गोरुगाडावालाहरु प्रतिगमन र अराजकतातिर जाँदैछन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले ओलीप्रति लक्षित गर्दै 'गोरुगाडावाला'हरु अझै देशलाई प्रतिगमन र अराजकतातिर धकेल्ने योजनामा रहेको आरोप लगाए। प्रचण्डले मंसिर ४ गते हुने चुनाव अरू चुनाव जस्तो सामान्य नहुने जिकिर पनि गरे ।
‘हिजो १२ बुँदे समझदारी पक्षधर एक भएका छौं । १२ बुँदे समझदारी केपी ओलीले होइन, माधवकुमार नेपालले गरेका हुन् । नेपाली कांग्रेसबाट गिरीजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको हो’ प्रचण्डले भने, ‘गोरुगाडावालहरु कहीँ न कहीँ देशलाई प्रतिगमन र अराजकतातिरै लैजानेमा छन् । त्यसलाई रोक्न गठबन्धन पक्षधर विजयी हुनै पर्नेछ ।’
तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी हुने क्रममा निरंकुशताविरुद्ध लड्न हुँदैन भन्ने प्रवृत्ति देखिएको प्रचण्डले स्मरण गरे । ‘तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी हुँदा एकथरी प्रवृत्ति निरंकुश प्रवृत्तिका विरुद्ध लड्न हुँदैन, त्यसका विरुद्ध आन्दोलन गरेर पार लगाउन सकिँदैन भन्थे । संविधान सभाबाट गणतन्त्र ल्याउने भनेको बयलगाडा चढेर अमेरिका जानु एउटै कुरा हो भन्ने नेता र प्रवृत्ति थियो,’ प्रचण्डले भने, ‘तत्कालीन गिरीजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस, शेरबहादुर देउवा, माधवकुमार नेपाल नेतृत्वको एमाले र हामी सबैले गोरुगाढावाल प्रवृत्तिकाविरुद्ध सङ्घर्ष गरेर १२ बुँदे समझदारी गर्यौं । जनयुद्ध र जनआन्दोलन शान्तिमा रूपान्तरण भयो,’ उनलेभने ।
देश संघीय लोकतान्त्रिक गणतन्त्र भई संविधान घोषणा हुँदासम्म हिजोका गोरुगाडावाला सिद्धान्त बोकेका नेताहरू नबदलिएको उनले आरोप लगाए । ‘संविधानमा हस्ताक्षर गरेपछि प्रतिगमन,प्रतिक्रान्ति, निरंकुशता र अराजकतातिर जाने छैन भन्ठान्यौं । ती सबै धोका र बेइमानी रहेछ भन्ने कुरा प्रष्ट भयो’ प्रचण्डले भने, ‘जतिबेला वाम गठबन्धन गरेर कम्युनिस्ट एकता गर्न खोज्ने बेला प्रत्यक्ष अनुभव गर्यौँ । त्यो बेइमानी रहेछ, त्यो षड्यन्त्र रहेछ । उनीहरूको भित्रि चाहना फेरि निरंकुशतन्त्र कायम गर्ने र यो देशलाई प्रतिगमनतिर लग्ने रहेछ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण