बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपालसँगै अष्ट्रेलियामा पनि पायो ‘महापुरुष’ ले दर्शक

आइतबार, १३ कात्तिक २०७९, ११ : ०५
आइतबार, १३ कात्तिक २०७९

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ ले बक्स अफिसमा सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । काठमाडौं र मोफसल दुबै ठाउँमा आयोजित प्रिमियरमा दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल फिल्मले सार्वजनिक प्रदर्शनमा पनि राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार हाउस फूलको ब्यवसाय गरेको निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

‘प्रिमियरको सुखद प्रतिक्रियाबाट फिल्मले राम्रो दर्शक पाउने अपेक्षा थियो । तर हाउसफुलको ब्यवसाय गर्ने सोचेको थिएनौ’ निर्माता बानियाँले भने– ‘फिल्मले दर्शकमात्र पाएको छैन । तारिफ पनि पाएको छ । त्यसले मिहिनेत सफल भएको महसुस गरेको छु ।’ फिल्मको अग्रिम बुकिङ समेत राम्रो भएकोले केही साता राम्रा ब्यवसाय गर्न सक्ने बानियाँले अनुमान लगाए ।

फिल्म हेर्न शुक्रबार र शनिबार अत्यधिक दर्शक देखिएका छन् । सोही कारण निर्माण पक्षले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया समेत लिएका थिएँ ।  ‘एकै परिवारको २८ जना फिल्म हेर्न आउनुभएको रहेछ । फिल्म सकिएपछि उहाँहरूको अनुहारमा देखिएको सन्तुष्टिले हामीलाई खुसी दिएको छ । फिल्म हेर्न आउनु राम्रो हो, उहाँहरू सन्तुष्ट र खुसी हुनु झनै राम्रो’, बानियाँले थपे । 

हल भिजिटमा निर्देशक प्रदीप भट्टराई र कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली सहभागी थिएँ ।  ‘हामीले उठान गरेको विषयलाई दर्शकले रूचाउनुभयो । उहाँहरूसँगै पर्दा बाहिरसम्म फिल्म आएको छ । यो हाम्रो पहिलो सफलता हो’, लेखक समेत रहेका निर्देशक प्रदीप भट्टराईले भने । 

हल भिजिटमा दर्शक मार्फत पाएको प्रतिक्रियाले अभिनेता आचार्य उत्साहित छन् । उनलाई बलिदान पश्चात यस किसिमको अभिनय गरेको प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । ‘दर्शकले मलाई फरक रुपमा समेत रुचाउनुभयो । बलिदान पश्चात नयाँ पुस्तामा यसै फिल्ममार्फत यस किसिमको भूमिका निर्वाह गर्न पाएँ’, अभिनेता आचार्यले भने ।

फिल्मले नेपाल मात्र नभई अष्ट्रेलियामा पनि राम्रो सुरुवात गरेको छ । सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमा हलमा फिल्म हेर्न आइपुगेका अधिकांशको आँखा रसाए । नेपालबाट अष्ट्रेलिया घुम्न आइपुगेका आफ्ना बुवा आमालाई लिएर फिल्म हेर्न आएका सुरेश भण्डारीले प्रवासमा बस्नेहरूका लागि फिल्म झनै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपाल रहेका बा–आमा र हामी सपना बोकेर विदेश आएकाहरूको कथा झैँ लाग्यो । थाहा नै नपाइ आँखाबाट आसुँ झरेछन’, अष्ट्रेलियाका सन्नी आचार्यले भने । 

षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, नरेश पौडेल लगायतको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप