कर्णाली नदी किनाराका बस्तीमा छैन चुनावी रौनक
यतिबेला गाउँबस्ती चुनावी रौनकले तातेका छन् । नेताहरु चुनावी अभियान लगेर घरदैलोमा व्यस्त छन् । तर, कर्णाली नदी किनाराका बस्तीहरुमा भने चुनावी रौनक खासै देखिँदैन । दैलेख र अछामबीच भएर बग्ने कर्णाली नदी वारीपारी किनारामा छरिएका थुप्रै बस्तीहरु छन् । तर ती बस्तीमा न उम्मेदवार नै पुग्छन् न त्यहाँका नागरिकहरुले सामान्यतः राज्यबाट पाउने आधारभूत सेवाको प्रत्याभूति नै गर्न सकेका छन् ।
उसो त नेताहरुको उपस्थित नभएजस्तै बस्तीका नागरिकहरुलाई राजनीतिप्रति कुनै चासो नै छ । बरु उनीहरु गत असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले नदीले वारीपारी किनारमा पु-याएको क्षतिका कारण चिन्तित देखिन्छन् ।
लगाएको धानसहित जमिनै बगरमा परिणत भएपछि चिन्तित बनेका किसानले पुनः बगरलाई जमिनमा परिणत गर्न थालेका छन् । सोमबार दिउँसो १ बजे हामी दैलेखको आठबीस नगरपालिकाको असाराघाट पुग्दा केही स्थानीय व्यापारीहरु घाम ताप्दै गफिँदै थिए । हामीले चुनावको बारेमा जानकारी लिन खोज्दा गाउँ बस्तीमा चुनाव आएपनि किनाराका बस्तीहरुमा त्यसको प्रभाव नपुगेको जवाफ दिए ।
छरिएका बस्ती भएका कारण उम्मेदवारहरु खासै भोट माग्न नआउने गरेको उनीहरुको भनाइ थियो । असाराघाट आठबिस नगरपालिका वडा नम्बर १ अन्तर्गत माथिल्लो कर्णाली विद्युत परियोजनाबाट झण्डै ३ किलोमिटर उत्तरतर्फ पर्छ भने नदीपारी अछामको तुर्खाखाँदा गाउँपालिकाको सिमाना पर्दछ ।
विशेषगरी दैलेख सीमातर्फ सानातिना बजारहरु भएपनि अछामतर्फको किनाराममा स–सना बस्तीहरु छन् । ती बस्तीका नागरिकहरु पहिला नदी छालछालै हिँडेर रोजगारीका लागि गुटु, चिसापानी हुँदै भारत जान्थे । कर्णाली राजमार्ग बनिसकेपछि नदीवारी आएर गाडीमा आवत–जावत गर्ने अवर प्राप्त गरेका मात्रै छैनन् कतिपयले वारी नै आएर व्यापार गर्ने गरेका छन् ।
अहिले नदीवारी आएर सडक छेउमा पसल, व्यवसाय गर्ने अधिकांश अछामकै छन् । यद्यपि ती बस्तीहरुको अवस्थामा भने उस्तै छ । बस्तीमा शिक्षा, स्वास्थ्य र रोजगारीको प्रमुख समस्या छ । तुर्माखाँदा ३ का (५३) प्रसाँद सिंह बुढा कर्णाली राजमार्ग खुलेसँगै नदी वारी असाराघाट आएर व्यापार गर्न थालेका हुन् ।
अहिले पनि उनी त्यहीँ सानो पसल चलाउँछन् । उनले भने, ‘नेताहरु चुनावताका गाउँघरमा आउँथे । तर नदी किनारका बस्तीहरु छरिएका र कम जनसंख्या भएका कारण पनि खासै आउँदैनन् ।’
उनले नदीपारीका बस्तीहरुमा स्वास्थ्यको पहुँच पुग्न नसकेको बताए । ‘पालिकाको कार्यालयबाट धेरै टाढा बस्ती छन्, त्यहाँ न राज्यको ध्यान पुग्छ न त यी उम्मेदवारहरुको नै’, उनले भने, ‘नागरिकहरू वर्षौँदेखि राज्यका आधारभूत सेवाबाट विमुख छन् ।’
सामान्यतः नागरिकहरु बिरामी पर्दा बोकेर वारी राजमार्गमा ल्याउने र गाडीमा राखेर सुर्खेत नेपालगन्ज लिनुपर्ने बाध्यता अझै हट्न नसकेको तितो अनुभव उनले सुनाए ।‘बस्तीका नागरिकहरु अझै पनि कर्णालीको धमिलो पानी खान विवश छन्,’ उनले भने, ‘ती समस्या बुझ्ने नेताहरु नै यहाँ पुग्दैनन्, फाट्टफुट्न पुगे भनेपनि चुनावको समयमा नै हो, अब आफै भन्नुहोस् जनताको अवस्था कसरी परिवर्तन हुन्छ ?’
खानेपानीका अलवा बस्तीमा शिक्षाको समस्या रहेको बुढा बताउँछन् । ‘ थोरै बस्ती हुन्छ, त्यो पनि टाढाटाढा सबै बस्तीमा विद्यालय हुने कुरा पनि भएन, बालबालिकालाई विद्यालय पठाउन पनि लामो बाटोको यात्रा गर्नुपर्ने वाध्यता छ’, उनले भने।
आठबीस नगरपालिका १ कै बम बहादुर विष्ट असाराघाट मै होटल चलाउँछन् । कर्णालीको माछासहितको राजमार्गका ओहोर–दोहोर गर्ने यात्रुहरूलाई खाना खुवाउन थालेको वर्षौँ भयो । तर उनका नजरमा राजमार्गको अवस्था बदलिएन ।
उनले कर्णाली राजमार्गमा दैनिक मान्छेले ज्यान गुमाउँदा समेत राज्यले स्तरोन्नतिमा ध्यान नदिएको प्रति चिन्ता व्यक्त गरे । असाराघाट भन्दा माथि नदी किनारामा बस्तीका अलवा जिउला (धान खेती हुने जमिन) छन् । जिउलामा धानखेती लगायका कतिपयले यो पटक धानको बीऊ नै बचाउन सकेनन् ।
नदीले धानबारीलाई नै बगरमा परिणत गरिदिएको आठबीस नगरपालिका ४ राकमका रमेशजंग माझी बताउँछन् । ‘यहाँका नागरिकलाई चुनावको कुनै चासो नै छैन, खेतबारी नदीले बगाएपनि खाद्यान्नको जोहो कसरी गर्ने भन्नेतर्फ चिन्तित छन्’, उनले भने, ‘नगरपालिकाको कार्यालय भएका कारण केही समयअघि दलहरुले भेलाको आयोजना गरेका थिए ।’
बगर छेउका बस्तीका धेरैजसो नागरिकलाई उम्मेदवार को छ भन्ने पनि जानकारी नभएको पाइयो । जसका कारण कसलाई भोट हाल्ने भन्नेमा समेत अन्योल रहेको अछाम तुर्माखाँद गाउँपालिकाको भुलुका देवेन्द्र शाही बताउँछन् ।
आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलबहादुर शाही छरिएका बस्तीलाई एकीकृत बस्तीका रुपमा विकास गर्न आवश्यक रहेको बताउँछन् । उनले भने, ‘टाढा–टाढा रहेका बस्तीमा राज्यका सबै संरचनाको विकास गर्न पनि कठिन हुन्छ, त्यसैले एकीकृत गर्नुपर्ने देख्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण