आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख हुँदा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती

शुक्रबार, ११ कात्तिक २०७९, १४ : ३९
शुक्रबार, ११ कात्तिक २०७९

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाण्डौं–२ मा उम्मेदवारी दिएको बताएकी छन् ।  तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंह पौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन् ।

आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चार माध्यममा त्यतिबेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन् । ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन् ।

घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुहुने उल्लेख गरिन् । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो । घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मुलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन् । यस्तै काठमाण्डु–२ लाई पर्यटकीय हबका रुपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरुले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रितिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको बताइन् ।

फरक प्रसंगमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान र व्यवस्था मास्ने उद्देश्यले दुईपटक सम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध वर्तमान गठबन्धन निर्माण भएको बताइन् । ‘अहिलेको संविधान र व्यवस्था धेरै ठूलो दुःखले आएको हो’, उनले भनिन्, ‘पटकपटक व्यवस्था परिवर्तन गर्ने र मुलुकलाई पछाडि फर्काउने कुरा अब सम्भव छैन । हामी उपलब्धीको रक्षा र देशको विकासलाई शिरमा राखेर अघि बढेका छौं ।’

घर्तीले आफू मुलुकको सभामुखजस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण निर्वाचन प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप