बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दोस्रो सातामा महापुरूष : अमेरिकामा बढ्यो शो, नेपालमा शनिबार बिहानैदेखि हाउसफुल

शनिबार, १९ कात्तिक २०७९, १२ : ३१
शनिबार, १९ कात्तिक २०७९

पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभइ विदेशी बजारले मुनाफा समेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन् । जसको फिल्म आउनासाथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन् । यस्तै फिल्म मध्येको एक हो ‘महापुरुष’ ।

जात्रा र जात्रै जात्राको सफलता पश्चात कलाकार रबिन्द्रसिंह बानियाको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले संयुक्त राज्य अमेरिकामा राम्रो दर्शक पाइरहेको छ । फिल्मलाई अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ ।

नेपालमा पहिलो साता पाँच करोडको हाराहारीमा ग्रस कलेक्सन गर्न सफल फिल्मले अमेरिका प्रदर्शन डलासबाट सुरु गरेको थियो । सिनेपोलिस, युलेसमा हाल चलिरहेका १६ अन्य अङ्ग्रेजी र हिन्दी फिल्मको तुलनामा डलासमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरूष’ले बक्स अफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले बताए ।

‘नोभेम्बर ४ बाट थप ९ हल थपिँदै सोमबारसम्म एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जलस, एक्रोनमा दिनको कम्तिमा २ शो नियमित हुनेछ । नेपाली र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरूको अर्को हब बाल्टिमोर मेरिल्याण्डका दुई थिएटरमा पनि प्रदर्शन हुँदैछ । मेरील्याण्डको होराइजन सिनेमाले बाल्टिमोर एरियामा प्रदर्शन गर्दैछ’, सुवेदीले भने ।

आउँदो हप्तामा यो चलचित्र ग्रीन्सबोरो, सान फ्रान्सिस्को, न्युयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको समेत उनले बताए । यस्तै, अष्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गरिरहेको छ ।

नेपालमा दोस्रो साताको शनिबार पनि बिहानैदेखि शोहरु हाउसफुल भइरहेका छन् । मोफसलका दर्शकसँग भेटघाट गर्न गरेको टिम काठमाडौं फर्किएर विभिन्न हलमा पुगेर उपत्यकाको दर्शकसँग भेटघाट गर्दैछन् । ‘फिल्मको बारेमा दर्शकले नै राम्रो छ भनेपछि दोस्रो हप्तामा झनै दर्शक बढिरहेका छन् । हामी विभिन्न हलमा पुगेर भेटघाट गर्दैछौँ । आज उपत्यकामा फिल्म प्रदर्शन भइरहेको अधिकांश हलमा पुग्नेछौँ’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोवास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप