शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : २०७४ मा कांग्रेसबाट चुनाव जितेका सबै फेरि मैदानमा

सोमबार, ३१ असोज २०७९, ०७ : ५३
सोमबार, ३१ असोज २०७९

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ संघ र प्रदेशसभातर्फ जितेका सबै सांसदलाई फेरि उम्मेदवार बनाएको छ ।प्रति निधिसभातर्फ लुम्बिनीका २६ सिटमध्ये नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा ५ सिटमा मात्रै जित हासिल गरेको थियो भने प्रदेशसभाका ५२ सिटमध्ये ७ सिटमा जितेको थियो ।

ती सबै क्षेत्रमा अहिले तिनैलाई पार्टीले दोहो-याएर उम्मेदवार बनाएको हो । लुम्बिनी प्रदेशबाट कांग्रेसले २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ जितेका पाँच सिटमा रुपन्देही क्षेत्र नं. ४ बाट प्रमोद यादव, सोही जिल्लाको क्षेत्र नम्बर ५ बाट भरत शाह, बर्दिया–१ बाट सञ्जय गौतम, नवलपरासी पश्चिम–२ बाट देवेन्द्रराज कँडेल र कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह हुन् ।

आसन्न निर्वाचनका लागि गठबन्धन गर्दा नै नेपाली कांग्रेसले जितेका क्षेत्रहरू नछाड्ने सहमति अनुसार विगतमा आफूले जितेका क्षेत्रमा पुरानै उम्मेदवार दोहोरिन पाएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले बताए ।

कसका को छन् प्रतिस्पर्धी ?

२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा सञ्जय गौतमले एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका थिए । अहिले गौतमलाई एमालेका लक्ष्मणराज ज्ञवालीले चुनौती दिएका छन् ।

यस्तै, रुपन्देही–५ मा भरत शाहले २०७४ सालमा तत्कालीन वाम गठबन्धनका डिलाराम आचार्यलाई पराजित गरेका थिए । शाहले अहिले मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका वासुदेव घिमिरेको सामना गर्नुपर्नेछ ।

रुपन्देही–४ मा कांग्रेसका प्रमोद यादवसँगै सो क्षेत्रमा लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र जसपाबाट ओम प्रकाश यादव (गुल्जारी) उम्मेदवार छन् ।

यस्तै नवलपरासी–२ मा देवेन्द्रराज कँडेलले अहिले एमालेका दीपेन्द्र अधिकारीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कपिलवस्तु–३ बाट लगातार जित्दै आएका अभिषेक प्रताप शाहले अहिले एमालेका मङ्गलप्रसाद गुप्तासँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेशसभातर्फ के छ अवस्था ?

२०७४ सालमा लुम्बिनी प्रदेशसभातर्फ कांग्रेसले प्रत्यक्ष जितेका ७ र समानुपातिकका २ जनाले मात्रै आसन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । २०७४ सालमा प्रदेशसभातर्फ प्रत्यक्ष जितेका नेपाली कांग्रेसका ७ जना नै अहिले सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

२०७४ सालको निर्वाचनमा कपिलवस्तु ३ (ख)बाट प्रदेशसभा सदस्यमा जितेका कांग्रेस संसदीय दलका निवर्तमान नेता वीरेन्द्र कनौडिया, दाङ– ३ (क) बाट पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्ली चौधरी, रुपन्देही–४ (ख) मा शिक्षा मन्त्री बसिउद्दिन खान, पाल्पा २ (क) मा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना, बाँके–२ (ख) मा वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल उम्मेदवार छन् । रानाबाहेक अन्य सबै यसअघि पनि सोही क्षेत्रबाट जितेका हुन् ।

यस्तै २०७४ सालमा प्रत्यक्ष चुनाव जितेर प्रमुख सचेतक बनेका फखरुद्दिन खान रुपन्देही क्षेत्र नम्बर ५(ख), अष्टभुजा पाठक रुपन्देही–४(ख)मा र बैजनाथ कलवार नवलपरासी–२ (ख) बाट उम्मेदवार बनेका छन् ।

यसअघि समानुपातिकबाट निर्वाचित भएका वीरबहादुर राना आसन्न निर्वाचनमा पाल्पा–२ (क)बाट र भुनिश्वर चौधरी बर्दिया– १ (क) बाट उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप