सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला परियोजनामा लगानी भित्र्याउन प्रचण्डको आग्रह

मङ्गलबार, २८ भदौ २०७९, १३ : ३९
मङ्गलबार, २८ भदौ २०७९

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्सुलाई  विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन आग्रह गरेका छन् । मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएका हुन् ।

सो अवसरमा उनले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न आग्रह गरे । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए । 

दुई पार्टीबीचको सम्वन्ध कुटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाई थियो । “हामी चीनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्,” प्रचण्डले शुभकामना दिएका थिए । उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए । 

चिनियाँ पक्षको तर्फबाट अध्यक्ष चान्सुले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप