बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आफ्नो जुँगामाथि गर्व गर्ने शायजाको कहानी

आइतबार, ०८ साउन २०७९, १७ : ३७
आइतबार, ०८ साउन २०७९

जुँगा भएकी एउटी भारतीय महिलाले अनलाइनमा तारिफ र गिल्ला दुबै पाउने गर्छिन्, तर उनी आफ्नो अनुहारको कपालका लागि मानिसहरुको चासो बारे चिन्तित नभएको बताउँछिन् ।

३५ वर्षीया शायजाले आफ्नो ह्वाट्सएप स्टेटसमा आफ्नो तस्बिर मुनी लेखेकी छिन्, ‘मलाई मेरो जुँगा मनपर्छ ।’

फेसबुकमा उनका तस्बिरहरू हेर्ने वा उनलाई व्यक्तिगत रूपमा भेट्ने मानिसहरूले उनलाई प्रायजसो एउटै प्रश्न सोध्छन् – किन जुँगा पालेकी ?

‘म यति मात्र भन्न सक्छु कि मलाई यो मन पर्छ,’ उनी भन्छिन् ।

शायजा केरलाको कन्नूर जिल्लामा बस्छिन् । धेरै महिलाहरू जस्तै, उनको अनुहारमा सिमित मात्रै रौँ थिए ।

उनले आफ्नो आँखी भौँलाई नियमित रुपमा थ्रेडले मिलाउने गर्थिन् तर उनका अनुसार ओठ माथिको रौँ हटाउन आवश्यक उनले कहिल्यै सोचिनन् ।

करिब पाँच वर्षअघि, यी रौँ बिस्तारै घना हुन थाले र जुँगा देखिन थालेपछि शायजाले यसलाई काट्ने नभई राख्ने निर्णय गरिन् ।

उनी भन्छिन्, ‘म अब यी बिना बस्न सक्छु होला जस्तो लाग्दैन । कोभिड महामारी सुरु भएपछि मलाई जतिबेला पनि मास्क लगाउन मन पर्दैनथ्यो किनभने यसले मेरो अनुहार ढाक्ने गर्दथ्यो ।’

शायजा आफ्नो जुँगा बारे के भन्छिन् ?

धेरैले उनलाई जुँगा हटाउन पनि आग्रह गरे तर शायजाले त्यसलाई ठाडै अस्वीकार गरिन् ।

उनी भन्छिन्, ‘नहुनु पर्ने कुरा मसँग भएकोले मलाई म सुन्दर छैन भन्ने महसुस कहिल्यै भएन ।’

महिलाको अनुहारमा रौँ हुनुहुँदैन भनिन्छ । भइहाले पनि त्यसलाई पैसा खर्च गरेर हटाउ वा कुनै आकार देउ भन्ने गरिन्छ ।

हेयर रिमूभर उत्पादनहरूको अर्बौँको व्यापार छ र यसले ती महिलाका लागि क्रिम, वाक्स स्ट्रिप्स, रेजर र एपिलेटर्स बनाउँछ जो आफ्नो आवश्यकताका लागि ती खरिद गर्न सक्षम छन् ।

तर हालैका वर्षहरूमा, धेरै महिलाहरूले यस्तो चलनको ठिक विपरित हिँड्ने निर्णय गरे र आफ्नो अनुहारको रौँ राख्न चाहिरहेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा बडी पोजिटिभिटीकी प्रचारक हरनाम कौर दाह्री पाल्ने विश्वकी सबैभन्दा कम उमेरकी महिला बनिन् ।

थुप्रै अन्तरवार्तामा उनले यसबारे चिन्तित भइराख्दा आफ्नो अनुहारको रौँसँगै आफूलाई कसरी प्रेम गर्न सिकिन्् भन्ने जानकारी दिएकी छिन् ।

थुप्रै स्वास्थ्य समस्यासँग गुज्रिएको छ शायजाको पछिल्लो १० वर्ष

शायजाका लागि जुँगा बयानबाजीको हिस्सा मात्र होइन, यो उनको आफ्नै व्यक्तित्वको हिस्सा हो ।

उनी भन्छिन्, ‘म आफूलाई मन पर्ने कुरा गर्छु । यदि मसँग दुईवटा जीवन भएको भए म अरूको लागि बाँच्न सक्थेँ ।’

उनी वर्षौंदेखि स्वास्थ्य समस्यासँग जुधेकी भएर पनि उनले यस्तो भनिरहेकी छिन् । विगत १० वर्षमा, शायजाले छवटा शल्यक्रिया गरिसकेकी छिन् ( एउटामा उनको स्तनबाट गाँठो हटाइयो र अर्कोमा उनको पाठेघरबाट ट्युमर हटाइयो । उनको अन्तिम शल्यक्रिया पाँच वर्षअघि हिस्टेरेक्टोमी ९पाठघर हटाउने० थियो ।

उनी भन्छिन्, ‘म कुनै शल्यक्रियाबाट निको हुन्छु, अपरेशन थिएटरमा फेरि जान नपरोस् भनेर प्रार्थना गर्छु ।’

धेरै स्वास्थ्य समस्याबाट बाहिर आएपछि शायजा बलियो नै बनेकी छिन् । आफूलाई खुसी बनाउने जीवन जिउनुपर्छ भन्ने कुरामा उनी विश्वास गर्छिन् ।

विवाह पछि ठूलो परिवर्तन

शायजाका अनुसार उनी निकै लजालु स्वभावकी थिइन् । उनको गाउँमा साँझ ६ बजेपछि महिलाहरू घरबाहिर बिरलै देखिन्थे  ।

यद्यपि केरला यसको उच्च विकास मापदण्डहरूको साथ भारतको एक प्रगतिशील राज्य हो, धेरै क्षेत्रमा पितृसत्तात्मक सोच कायम छ, र महिलाहरूलाई एक्लै यात्रा गर्न वा एक्लै बस्न निरुत्साहित गरिन्छ ।

विवाहपछि छिमेकी राज्य तमिलनाडुमा बसाइँ सरेपछि नयाँ प्रकारको स्वतन्त्रता पाएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मेरो श्रीमान् काममा जानुहुन्थ्यो र घर ढिलो आउनुहुन्थ्यो । त्यसैले म साँझ घरबाहिर बस्ने गर्थेँ, कहिलेकाहीँ केही चाहिएमा राती एक्लै पसल जान्थेँ । त्यहाँ कसैको वास्ता थिएन । मैले आफ्नो काम आफैँ गर्न सिकेपछि मेरो आत्मविश्वास पनि बढ्दै गयो ।’

उनले यो कुरा आफ्नी छोरीलाई पनि सिकाइरहेकी छिन् ।

शायजाको परिवार र उनका साथीहरूले उनको जुँगालाई समर्थन गर्छन् । उनकी छोरीले आमालाई जुँगाले नै सुन्दर बनाइरहेको भनेर कमेन्ट गर्ने गर्छिन् ।

तर शायजाले सबै किसिमका प्रतिक्रिया सुन्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘पुरुषको मात्रै जुँगा हुन्छ, महिलाले किन जुँगा राख्छन् होला भनेर धेरैले मेरो मजाक उडाइरहेका हुन्छन् ।’

पछिल्ला वर्षहरूमा स्थानीय मिडिया रिपोर्टहरूमा उनी धेरै पटक चर्चामा आएका छिन् । उनी भन्छिन्, ‘हालसालै स्थानीय समाचार संस्थाको फेसबुक पेजमा मसँग सम्बन्धित एउटा समाचारमा धेरैले मजाक उडाउँदै कमेन्ट गरेको देखेकी छु ।’

तीमध्ये एकजना व्यक्तिले लेखेका थिए, ‘उनले आफ्नो आँखीभौँमा थ्रेडिङ गर्छिन् भने जुँगामा किन ब्लेड लगाउँदिनन् ?’

उनी भन्छिन्, ‘के राख्ने, के फाल्ने, यो त ममाथि निर्भर हुन्छ नि ।’

शायजाका साथीहरूले प्रायः यी फेसबुक पोष्टहरूमा रिसाउँदै जवाफ फर्काउँछन् तर उनलाई भने यसले केही फरक नपार्ने उनी बताउँछिन् ।

‘वास्तवमा कहिलेकाहीँ म ती टिप्पणीहरू पढेर हास्न सकूँ भनेर पनि हेर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप