले उक्त ड्राफ्ट म्यानेजमेन्ट टिममा नै रहेको स्रोतले रातोपाटीलाई जानकारी दियो । 

कस्तो आउँदैछ मौद्रिक नीति ?

खासगरी अहिलेको मुलुकको आर्थिक समस्याको समाधान विभिन्न टुल्सहरुलाई प्रयोग गर्दै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको बुझिएको छ । आन्तरिकसँगै बाह्य कारणले आकासिएको मूल्य वृद्धि, असमान व्यापार घाटा, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब लगायत उत्पादन केन्द्रित अर्थतन्त्रका लागि मौद्रिक नीति केन्द्रित हुने बताइएको छ । 

स्रोतका अनुसार मुख्य गरी मौद्रिक नीतिले यस पटक तीन वटा मुद्दालाई सम्बोधन गर्दैछ । 

१. आन्तरिक मागको पक्ष

२. बाह्य तत्त्वको प्रभाव र

३. लक्षित आर्थिक वृद्धिदरको पक्षलाई समेट्ने गरी मौद्रिक नीति आउँदैछ । 

आन्तरिक मागको पक्ष भन्नाले बैंक, बीमा, धितोपत्र बजार लगायतका क्षेत्रहरूसँगै वित्तीय परिचालन तथा त्यसको नियमन नियन्त्रण तथा प्रोत्साहनका नीतिहरू रहनेछन् भने, बाह्य तत्त्वको सम्बोधन तर्फ आयात निर्यातसँगै विदेशी विनिमय, रेमिट्यान्स, खर्च नीति आदी रहन्छन् । जसमा रेमिट्यान्स आकर्षण गर्दै विदेशी मुद्रा खर्चमा मौद्रिक नीति मार्फत राष्ट्र बैंकले थप कस्न सक्ने देखिएको छ । 

यता आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले लिएको उच्च दर आर्थिक वृद्धिलाई समेत सर्पोट गर्नुपर्ने बाध्यतामा समेत रहेको राष्ट्र बैंकले उत्पादन केन्द्रित सन्तुलित मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप