मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : प्रश्नपत्र चुहावट

प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?

मङ्गलबार, १२ साउन २०८३, १३ : १६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • परीक्षा प्रणालीको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठेको छ किनकि परीक्षा सम्बद्ध अधिकारीहरू संवेदनशील छैनन् ।
  • पछिल्लो पटक त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षाकेन्द्रबाटै बाहिरिएको घटनाले सर्वत्र आलोचना भएको छ ।
  • प्रश्नपत्र लिक हुनुको मुख्य कारण व्यवस्थापकीय कमजोरी, नीति नियमको फितलो कार्यान्वयन र जिम्मेवारीमा रहेका व्यक्तिहरूको गोपनीयता कायम नहुनु हो ।

काठमाडौँ । नेपालको माध्यमिक तथा उच्च शिक्षासहित समग्र परीक्षा प्रणालीमाथि प्रश्न उठेको छ । परीक्षामा सम्बद्ध अधिकारीहरू संवेदनशील नहुँदा परीक्षा प्रणालीको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठेको हो ।

पछिल्ला केही घटनाक्रम नियाल्दा परीक्षा केन्द्रबाटै प्रश्नपत्र चुहावट भएको देखिन्छ । पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरेको एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षाकेन्द्रबाटै बाहिरियो । यस अघि पनि यस्ता घटना नभएका होइनन् ।

२०७५ भदौमा यस्तै प्रकृतिको घटना भएको थियो । त्यसबेला एम.एड. प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र बाहिरिएको थियो प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा नै स्थगित गरेको थियो । त्यसबेला देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दा नपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो ।

२०७५ चैतमा मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरबाट बाहिरिएको घटना सार्वजनिक भएको थियो । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि एसइई स्थगित गरिएको थियो । परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गर्नुपर्नेमा १० दिनपछि हुुने आंशिकतर्फको अंग्रेजी विषयको प्रश्नपत्र वितरण गरिएको घटना प्रकाशमा आएको थियो ।

यस्तै, २०७८ साउन २२ मा प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (यूएन मिसन) मा सहभागी हुने प्रहरी कर्मचारीका लागि लिएको आन्तरिक परीक्षा विवादमा परेको थियो । प्रधान कार्यालयको यूएन शाखाले आन्तरिक ‘प्रि स्याट’ परीक्षा गरेको थियो । प्रि–स्याटमा उत्तीर्ण हुने प्रहरी कर्मचारीले मात्रै यूएन मिसनको अन्तिम परीक्षामा सहभागी हुन पाउँछन् । तर, परीक्षा हुनुअगावै प्रश्नपत्र लिक भएपछि परीक्षा विवादमा परेको थियो । परीक्षाको प्रश्नपत्र लिक भएपछि परीक्षा नै एक घण्टा ढिलो गरी सुरु भएको थियो । यद्यपि ढिलो सुरु भएको परीक्षाको प्रश्नपत्रसमेत बाहिरिएको केही सहभागी प्रहरीको गुनासो छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि प्रहरी प्रधान कार्यालयले लिएको ‘प्रि–स्याट’को प्रश्नपत्र लिक प्रकरणमा छानबिन गर्न बनेको समितिले परीक्षामा सहभागी ११ वटा प्रहरी कार्यालयका सबै प्रहरीको विवरण माग्नुपर्ने अवस्था आएको थियो ।

२०७४ पुस २८ मा विशेष अदालतले एमबीबीएस परीक्षामा प्रश्नपत्र लिक गर्ने काठमाडौँस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको थियो । कारण हो– ‘०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबीबीएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिसँग मिलेमतो गरी प्रश्नपत्र लिक गराउनु ।

q

पछिल्लो पटक त्रिविको एमबीएस प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केही समयमै बाहिरिएको घटना सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको छ । साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेष्टरको अर्गनाइजेसनल बिहेवियर विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिएको देखिन्छ । परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र छ्यापछ्याप्ती भेटिएको थियो ।

विभिन्न ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र लिक भएको प्रमाणसम्बन्धी समाचार रातोपाटीले सार्वजनिक गर्‍यो । एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र केही कलेजबाट लिक भएको विद्यार्थीको गुनासो छ । यो विषयको घटना छानबिन गर्न प्रा.डा. अच्यूत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । तर, यो समितिको निष्पक्षतामाथि समेत प्रश्न उठिरहेको छ ।

परीक्षा केन्द्र तोक्ने अख्तियारी पाएको त्रिवि व्यवस्थापन डिन कार्यालयले आफैँ छानबिन समिति गठन गर्दा यसको निष्पक्षतामाथि प्रश्न उठेको हो । त्रिविका एक अधिकारीले परीक्षा केन्द्रको अन्तिम निर्णय लिने निकाय व्यवस्थापन सङ्काय डिन कार्यालय रहेको र यो घटनाको छानबिन कमिटीसमेत डिन कार्यालयबाटै भएकाले यसको निष्पक्षतामाथि प्रश्न रहेको बताए । उनले भने, ‘डिन कार्यालय आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरा कतिको सान्दर्भिक हुन्छ ?’

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सन्दीप सिंह ठकुरी एक निजी कलेजमा कार्यरत छन् । कतिपयले प्रश्नपत्र लिकमा परीक्षार्थीसहित त्रिविका अधिकारी र तेस्रो व्यक्ति प्रत्यक्ष संलग्न हुने गरेको आरोप लगाएका छन् । यस्ता घटनाले पनि परीक्षाको गुणस्तरमाथि प्रश्न उब्जाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक सुदर्शन ढुङ्गानाले परीक्षा प्रणालीमा समयानुकूल परिवर्तन गर्न जरुरी रहेको बताए । उनले रातोपाटीसँग भने, ‘परम्परागत शैलीमा लिइने परीक्षाका लागि बनाइएको नियम, निर्देशिका र नीतिहरूमा पनि केही परिवर्तन अत्यावश्यक देखिन्छ । जिम्मेवारीमा रहेका व्यक्तिले परीक्षाको नीति, नियम, निर्देशिकाहरूमा रही पदीय गोपनीयता कायम राखी जिम्मेवारी पूरा गर्नुपर्दछ । यसो नहुँदा या नगर्दानै अहिले देखिएका जस्ता विभिन्न घटनाहरू हुन्छन् र बाहिरिन्छन् ।’

ढुङ्गानाका अनुसार विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय र परीक्षामा खटिने प्राध्यापक, कर्मचारी र परीक्षा सम्बद्ध व्यक्तिहरूलाई आवश्यक तालिम दिनुपर्छ । उनले भने, ‘आफ्नो जिम्मेवारी र गोपनीयता कायम नगर्ने प्राध्यापक, कर्मचारी र परीक्षा सम्बद्ध व्यक्तिहरूलाई विश्वविद्यालयले कारबाही गर्न सक्नुपर्छ । परीक्षार्थीको हकमा पनि यही नियम लागु हुन्छ र गर्नुपर्दछ ।’

उनले नीति, नियम चुस्तदुरुस्त नभएको र कार्यान्वयन पक्ष पनि फितलो रहेको बताए । उनले भने, ‘परीक्षार्थी होस् या परीक्षामा खटिने प्राध्यापक, कर्मचारी र परीक्षा सम्बद्ध व्यक्तिहरू, जसले परीक्षाको नीति, नियम, निर्देशिका विपरीत कार्य गर्दछन्, उनीहरूमाथि सत्यतथ्य जाँचेर निर्मम भएर कारबाही गर्न सक्नु पर्दछ ।’

z

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. खिलानाथ सापकोटाले त्रिविको परीक्षा प्रणालीलाई सुधार गर्न सबै परीक्षाको सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको सम्पूर्ण जिम्मेवारी पुनः परीक्षा नियन्त्रण कार्यालयलाई दिनु आवश्यक रहेको बताए । उनले भने, ‘यदि विश्वविद्यालयको परीक्षा प्रणालीलाई वास्तवमै सुधार गर्ने हो भने त्रिभुवन विश्वविद्यालयका सबै परीक्षाको सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको सम्पूर्ण जिम्मेवारी पुनः परीक्षा नियन्त्रण कार्यालयलाई नै दिनु आवश्यक छ । विगतमा यही व्यवस्था थियो र यसले एकरूपता तथा जवाफदेहिता कायम गरेको थियो ।’ 

हाल त्रिविमा सेमेस्टर प्रणालीका अधिकांश परीक्षा सम्बन्धी कार्य सम्बन्धित डिन कार्यालयले सञ्चालन गरिरहेका छन् । सापकोटाले भने, ‘यो दीर्घकालीन रूपमा राम्रो अभ्यास होइन । यसले डिन कार्यालयहरूलाई अनावश्यक रूपमा परीक्षा सञ्चालनमा केन्द्रित बनाएको छ । जबकि उनीहरूको मुख्य जिम्मेवारी शैक्षिक नेतृत्व, पाठ्यक्रम विकास, अनुसन्धान तथा गुणस्तर अभिवृद्धि हुनुपर्छ ।’

सापकोटाले परीक्षा नियन्त्रण कार्यालयलाई अझ सक्षम, स्रोतसाधनयुक्त, प्रविधिमैत्री र पूर्ण रूपमा जिम्मेवार बनाउँदै विश्वविद्यालयका सबै परीक्षा सम्बन्धी कार्य एउटै निकायमार्फत सञ्चालन गर्ने व्यवस्था पुनः लागु गर्नुपर्ने बताए ।

त्रिवि एमफिल अध्ययनरत कुमार बर्तौलाले प्रश्नपत्र बाहिरिँदा मेहनती विद्यार्थीमाथि अन्याय हुने बताए । उनले भने, ‘प्रश्नपत्र बाहिरिनु पहिलो घटना होइन, तर निरन्तर यो क्रम दोहोरिँदा यसले संस्थामाथिको विश्वसनीयता घट्ने र भविष्यमा हाम्रो पठन संस्कृतिमा नकारात्मक समस्या पर्नेछ ।’

त्रिविमा द्वन्द्व, शान्ति र विकासमा एमफिल–पीएचडी अध्ययनरत नवराज डाँगीले प्रश्नपत्र लिक घटनाले देशको गरिमामाथि नै आँच आउन सक्ने बताए । उनले भने, ‘यस प्रकारका घटनाले विश्व समुदायका अगाडिसमेत हाम्रो शैक्षिक गुणस्तर र हाम्रा प्रणालीमा भएका कमजोरीहरूले चर्चाको स्थान पाउँछन् । हाम्रो मर्यादामा समेत आँच आउँछ । यसमा संलग्न जो कोहीलाई हदैसम्मको कडा सजाय हुनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका प्रवक्ता नविन्द्र भण्डारीले प्रश्नपत्र लिक भएको घटनालाई गम्भीरतापूर्वक लिएको बताए । उनले भने, ‘मौलिक रूपमा लेख्न सक्ने खालको प्रश्नपत्र निर्माण आवश्यक छ । प्रश्नपत्रको शैली नै परिवर्तन गर्नुपर्ने देखिन्छ । परीक्षा भवनमै डिजिटल सामग्री लग्यो भने परीक्षार्थीमात्रै नभई संलग्न जो कोहीलाई कारबाही गर्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’

त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा. टंकनाथ धमलाले प्रश्नपत्र लिक गर्नु अनैतिक गतिविधि भएको भन्दै यस्तो हुनुमा व्यवस्थापकीय कमजोरी रहेको बताए । उनले भने, ‘परीक्षा सञ्चालनमा संलग्न व्यक्तिहरूको इमानदारिता र जिम्मेवारीबोध हुने हो भने प्रश्नपत्र लिक हुँदैनन् । यो समस्या समाधानका लागि परीक्षा नियन्त्रण कार्यालय र विश्वविद्यालय प्रशासन जिम्मेवार र जवाफदेही हुनुपर्छ ।’

धमलाले प्रश्नपत्र लिकका घटना दिगो समाधानका लागि शिक्षा प्रणाली र परीक्षा ढाँचामा व्यापक सुधार गर्नुपर्ने बताए । उनले भने, ‘केवल तीन घण्टाको सैद्धान्तिक परीक्षामा सीमित नभई अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाउनुपर्छ । निरन्तर आन्तरिक मूल्याङ्कन, प्रोजेक्टवर्क, प्रस्तुतिकरण र समूहकार्यलाई प्राथमिकता दिनुपर्छ । प्रश्नपत्रको उत्तर चोर्न नसकिने र अवधारणात्मक प्रकृतिका बनाउनुपर्छ ।’

  • के छ कारबाहीको व्यवस्था ?

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को संशोधनमा विद्यार्थीको आचारसंहिता सम्बन्धी व्यवस्था छ । नियमानुसार परीक्षा सञ्चालन कार्यमा खटिएका कुनै पनि व्यक्तिमाथि परीक्षार्थीले अभद्र व्यवहार, हुलहुज्जत, हातपात तथा कुटपिट जस्ता कार्य गर्न नहुने भनिएको छ ।

नियमको परिच्छेद ६६ मा कुनै परीक्षार्थीले त्यस किसिमको कार्य गरेमा गरेको कार्यको अनुपातमा केन्द्रीय परीक्षा सञ्चालक समितिले सम्बन्धित परीक्षा रद्द गर्नुका साथै निज परीक्षार्थीलाई १ वर्षदेखि ४ वर्षसम्म कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्न सक्ने उल्लेख छ । परीक्षार्थीले व्यक्तिगत वा सामूहिक रूपमा आफ्नो वा अरूको परीक्षा बिथोल्ने जस्ता कार्य गर्न नपाउने र त्यस्तो काम गर्ने परीक्षार्थीलाई कारबाहीका निमित्त स्थानीय प्रशासनको जिम्मा लगाइदिन सकिने भनिएको छ ।

यस्तै, त्रिवि व्यवस्थापन सङ्काय डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल कार्यक्रमका सम्पूर्ण सत्रान्त परीक्षामा सामेल हुने परीक्षार्थीहरूका लागि आचारसंहिता जारी गरेको छ । आचारसंहितामा परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध प्रवेश पत्र प्रत्येक परीक्षाका दिन अनिवार्य ल्याउनु पर्ने उल्लेख छ । यस्तै, नियम अनुसार परीक्षा केन्द्रले तोकिएको सिटमा मात्र बसेर परीक्षा दिनुपर्ने, केन्द्राध्यक्ष वा निरीक्षकको अनुमतिविना आफ्नो सिट वा परीक्षा भवन छोड्न पाउने छैन । परीक्षा प्रारम्भ भएको पहिलो एक घण्टाभित्र परीक्षा भवनबाट बाहिर निस्किन समेत नपाउने उल्लेख छ ।

मोबाइल फोन, स्मार्ट वाचजस्ता इलेक्ट्रोनिक डिभाइसहरू, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामग्रीहरू परीक्षा भवनभित्र ल्याउन मनाही गरिएको आचारसंहितामा उल्लेख छ । यस्तै, नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने (प्रतिरूपण), परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता कार्य गर्न नपाइने, परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीको निर्देशनको पूर्ण रूपमा पालना गर्नुपर्ने भनिएको छ ।

परीक्षा नियम तथा आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा विश्वविद्यालयको परीक्षा नियमावली बमोजिम परीक्षा रद्द हुने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुनबाट वञ्चित गरिने तथा आवश्यक परे कानुनी कारबाही समेत हुन सक्ने भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप