आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा किशोर–किशोरीको हत्या प्रकरण : घटनास्थलबाट दुईवटा मोबाइल बरामद

शंकास्पद दुई जनामाथि निगरानी
मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ५८
मङ्गलबार, ०१ कात्तिक २०७९

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटियो । सो घटना अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै ठोस सफलता हाँसिल गर्न सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘अन्यत्र हत्या गरेर घिसारेर खाल्डोमा लगेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘हत्यामा संलग्नहरुको पहिचान भएको छ ।’ हत्यामा संलग्न आरोपीमध्येका दुईजनालाई प्रहरीले निगरानीमा राखेको छ ।

तुलसीपुर–१३ घर भएका उनीहरू हराएको बारे परिवारले शनिवार प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजन गौतमले रातोपाटीलाई बताए । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । मंगलबार दमार गाउँको जंगलबाट प्रहरीले दुई थान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।

दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित ‘सुशिल’ नामको युवकलाई प्रहरीले निगरानीमा राखेको छ । ति युवकले मृतक किशोरीको सिम कार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।

मृतक एउटै स्कुलका विद्यार्थी

शरद र रोशनी एउटै स्कुलमा पढ्थे । दमारगाउँको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा नजिक रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएको छैन ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप