शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माटो : किसानलाई बजारको बाटो

रासायनिक मलको प्रयोग बिनै अर्ग्यानिक उत्पादनमा जोड
सोमबार, २४ असोज २०७९, ०९ : ४१
सोमबार, २४ असोज २०७९

भन्सार विभागको तथ्याङ्कअनुसार प्रत्येक वर्ष नेपालले खर्बौँ रुपैयाँ बराबरको खाद्यान्न आयात गरेर उपभोग गर्दै आइरहेको छ । जबकि, सोही समयमा नेपालका किसानहरू कहिले दूध ‘होलिडे’ त कहिले गोलभेडा होलिडे गर्न बाध्य छन् । यस्तै, अन्य धेरै प्रकारका तरकारीले समेत बजार नपाउने र उपभोक्ताले विदेशबाट आयातित वस्तु उपभोग गर्नुपर्ने स्थिति छ ।

नेपालले विदेशबाट दालदेखि चामल र नुनदेखि तेलसम्म आयात गर्ने गरेको छ । कृषि प्रधान देश भनिए पनि सागसब्जी, खसीबोका, माछामासु, दुग्धजन्य पदार्थ, गोलभेडा, प्याज र तरकारीजन्य वस्तु विदेशबाटै आयात हुने गर्छ । 

यसको अर्थ, किसानले रगत पसिना बगाएर गर्ने उत्पादनले बजार पाइरहेको छैन भने उपभोक्ताले विदेशबाट आयातित विषादीयुक्त खाद्यान्न उपभोग गर्नुपर्ने बाध्यता छ । यही समस्यालाई मध्यनजर गर्दै बैंकिङ, टेक्सटायल, सेवा र ऊर्जा क्षेत्रमा लगानी गरिरहेको गोल्यान समूहले पहिचान गर्‍यो र सन् २०१८ देखि ‘माटो’ नामक कम्पनी सञ्चालनमा ल्याएको छ । 

‘माटो’ अर्थात् बजारको पहुँचभन्दा बाहिर रहेका किसानको उत्पादन ल्याएर बिक्री गर्ने थलो । यो कम्पनीले रासायनिक मलको प्रयोग विनै उत्पादन गर्न जोडबल दिन्छ र उत्पादित वस्तुहरूको विषादीको स्थिति परीक्षण गरेर बिक्री वितरण गर्छ ।

‘माटो बजारको पहुँचबाट टाढा रहेका किसानलाई बजार दिने एउटा माध्यम हो,’ कम्पनीकी ब्राण्ड म्यानेजर निशा देवकोटाले भनिन्, ‘माटोमा प्रयोग हुने रासायनिक मलको प्रयोग घटाएर स्वच्छ खानेकुरा उत्पादनका लागि यसको सुरुवात भएको हो ।’ 

गाउँघरका धेरै किसानले आफ्नो उत्पादनको बजार पाएका छैनन् । बजारको पहुँच पनि छैन । ती किसानलाई बजार र उचित मूल्य दिने लक्ष्यसहित माटो स्थापना भएको देवकोटाको भनाइ छ । हाल माटो काठमाडौँ उपत्यका लक्षित छ । काठमाडौँ उपत्यका ठुलो बजार भएकाले यस क्षेत्रलाई केन्द्रमा राखेको कम्पनीको भनाइ छ ।

‘काठमाडौँमा ठुलो बजार छ । तर, गाउँ गाउँमा उत्पादित स्वस्थ कृषिजन्य वस्तु उपत्यका वासीको पहुँचसम्म पुगेको छैन,’ उनले भनिन्, ‘गाउँमा उत्पादित कृषिजन्य वस्तुलाई सहरी क्षेत्रसम्म पुर्‍याउने पुलको रूपमा काम गर्ने माटोको मुख्य लक्ष्य छ ।’ 

हाल माटोमा घ्यू, तेल, मार्सी चामल, कालो चामल, अचार, कर्णालीको राजमा, मह लगायतका वस्तु पाइन्छ । नेपालको कृषि उत्पादन क्षमतालाई बढाएर किसानलाई रोजगारी सिर्जना गर्नुसमेत माटोको मुख्य लक्ष्य हो । 

माटोसँगै गोल्यान समूहले झापामा गोल्यान एग्रोमार्फत् आफै पनि खेती गरिरहेको छ । हाल झापामा कागती, केरा, स्ट्रबेरी लगायतको खेती भइरहेको छ । ती वस्तु समेत माटोमार्फत् नै बिक्री वितरण हुन्छ ।

‘सबैजसो वस्तुको आयात हुन्छ । यसले नेपालमा उत्पादित कृषिजन्य वस्तुले मूल्य र बजार पाएको छैन,’ देवकोटा भन्छिन्, ‘यो अवस्थालाई बदल्न माटोले प्रयास गरिरहेको छ ।’ 

माटोमा अचार, अकबरे खुर्सानीको अचार र लप्सी लगायत अन्य धेरै प्रकारका अचार समेत पाइन्छ । ‘माटोले किसानलाई उपत्यकामा बजार दिन्छ,’ देवकोटा भन्छिन्, ‘यस्तै, खेतीको तरिका समेत सिकाउँछौँ ।’ 

ललितपुरमा सानेपा, झम्सिखेल र कुपण्डोलमा गरेर ३ वटा तथा बानेश्वर, मन्डिखाटार, सामाखुसी, नारायणथान र नक्साल गरी  हाल काठमाडौँ उपत्यकामा माटोको ८ वटा स्टोर छन् । यसबाहेक, भाटभटेनी र सेल्सबेरी तथा ई–कमर्श कम्पनीमा समेत माटोका उत्पादन पाइन्छ । 

यस्तै, माटोले आफ्नै ब्राण्डको खानेपानी समेत उत्पादन गर्छ । यो पानी गोसाइकुण्डमा ४३ सय मिटरको उचाइबाट उत्पादन गरिन्छ । यसमा हो । अन्य क्षेत्रको पानी प्रशोधन गरेर खानयोग्य बनाइन्छ । जबकि, माटोको पानीमा एकदमै मिनरल्स पाइने स्प्रिङ वाटर भएकाले आफै खानयोग्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप