शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिललाई प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

शुक्रबार, २८ असोज २०७९, १९ : ०१
शुक्रबार, २८ असोज २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुन अनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्‍यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेत समेत गराएका हुन् । 

शुक्रबार आयोग कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न पटक पटक आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामी कसैको निगरानी गर्दैनौँ । हाम्रो गरिदिनोस् भन्छौँ । खबरदारी गरिदिनोस् भन्ने हामीले पटक पटक भनिराखेका छौँ । यो निर्वाचनको स्वच्छता, मैले तपाईंहरूलाई भनेको छु–हामी निर्वाचन मात्रै गर्दै छैनौँ । हामी लोकतन्त्रलाई थप सुदृढ गर्दैछौ । हामी जनताको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीलाई अझ मजबुत बनाउने अभ्यासमा छौँ ।’ 

उनले थपे, ‘तसर्थ, यो अभ्यासलाई कुण्ठित हुने ढङ्गका र निर्वाचन आयोगलाई खुद्रा मसिना कुरामा अलमल्याएर कतै निर्वाचनको स्वच्छता, भङ्ग गर्न सकिन्छ कि भन्ने दुस्साहस यदि कसैले राखेको छ भने मैले यति भनौँ–त्यो दिवा स्वप्न हो । त्यतातिर नलागे हुन्छ । म यहीँबाट हार्दिकतापूर्वक अनुरोध गर्दछु । मैले र हाम्रो टिमले प्रेस काउन्सिल ऐन, २०४८ पनि पढेको छ । प्रेस काउन्सिल गठन भएको छ । र, क्रियाशील भएको छ भन्ने पनि बुझेको छ । प्रेस काउन्सिलले के–के काम गर्छ भन्ने पनि जानेको छ । र, यो बेलामा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित विषयलाई समेत मध्यनजर गरेर प्रेस काउन्सिलले अझै गम्भीरतापूर्वक आफ्नो भूमिका निर्वाह गरिदियोस् भनेर हामी आग्रह गर्दछौँ । तर निर्वाचन सम्बन्धी कानुनले कुनै पनि निकायलाई आयोगले निर्देशन गर्न सक्ने अधिकार दिएको छ । हामी त्यसको पालना गर्छौँ । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुनेछैन । आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने प्रयास नगरियोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानुन र संवैधानिक मूल्यमान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहहरुलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप