शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा लगातार आमनेसामने हुँदै यी उम्मेदवार

मङ्गलबार, १५ कात्तिक २०७९, १२ : १७
मङ्गलबार, १५ कात्तिक २०७९

झण्डै एक दशकअघि एमालेका नारायण मरासिनी र कांग्रेसका राजु थापा चुनावी प्रतिस्पर्धी थिए । आसन्न निर्वाचनमा  स्याङ्जा–१ बाट मरासिनी र थापा पुनः आमनेसामने छन् ।​ उनीहरुको तेस्रो पटक चुनावी प्रतिस्पर्धी बनेका छन् । ०७० सालको संविधानसभा निर्वाचनमा पहिलोपटक उनीहरु आमनेसामने भएका थिए । सो निर्वाचनमा थापासँग मरासिनी पराजित भएका थिए ।

०७४ सालमा भएको संसदीय निर्वाचनमा पनि उनीहरु प्रतिस्पर्धामा थिए । यति बेला तत्कालीन वाम गठबन्धनबाट मरासिनी ३९ हजार ४ सय ३३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने कांग्रेसका राजु थापाले २८ हजार ७ सय ३१ मत पाएका थिए ।

तर, अहिले परिस्थिति फरक छ । सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामका आधारमा यो क्षेत्रमा गठबन्धन बलियोे छ । गठबन्धनले उक्त क्षेत्रमा ३९ हजार ४ सय ९४ र एमालेले ३६ हजार ८ सय ४५ मत प्राप्त गरेको छ ।

पर्वतमा पनि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुन जोशी र एमालेबाट पदम गिरी चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु यसअघि ०७४ सालको चुनावमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा थिए । गिरी दोस्रोपटक र अर्जुन चौथोपटक संसद छिर्ने योजनासहित चुनावी मैदानमा होमिएका हुन् ।

२०७४ को निर्वाचनमा भने गिरीले जोशीलाई पराजित गरेका थिए । त्यतिबेला गिरी एमाले—माओवादीको वाम गठबन्धनसहित चुनावमा गएका थिए । गिरीले ३९ हजार २ सय ७५ मत ल्याएर विजयी हुँदा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरे ।

कांग्रेसका जोशीले २०५६ सालको संसदीय चुनाव, २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचन जितेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमालेले ३५ हजार ७ सय १६ र कांग्रेस, माओवादीसहितको गठबन्धनले ३५ हजार २ सय ४ मत पाएको छ ।

यस्तै यसअघि गण्डकी प्रदेशसभामा प्रतिस्पर्धा गरिसकेका उम्मेदवार आउँदो निर्वाचनमा पनि गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धी बनेका छन् । एमालेबाट रामशरण बस्नेत र कांग्रेसबाट राजेन्द्र बजगाई गोरखा १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

बस्नेत र बजगाई यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा गोरखा १ ‘ख’ बाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका बस्नेत गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भए । बस्नेतले १६ हजार ६ सय ५६ मत पाउँदा बजगाईले १३ हजार १ मत प्राप्त गरेका थिए ।

यो निर्वाचनमा सत्ता गठबन्धनको साथ बजगाईंलाई छ । गएको स्थानीय तहको निर्वाचन परिणामका आधारमा यो क्षेत्रमा एमाले कमजोर देखिएको छ । गठबन्धनले ५५ हजार मत प्राप्त गर्दा एमालेले १४ हजार मत प्राप्त गरेको छ ।

यस्तै, मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रतिस्पर्धीबीच नै पुनः प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङ बीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरु यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरु दोस्रोपटक चुनावमा आमनेसामने छन् ।

यसअघि पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापति समेत रहेका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ७१ मतले हराउँदै पोल्देन छोपाङ विजयी भएका थिए । पोल्देन छोपाङले २३ सय मत प्राप्त गरेका थिए । टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप