मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत आउँछ : उपाध्यक्ष पौडेल

बुधबार, ०९ कात्तिक २०७९, १२ : ४९
बुधबार, ०९ कात्तिक २०७९

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए ।

सत्तारुढ गठबन्धनको काम कारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहोर्याए । अन्य सहयात्री दलहरूको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ । र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिक तर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा । र, त्यस अतिरिक्त हामीसँग निर्वाचन सहकार्य गरेका कतिपय राजनीतिक दलहरु पनि छन् । उनीहरुले पनि सरकार निर्माणमा हामीलाई साथ दिने स्थिति छ भन्दाखेरी  सुविधाजनक हाम्रो आफ्नै बहुमत आउँछ । र, त्यसमा अरु पनि सहयात्री दलहरूको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं । यसमा कुनैपनि प्रकारको दुविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन ।’ 

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकिर गरे ।  उनले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणासमेत गरे । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने बताए । 

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रिय विषय भएको बताए । 

उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप