शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रा समाजवादको, यात्री नेताका आफन्त !

शनिबार, ०८ पुस २०७४, ११ : ३७
शनिबार, ०८ पुस २०७४

काठमाडौं– देशलाई समाजवादी बाटोमा लैजाने भन्दै दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र  मिलेर वामपन्थी गठबन्धन बनेको छ ।  

देशलाई समाजवादतिर अग्रसर बनाउने भन्ने दुबै दलका नेताहरुले समानुपातिक सूचीमा भने आफ्नो नातेदारलाई प्राथमिकतामा राखेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी गर्दै गर्दा  उनै नेताका आफन्त पर्ने चर्चा चल्न थालेको छ । 

पार्टीमा  योगदान दिएका धेरै नेताहरु भएपनि नेताका आफन्त शक्तिको आडमा  समानुपातिकमा परेको सम्बद्ध  पार्टीका नेता–कार्यकर्ताहरु बताउँछन् । 

पटक पटक शक्तिमा पुगिरहनेको पहिलो नम्बरमा पर्छिन,  एमालेकी राधा ज्ञवाली । ऊर्जा मन्त्री हुँदा विवादमा आएकी उनी अहिले समानुपातिक सूचीमा परेकी छिन् ।  यस्तै विन्दा पाण्डे, सिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी र  रघुविर महासेठकी श्रीमति जुली महतो  पनि समानुपातिक सूचीमा परेका छन् । 
यसैगरी,
– नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमकी श्रीमति तुलसी थापा जनजाति महिला कोटामा  समानुपातिक उम्मेदवार छिन् । 
– यस्तै ५ नं प्रदेशको मुख्यमन्त्रीको एक्ला दाबेदार शंकर पोख्रेलकी  श्रीमति सुजिता शाक्य पनि केन्द्रको लागि समानुपातिकमा छिन् । 
–निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी समानुपातिकमा रहँदा उनकी बहिनी प्रभा कोइराला पनि समानुपातिकमा छिन् । 
–काठमाडौ क्षेत्र नं ९बाट निर्वाचित कृष्ण गोपाल श्रेष्ठकी श्रीमति विना श्रेष्ठ समेत केन्द्रको समानुपातिकमा छिन् । 
– सुवास नेम्वाङका इलाम क्षेत्र नं २बाट प्रत्यक्षमा विजयी भएका हुन् ।  उनकी बहिनी विजय सुब्बा समानुपातिकमा छिन् । 
 

माओवादी केन्द्र
राज्यको पहुँचबाट टाढा रहेका, चुनाव लड्न नसक्ने,  पिछडिएका वर्गलाई भनेर ल्याइएको समानुपातिक पद्धति अहिले नेताहरुलाई आफ्न्त भर्ती गर्ने केन्द्र बनेको भन्दै आलोचना समेत हुन थालेको छ ।  यसबाट माओवादी केन्द्रपनि अछुतो रहन नसकेको गुनासो पार्टीभित्र छ ।

–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट निर्वाचन जितेका  छन् । उनका भाई नारायण दाहाल समानुपातिक सूचीमा छन् । 
–माओवादीका नेता वर्षमान पुनले रोल्पाबाट निर्वाचन जितेका छन् । उनकी श्रीमती ओनसरी घर्तीमगरको समानुपातिकमा नाम छ । ललितपुर प्रदेश सभा क्षेत्र १ कबाट पुनकी बहिनीले लालकुमारीले चुनाव जितेकी छन् । ओनसरी घर्ती अब समानुपातिकमा सांसद भएको खण्डमा वर्षमानको  परिवारका तीन जना सांसद हुने छन् । 
–लमजुङबाट विजयी भएका देब गुरुङकी श्रीमति यशोदा सुवेदीको नाम पनि समानुपातिकमा छ । उनी बाहुन जातिकी भएरपनि अहिले जनजातिको कोटामा समानुपातिकमा परेकी हुन् ।  
– हितमान शाक्य काठमाडौं १० नं क्षेत्रबाट पराजित भए ।  उनकी श्रीमति अमृता थापामगरको नाम भने समानुपातिक सूचीमा छिन्  ।  उनी अहिले समानुपातिक सांसद बन्ने होडमा रहेकी छिन् । 
–तेजप्रसाद ओली रुकुमबाट प्रदेश सभामा विजयी भए ।  उनकी श्रीमती जुनकुमारी रोकाको नाम पनि  समानुपातिकमा छ । 
–शक्ति बस्नेतले जाजरकोटबाट चुनाव जितेका छन् भने उनकी श्रीमति सत्या पहाडि समानुपातिकमा छिन् । यसो त शक्तिको बहिनी ज्ञानु बस्नेतको नाम पनि समानुपातिकमा छ । 
–पूर्वमन्त्री रेखा शर्माको नाम पनि समानुपातिकमा छ । उनका श्रीमान कृष्णध्वज खडकाले प्युठान बाट प्रदेश सभाको चुनाव जितेका छन् । 

माओवादीभित्र दश बर्षे जनयुद्धका क्रममा  आफन्त गुमाएकाहरु, घाइते र अगंभंग भएकाहरु धेरै छन् । कयौ बेपत्ता भएका छन्  । तीनका परिवार अहिले पनि आफ्न्तको बाटो हेरेर बसेका छन् । 

तर नेताहरु भने आफु,  श्रीमति र भाइ बहिनीलाई सांसद बनाउने अभियानमा लागेको भन्दै  माओवादीभित्र असन्तुष्टि समेत बढेको बताइन्छ ।  जनयुद्धमा लडेका कयौ नेता कार्यकर्ताहरु खाडीमा श्रम बेचीरहेका छन्   । तर नेताहरु भने परिवार उनीहरुको योगदानलाई विर्सेर परिवारवादमा लागिपरेका छन् । 

यसो त माओवादीमा केहि महिलाहरुले प्रत्यक्षमा लड्ने साहस गर्दा पनि पार्टीमा उनीहरुको पहुँच नहुँदा टिकट पाएनन् । तीनै प्रत्यक्षमा लड्ने चाहना भएकालाई सन्तुष्ट पार्न समानुपातिकमा नाम राखिएको थियो । तर उनीहरुको नाम राखिएपनि सांसद बन्ने सम्भावना भने परको कुरा भएको छ । 

यसको प्रतिनिधि पात्र  हुन्, ओमकुमारी पौडेल । तनहँुबाट प्रत्यक्षमा लड्न कम्मर कसेँकी उनलाई पार्टीले टिकट नदिई समानुपातिकमा राखेका थियो । तर उनको समानुपतिकमा नाम भएपनि सांसद बन्न नपाउने पक्कापक्की जस्तै छ ।  पहुँचवाला नेताका आफन्तको नाम पहिले नै  सांसद बन्न सक्ने गरी मिलाएर राखिएको तर पहुँच विहिनहरुको नाम पुछारतिर हुँदा यस्तो अवस्था निम्तिएको बताइन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप