शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सडक बालबालिकाको सशक्तीकरणका लागि सातै प्रदेसमा सिविन

सोमबार, ०९ साउन २०७९, १३ : ०२
सोमबार, ०९ साउन २०७९

आजभन्दा २२ वर्षअघि सडक बालबालिका कति छन् भनेर अनुसन्धान गर्दा करिब ५ हजार बालबालिकाको डाटा संकलन भएको थियो । तर, अहिले काठमाडौंको स्थिति फेरिएको छ । हाल सडक बालबालिकाको संख्या निकै कम छ । यसका लागि सडक आश्रित बालबालिकाका निम्ति पैरवी गर्दै आएका विभिन्न संस्थाहरुले सहयोग पुर्याइरहेका छन् ।

यस्तै संघ संस्थामध्ये एक गैरसरकारी संस्था सिविन नेपालले सडक बालबालिकाको सशक्तीकरण प्रक्रियामा सघाउँदै आएको छ । 

राजधानीमा अवस्थित सिविन नेपालको स्थापना सन् १९८७ मा भएको हो । ३५ वर्षअघि सडकमा जोखिमपूर्ण जिवन बिताइरहेका बालबालिकाको आवाज बन्नका लागि यस संस्थाको सुरुवात भएको सिविन नेपालका असिस्टेन्ट प्रोजेक्ट म्यानेजर विष्णु प्रसाद पौडेलले जानकारी दिए । सुरुवाती दिन स्मरण गर्दै पौडेलले भने, ‘बालबालिका भनेको राष्ट्रिय गैरवको गहना हुन् भनेर सडक बालबालिकाको उद्धारमा सिविन नेपाल अग्रसर भएको हो । पहिला त दिनमा ३० जनासम्म सडक बालबालिकाको उद्धार गर्ने गरेका थियौँ ।’

जोखिमपूर्ण जीवनमा बाँचिरहेका सडक बालबालिकालाई उद्धार, संरक्षण गरी परिवार वा समाजमा पुनस्र्थापना गर्न तथा बालबालिकालाई सडकमा आउने परिस्थितिको अन्त्य गर्नका निम्ति पछिल्लो समय सरकारी तथा गैरसरकारी तवरबाट उद्धार कार्य भइरहेको पौडेल बताउँछन् । पौडेलका अनुसार सिविन नेपाल विशेष गरी बालबालिकाको केन्द्रविन्दु बनेर काम गर्दै गर्दा सात वटा प्रदेशमा यसको शाखा विस्तार भइसकेको छ ।

सुरुवाती समयमा सिविन नेपाल आफैँले नै सडक बालबालिकालाई सिधै उद्धार गरेर आफैँले निर्माण गरेको कमन रुममा राख्ने गर्दथे । साथै, सिविन नेपाल धेरै सडक बालबालिकाको ट्रान्जिट होम पनि हुने गर्दथ्यो तर सिविन नेपालको पछिल्लो कामकारवाहीमा परिवर्तन आएको छ । हाल सिविनले सडक बालबालिकालाई सरकारी प्रक्रिया परिपूर्ति गरेपछि मात्रै सडकमा आश्रित बालबालिकाको उद्धारमा समन्वयात्मक भूमिका निर्वाह गर्नेगर्दछ । सडक बालबालिकाबारे विभिन्न तवरबाट जानकारी पाएपछि सिविनले बालबालिकाको उद्धारका लागि सञ्चालनमा आएको टोल फ्री नम्बर १०४ लाई उनीहरुबारे जानकारी दिन्छन् । कुनै संस्थाले उद्धार गर्न चाहेको खण्डमा १०४ सँग समन्वय गर्छन् । त्यसपछि मात्रै १०४ ले बालबालिकाको अवस्था हेरेर कुन संस्थामा लैजाने रिफर गरिदिन्छ ।

सडक बालबालिकाको उद्धार कार्यका साथै उनीहरुको परिचय खुलाउन र सडकसम्म आइपुग्नमा के कस्ता कारण थिए भन्नेबारे स्पष्ट जानकारी बटुल्न पनि आवश्यक रहेको पौडेलले बताएका छन् ।

सिविन नेपालले बालबालिकाको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सडक बालबालिकाको परिचय खुलेपछि उनीहरुको परिवारसँग भेट गराएर परिवारको अवस्था हेरेर आर्थिक अवस्था कमजोर भएको खण्डमा  बालबालिकालाई शिक्षाको पनि सुविधा दिँदै आएको छ ।

विशेष गरी १८ वर्षभन्दा मुनिका बालबालिकालाई उद्धार गर्ने बताए पनि अन्य उमेर समुहकालाई पनि उद्धार गर्ने गरेको पौडेलले जानकारी दिए ।

सडक बालबालिकाको परिचय नखुलेको खण्डमा संस्थाले नै उच्च शिक्षा प्रदान गराएर विभिन्न रोजगारीको अवस्था सिर्जनासमेत गराउँदै आएको पौडेलले जानकारी दिए ।  

सडकसम्म बालबालिका आइपुग्नुको कारण के हो त भनेर सोधिएको रातोपाटीको प्रश्नमा पौडेलले भने, ‘अभाव, प्राकृतिक प्रकोप, गरीबी, अनियोजित तीव्र शहरीकरण, पारिवारिक समस्याका कारण बालबालिकाहरु सडकसम्म आइपुग्छन् ।’

यसका साथै, घरेलु हिंसा, जातीय विभेद, संरक्षणको विस्थापन, साथीसंगीको लहलहै र शिक्षाको अभावजस्ता समस्याहरूका कारण नै बालबालिका सडकमा आउनुको मुख्य  कारण भएको उनी बताउँछन् ।

तर पछिल्लो समय सडक बालबालिकाको संख्या कम देखिएको पनि उनी बताउँछन् । यसका विभिन्न कारणमध्ये एकबारे जानकारी दिँदै उनले भने, ‘ बालबालिका अहिले आफ्नो परिचय लुकाएर सडकमा आउने गरेका छन् । साथै, बिहानदेखि बेलुका सम्म सडकमा बस्ने अनि राति भएपछि आफ्नो कोठामा जाने परिपाटी पनि बढ्न थालेको छ । यसका साथै, सडक बालबालिका भनेर पहिचान नहोस् भन्नका लागि उनीहरुले आफ्नो परिचय पत्रमा उमेर बढाउने गरेका छन् ।’

सडकमा आश्रित बालबालिकाहरूको संरक्षण र शसक्तीकरण गर्नु नै आजको मुख्य चुनौती भएको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप