आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’

पार्टीभित्र दोषारोपण होइन, सामूहिक सुधार आवश्यक
आइतबार, ३१ जेठ २०८३, १८ : ५४
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको मतभिन्नता अन्त्य गरी नेतृत्व तहलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन्।
  • उनले देश जटिल चुनौतीहरूको सामना गरिरहेको र त्यसको समाधानका लागि पार्टीभित्र साझा दृष्टिकोण निर्माण आवश्यक रहेको बताएकी छन्।
  • झाँक्रीले पार्टी नेतृत्व र नेताहरूबीच संवाद तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मतभेदभन्दा साझा उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।

काठमाडौँ। नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएको मतभिन्नता अन्त्य गर्दै नेतृत्व तहलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव शंकर पोखरेल र नेता  योगेश भट्टराईको तस्बिरसहित लामो स्ट्याटस लेख्दै राष्ट्रिय सभा सदस्य समेत रहेकी झाँक्रीले पार्टी, समाज र मुलुकले उनीहरूबाट सकारात्मक पहलको अपेक्षा गरेको उल्लेख गरेकी हुन्।

उनले एमालेका दुई पूर्व अनेरास्ववियु अध्यक्षसमेत रहेका पोखरेल र भट्टराईलाई सम्बोधन गर्दै देश जटिल चुनौतीहरूको सामना गरिरहेको र त्यसको समाधानका लागि पार्टीभित्र साझा दृष्टिकोण निर्माण आवश्यक रहेको बताएकी छन्।

‘आजको नेपाली समाजका चुनौती के हुन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा तपाईहरूलाई थाहा छ,’ झाँक्रीले लेखेकी छन्, ‘सबैभन्दा पहिले समाज, त्यसका जटिलता र घटनाक्रमबारे पार्टीको दृष्टिकोण एउटै बनाउनुस्। त्यसपछि जनतामाझ पुगेर पार्टीलाई अद्यावधिक गरौं, सुझाव दिऔं।’

उनले पार्टी नेतृत्व र नेताहरूबीच संवाद तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मतभेदभन्दा साझा उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई समेत साथमा लिएर अघि बढ्नुपर्ने उनको सुझाव छ।

झाँक्रीले एमाले कमजोर हुँदा मुलुकमा उत्पन्न हुन सक्ने राजनीतिक असरबारे नेताहरू जानकार रहेको उल्लेख गर्दै समस्या केवल कुनै एक व्यक्तिमा सीमित नभई पार्टीभित्र, कार्यकर्ता र समाजका विभिन्न तहमा रहेको बताएइन्। त्यसको वस्तुपरक विश्लेषण पार्टीको विचार, सिद्धान्त र इतिहासको आलोकमा हुनुपर्ने उनको भनाइ छ।

उनले महासचिव पोखरेलले हालै जनसंगठनका इन्चार्ज तथा अध्यक्षहरूको भेलामा प्रस्तुत गरेको विश्लेषण आफूलाई प्रभावकारी लागेको उल्लेख गर्दै अध्यक्ष ओली र पोखरेलको विश्लेषणमा तात्त्विक भिन्नता नरहेको दाबी गरेकी छन्।

‘एकले अर्कोलाई दोष लगाएर होइन, सामूहिक कमजोरीलाई स्वीकार गरेर अघि बढ्ने वातावरण बनाउन पहल लिनुहोस्,’ उनले लेखेकी छन्, ‘समय बलवान छ। हरेक कालरात्रिपछि सूर्य उदाउँछ।’

उनले ‘संकटको सामूहिक सामना गर्ने हो, दाइहरू दायाँबायाँ नगर्नुस्’ भन्दै पार्टीभित्र एकता, संवाद र सहकार्यको सन्देश दिएकी छन्।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप