शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर–२ ग्राउडजिरो : गठबन्धनले साउदलाई सहज, धामीलाई चुनौती

शुक्रबार, २५ कात्तिक २०७९, १७ : ०४
शुक्रबार, २५ कात्तिक २०७९

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा आसन्न मंसिर ४ को निर्वाचनको रौनक बढ्दो छ । स्वतन्त्र उम्मेदवार नरहेको यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस, एमालेसहित विभिन्न पार्टीका १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।​ कांग्रेसबाट एनपी साउद, एमालेबाट नरबहादुर धामी, राप्रपाबाट अशोकबहादुर सिंह, नेमकिपाबाट सिताराम राना, लोसपाबाट लोकराज भट्ट र जनमत पार्टीबाट प्रेमसिंह बडाल चुनावी मैदानमा छन् ।

यस्तै हाम्रो नेपाली पार्टीबाट जगदिश अवस्थी, जनता प्रगतिशील पार्टीबाट विद्यादेव जोशी, कांग्रेस बिपीबाट वीरबहादुर बोहरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट झंकरराज जोशी पनि प्रतिस्पर्धामा छन् । कञ्चनपुर २ (२) प्रदेश सभामा कांग्रेस नेता बहादुरसिंह थापा र एकीकृत समाजवादीका नेता लालबहादुर खड्काबीच मित्रवत् प्रतिस्पर्धा गर्दै छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट थापा र समाजवादीबाट खड्का प्रदेश सभा सदस्यका उम्मेदवार छन् । यहाँ एमालेबाट कृपाराम राना, राप्रपाबाट चक्रदेव जोशी, लोसपाबाट लक्ष्मीदेवी डगौरा, नेमकिपाबाट जितेन्द्रबहादुर चौधरी, विपी कांग्रेस नारायणदत्त बोहरा, नागरिक उन्मुक्ति पार्टीबाट जितेन्द्र चौधरी चुनावी मैदानमा छन् ।

यस्तै कञ्चनपुर २ ‘१’ मा सत्ता गठबन्धनबाट माओवादीका ओमविक्रम भाट, एमालेका बचन सिंह, राप्रपाबाट चन्द्रबान्त भण्डारी, लोसपाको जगन्नाथ केसी, नागरिक उन्मुक्तिको गीता चौधरी, नेमकिपाको भरत बहादुर रावल र हाम्रो नेपाली पार्टीबाट राजुराम सार्की चुनावी मैदानमा छन् । यस्तै स्वतन्त्र उम्मेदवार टेकबहादर हमाल, जितबहादुर करिया अग्रहवा र गिरिराज पाण्डेय पनि चुनौती प्रतिस्पर्धामा छन् । प्रदेश (२)मा मित्रवत प्रतिस्पर्धामा उत्रिएको एकीकृत समाजवादीले प्रतिनिधिसभामा साउद र प्रदेश (१) मा भाट लाई समर्थन गरेको छ ।

प्रदेशमा त्रिपक्षीय भिडन्त देखिएपनि प्रतिनिधिसभा सत्ता गठबन्धनका साझा उम्मेदवार साउद र एमालेका धामीबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरु बताउँछन् । यहाँ कांग्रेस र एमालेबीचको भिडन्तबाहेक डडेलधुरा र बैतडीको भीडन्तका रुपमा समेत हेरिएको छ ।

कञ्चनपुर २ मा डडेलधुरा पुर्खौली घर भएका साउद र बैतडीका धामीबीचको प्रतिस्पर्धामा रहेकाले राजनीतिको राप जिल्लासँग समेत जोडेर हेर्ने थालिएको हो । कञ्चनपुर २ मा पर्ने प्रमुख बजार गुलरिया र झलारीका पसल र चोकमा कांग्रेस र एमालेको भन्दा भेगीय राजनीतिको प्रतिस्पर्धा बढ्ता सुनिन्छ ।

धामीमाथि जित प्राप्तिका लागि साउदले बैतडीकै कञ्चनपुर २ को प्रदेश (२) मा बहादुरसिंह थापा उम्मेदवार बनाएको चर्चा छ । डडेल्धुरा र बैतडीको भीडन्तमा दार्चुला, अछाम, डोटी र बझाङ आ–आफ्नै भूमिका पाइन्छ ।

बैतडी र दार्चुलाबाट कञ्चनपुर झरेकाहरुको राजनीति दुरी नजिक छ भने अछाम, डोटी र बझाङबाट झरेकाहरु समदुरीमा बस्ने गरेको देखिन्छ । तर कञ्चनपुर २ निर्णायक मत भने थारु समुदायसँग छ । कञ्चनपुर २ मा पर्ने कृष्णनगर, वेदकोट र सुक्लाफाँटा नगरपालिका गरी ३० वडामा पहाडी र थारू समुदायको बसोबास छ ।

कञ्चनपुर २ मा १ लाख ५ हजार ५ सय ५७ मतदाता छन् । दुवै उम्मेदवार पहाडी मूलका भएकाले पहाडी समुदायको मत विभाजन हुने देखिएको छ । प्रतिनिधिसभामा थारु उम्मेदवार नभएपछि थारू समुदायलाई आफ्नो पक्षमा पार्न साउद र धामी जोडबल चलिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट डा. फुलाराम चौधरी उम्मेदवार बन्ने तयारी थियो । अन्तिम समयमा कांग्रेसका साउदको सहजताका लागि नागरिक उन्मुक्तिले मैदान खाली गरिदिएको कञ्चनपुर २ मा चर्चा छ ।

नागरिक उन्मुक्तिको मौन समर्थन, एमाले र राप्रपा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने परिस्थितिले साउदको जित सहज रहेको गठबन्धनका नेता कार्यकर्ताको भनाइ छ । स्थानीय निर्वाचनको आँकडाले पनि साउद भारी मतान्तरले अगाडि देखिन्छन् ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको ३९ हजार १३१ मत छ भने एमालेको १८ हजार ८२८ मत छ । धामीभन्दा साउद २० हजार ३०३ मतले अगाडि छन् । कञ्चनुर –२ मा कांग्रेसले १५, एमालेले ६, माओवादीले ८ र एकीकृत समाजवादीले १ वटा वडा जितेको छ । गठबन्धनले ३० वटा वडामध्ये गठबन्धनले २५ वडा जित हात पारेको छ भने ६ वटा वडामा एमालले जितेको छ ।

९ वडा रहेको कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर उपमेयरसहित १, ५, ८ र ९ गरी ४ वडा जितेको छ । माओवादी केन्द्रले पनि २, ३, ४ र ६ गरी ४ वडाध्यक्ष जितेको छ । ०७४ मा यहाँ मेयर र उपमेयरसहित ४ वडाध्यक्ष जितेको एमाले अहिले ७ नम्बर वडामा सीमित हुन पुगेको छ । यहाँ कांग्रेसको ८ हजार ६४४ मत, माओवादीको ७ हजार ४६८, एमालेको ७ हजार ३५२, राप्रपाको एक हजार २२५ र एकीकृत समाजवादीको ८१५ मत छ ।

स्वतन्त्रले ६७७ समत पाउँदा थरुहटको ८ र जसपाको १७ मत छ । यहाँ साउद धामीभन्दा दोब्बर मतले अगाडि छन् । शुक्लाफाँटा नगरपालिकाको मेयर एमाले र उपमेयर कांग्रेसले जितेको छ । यहाँ १२ वडा मध्ये एमालेले १, २ र ७ मात्र जितेको छ । कांग्रेसले ४, ५, ६, ९, १० र ११ मा वडाध्यक्ष जितेको छ ।  माओवादीले ३, ८ र एकीकृत समाजवादीले १२ नम्बर वडा जितेको छ ।

यहाँ कांग्रेसको ७ हजार ६२५, माओवादीको २ हजार २०८, एकीकृत समाजवादीको २ हजार ३२४ र राष्ट्रिय जनमोर्चाको १२२ मत छ । यस्तै एमालेको ५ हजार २३०, राप्रपाको एक हजार ९४ र स्वतन्त्र मत २४८ मत छ ।

वेदकोट नगरपालिका प्रमुख र उपप्रमुखसहित कांग्रेसले १, ३,४, ५ र ७ नम्बरमा वडाध्यक्ष जितेको छ । ०७४ मा मेयर र उपमेयर जितेको एमाले यसपालि २ र ९ मा सीमित भयो । माओवादीले ६ र १० मा वडाध्यक्ष जित्यो ।

एकीकृत समाजवादीले जितेको वेदकोटको ८ नम्बर भने वडा कञ्चनपुर ३ मा पर्छ । यहाँ कांग्रेसले ६ हजार ८३ मत पाएका थिए भने माओवादी केन्द्रको मत २ हजार ८९६ छ ।

यस्तै एकीकृत समाजवादीको १ हजार २२ मत छ । यस्तै एमालेले ६ हजार १६ मत पाएको छ भने राप्रपाको मत १८ सय ४ मत छ । रािष्ट्रय जनमोर्चाको १४, लोसपाको २०५, मौलिक जरोकिलो पार्टीको ३० र विवेकशील साझाको ९ मत आएको थियो ।

५७६ मत वडाध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पाएका थिए । साउदको पक्षमा १० हजार १ मत देखिन्छ । वेदकोटमा धामी करिब ४ हजार मतले पछाडि छन् । स्थानीय निर्वाचनको मत अनुसार साउदले २ नम्बर क्षेत्रका तीन वटै नगरपालिका लीड गर्दै गठबन्धनको मत जोगाउन सके सहज जित निकाल्नेछन् ।

२०५१ को मध्यावधि निर्वाचनबाट संसदीय राजनीतिमा प्रवेश गरेका साउद ०५६ र ०७० निर्वाचित भएका थिए । उनी ०६४ र ०७४ मा भने पराजित भए । यता एमालेका धामी ०७० मा संसद दौडका लागि मैदानमा आएपनि पराजित हुन पुगे ।

०७४ मा माओवादीका साथमा धामीले साउदलाई पराजित गरी पहिलो पटक संसद यात्रा तय गरेका थिए । कांग्रेसको अन्तरद्धन्द्ध र गठबन्धनको मत चोरेर भएपनि अहिले पुन विरासत जोगाउने रणनीतिमा धामी लाग्दा  साउद तेस्रो जित निकाल्ने पक्षमा छन् ।

चुनावी तयारीका सन्दर्भमा रातोपाटीले साउद र धामीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ -

कञ्चनपुर–२ पनि ओली संस्करण दुई हो : एनपी साउद

कञ्चनपुर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा आउनु भएको छ । चुनावी तयारी कसरी अगाडि बढ्दै छ ?

कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसको परम्परागत आधार क्षेत्र रहँदै आएको छ । यहाँ हामीले टोल भेला गरौँ । टोलटोलमा हुने भेटघाट तीव्रता दिएका छौं । कांग्रेस र माओवादीका संयुक्त संयन्त्रमार्फत कार्यक्रमहरु भएका छन् ।​ भ्रातृ संस्थालाई परिचालन भएको छ । विभिन्न ठाउँमा कोणसभामार्फत हामीले जनतालाई सम्बोधन गर्दैछौँ ।

कञ्चनपुरमा कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई बेवास्ता गरेको देखियो । एकीकृत समाजवादी यहाँ सत्ता गठबन्धनसँग छ कि छैन ?

प्रतिनिधिसभामा म पाँच दलकै साझा उम्मेदवार हुँ । प्रदेश (१)मा पनि गठबन्धनको उम्मेदवारलाई एकीकृत समाजवादीको समर्थन छ । प्रदेश (२)को हकमा माओवादीले हामीलाई समर्थन गरेको छ । समाजवादी मित्रवत् प्रतिस्पर्धामा छ ।

यस्तो अवस्थामा प्रतिनिधिसभा र प्रदेश (१)मा समाजवादीको मत ट्रान्सफर गराउन सक्नुहुन्छ ?

एकीकृत समाजवादीको केन्द्रले नै साझा उम्मेदवार कहाँ कहाँ दिने भनेर निर्णय गरिसकेको छ । प्रदेश (२)मा उहाँको मित्रवत प्रतिस्पर्धा छ । कांग्रेसले आफ्ना उम्मेदवारलाई भोट दिने नै भयो । उहाँले पनि मलाई सहयोग गरिनैराख्नु भएको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको दृष्टिकोणले एमालेसँग चुनावी प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ?

यहाँ कांग्रेस मजबुत नै छ । स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको छ ।  ०७४ मा एमाले र माओवादी मिल्दा हाम्रो विपक्षमा परिणाम गएको हो । माओवादी र हामी मिलिसकेपछि गठबन्धनले जित्ने ठाउँमा छौँ ।

यसअघि तपाईं पराजित हुनुभयो, अब तपाईंले जित्दा जनताले के पाउँछन् ?

मैले सुरु गरेका विकास निर्माणका काम कारबाहीलाई अहिले एमालेले निरन्तरता दिन सकेजस्तो देखिँदैन । पुल, पुलेसा, बाटाघाटा अलपत्र छन् । कुनै पनि नयाँ प्रोजेक्ट यहाँ सुरु गरिएको छैन ।

एमालेका जनप्रतिनिधि जनतासँग सम्पर्कविहीन भएर बसेको छन् भन्ने जनगुनासो छ । संसदमा राष्ट्रिय लेबलको पर्फमेन्स भएन । संसदमा यो क्षेत्रका माग र समस्याको पहुँच स्थापित हुन सकेन । यहाँका जनता एमालेसँग असन्तुष्ट छन् । उनीहरू अहिले कांग्रेसमत्री भएर अगाडि आएको मैले पाएको छु ।

नरबहादुर धामीले तपाईँले मन्त्री हुँदा गरेको काम भन्दा पाँच वर्षमा दोब्बर बढी काम भएको भन्नुभयो । तपाईं कामै भएन भन्नुहुन्छ ?

अरू कुरा किन गर्ने ? हाम्रो बेला आएको विकास बजेट हेर्नुस्, उहाँहरुको बेला आएको विकास बजेट हेर्नुस् । त्यो हेर्दा थाहा भइहाल्छ । तस्विर आफै बोल्छ । मेरो पालामा धेरै नदीमा तटबन्धनका काम सुरु भएका थिए ।

४० वटा पुल हाम्रो बेला सुरु भएका थिए । ४४ वटा खानेपानीका आयोजना हाम्रो बेला सुरु भएका थिए । अहिले एमालेको सरकार ढलेपछि ३० विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत भवन आएका छन् । १० करोड बराबरको तटबन्धको ठेक्का भएको छ । हामीले सुरु गरेका ठूला आयोजना उहाँहरूले अगाडि बढाउन सक्नु भएन ।

तपाईँको चुनावी एजेण्डा के छन् ?

आगामी पाँच वर्षमा कञ्चनपुर २ को हाँडीगाँसमा मेरो पालमा सुरु भएको महाकाली तेस्रो चरणको नहर बन्दै छ । त्यसबाट हाँडीगाँसमा यातायात, सिचाइँ पनि दिन्छौं । डाढीबाट बग्ने नदी नियन्त्रण गर्न जरुरी छ । पतरिया, राधा, स्याली, सुनबाडा, बण्ड, मोहना, मछेदीलगायत यी सबै नदी आसपासमा डुवान र कटान समस्या छ ।

त्यसलाई योजनाबद्ध किसिमले गुरुयोजना बनाएर नियन्त्रण गर्नुपर्ने आवश्यकता मैले देखेको छु । दक्षिणतिर दुई वटा महत्त्वपूर्ण सडक बनाउने मैले लक्ष्य लिएको छु ।

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई ‘इन्टर लिंक’ गरेर पूर्वाधार विकास प्रक्रियालाई अगाडि बढाउँछु।

चुरेबाट बग्ने नदीहरुले जनताका घरखेत तहसनहस गरेका छन् । बाढी र डुबानको समस्या छ, त्यसलाई निराकरण गर्ने योजना छ । यहाँ २४ वटाजति आरक्ष, कमैया, हलिया र बाढीपिडित शिविर छन् ।

सीमान्तकृत समुदाय बस्ने ती शिविरहरुको एकीकृत बस्ती राखेर विकास योजना व्यवस्थित रुपमा चलाउन सकिन्छ । सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउँछु ।

कञ्चनपुर २ मा आरक्षको विषय हरेक चुनावमा एजेण्डा बन्छ, पछि हराउँछ भन्ने त्यहाँका बासिन्दाको गुनासो छ । यो किन यस्तो भइरहेको छ ?

राजनीतिक आयोगहरुले संख्या बढाएर सिर्जना गरिएको समस्या थियो । यो संख्या बढाउने क्रमलाई पूर्वप्रधानन्यायधीश ठाकुरप्रसाद शर्माको अध्यक्षतामा बनेको आयोगले बन्द गरिदिएको छ । १४ सय ८० भनेर यकिन गरिदिएको पनि छ । केही खास मान्छे छुटेका छन् भने प्रमाण ल्याउ भनिएको छ ।

अब उनीहरुलाई दिने के क्षतिपूर्ति दिने भन्ने कुरा हो । मैले उनीहरुलाई आवासका लागि घर र क्षतिपूर्तिवापत केही रकम दिएर यो समस्यालाई सधैका लागि समधान गरेर अगाडि बढ्छु ।

एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

धेरै मान्छेलाई केही समयका लागि झुक्याउन सकिन्छ । सधैं झुक्याउन सकिँदैन । उहाँहरूको वास्तविकता जनताले थाहा पाइसकेका छन् । उहाँले के गर्नुहुन्छ, कति गर्न सक्नु हुन्छ, कसरी गर्नुहुन्छ त्यो देखिएको छ । कञ्चनपुर क्षेत्र नम्बर २ का लागि उम्मेदवारहरू अब नयाँ छैनन् । म पनि पहिले निर्वाचित भइसकेको हुँ । नरबहादुरजी पनि निर्वाचित हो । अब जनताले मूल्यांकन गर्नुहुन्छ । अब मान्छे किन बोल्ने ? कामले बोले भयो नि !

चुनावी प्रचारका लागि यहाँका ३० वटै वडामा पुगिसकेँ भन्नु भयो । मतदाताको मनोविज्ञान कस्तो पाउनु भएको छ?

एमालेसँग रुष्ट छन् । उहाँले गर्न नसक्ने कुरा गर्छु भन्नुभयो । जसरी ओलीजीले पानीजहाज चलाउँछु, रेल ल्याउँछु, चुलोमै ग्यासको पाइपलाइन जोड्छु भनेर दुई तिहाइ पाउनु भयो । तर सरकार बचाउन सक्नु भयो ? अरु त अरु आफ्नो पार्टी पनि बचाउन सक्नु भएन । यहाँ पनि त्यही हो, कञ्चनपुर २ पनि ओली संस्करण दुई हो । यहाँ कुरा ठूला, ठूला गरेका सुनिन्थ्यो । तर फिल्डमा काम भएको केही देखिँदैन । एमालेकै साथीहरू ज्यादा निराश छन् ।

चुनाव जित्नेमा कति विश्वस्त हुनुहुन्छ ?

म मेहनत गरिराखेको छु । ठूलो डिङ हाक्ने पक्षमा छैन । घर–घर गएर व्यक्ति–व्यक्तिसँग भेट्ने कोसिस गरिरहेको छु । हाम्रो र माओवादीको मत जोडियो भने करिब २५ हजारको अन्तर देखिन्छ । अब जनता जनार्दन ।

त्यो मतलाई जोगाउन सक्नुहुन्छ ?

माओवादी र हामी एक ढिक्का छौं । पाँच दलीय गठबन्धन एक ढिक्का छ ।

गठबन्धनका दलको मत एक अर्कामा ट्रान्सफर हुने देख्नुहुन्छ ?

हामीले गठबन्धन गरेर सँगै सरकार चलाइराखेका छौं । सँगै हिँडिराखेका छौं, संँगै काम गरिराखेका छौं, एउटै लक्ष्यमा हिँडिराखेका छौं । यो गठबन्धन हामीले चुनाव जित्न मात्र बनाएका होइन । यसले बहुमत ल्याएर स्थिर सरकार दिनेछ । संसदलाई अदालतले संवैधानिक भन्ने गरी ओलीजीको जसरी पटक पटक भंग गर्ने होइन । संसदलाई पनि पाँच वर्ष चलाउने हो ।

तर तपाईंहरुको गठबन्धनलाई एमाले अध्यक्ष केपी ओलीले सिद्धान्तविहीन र भिजनलेसको संज्ञा दिनु भएको छ नि ?

गठबन्धन भनेकै दुई–तीन मिल्ने कुरा हो । गठबन्धनमा एक पार्टी हुँदैन । फरक फरक पार्टीका आ–आफ्ना विचार र सिद्धान्त हुन्छन् । तर एउटा सिद्धान्त हामी सबैको मिल्छ । त्यो हो देश बचाउनु र देश बनाउने पर्छ । देश बचाउन र देश बनाउने हाम्रो रोडम्याप छ । त्यसका लागि चुनावअघि नै घोषणापत्र निकालिराखेका छौं ।

गठबन्धनमा रहेका सबै दलको घोषणापत्र फरक फरक छ । चुनावपछि गठबन्धनको बहुमत आउँदा कसको घोषणापत्र लागू गर्नुहुन्छ ?

सबैका घोषणापत्र आदर्शमुखी छन् । तर नीति कार्यक्रम एउटै छ ।

चुनावी प्रचारमा गठबन्धन रक्षात्मक देखिन्छ । एमाले एक्लैको पनि गठबन्धनले किन प्रतिवाद गर्न सकेको छैन ?

उहाँहरू आत्तिएर बोलिराख्नु भएको छ । पाँच दलीय गठबन्धनका विरुद्ध लड्न कति असजिलो छ भनेर उहाँलाई थाहा छ । उहाँहरु आफै दोस्रो हो  । पहिलो दलले तेस्रो दलसहित अन्य दललाई मिलाएर गठबन्धन गर्दा उहाँहरु ठूलो दबाबमा हुनुुहुन्छ । दबाबको अभिव्यक्ति आक्रोशका रुपमा व्यक्त गर्नुहुन्छ । उहाँहरू चिच्याइराख्नु भएको छ, गाली गरिराख्नु भएको छ । अब पाँचदलीय गठबन्धनले पनि अपसंस्कृति बोक्नुपर्छ भन्ने छैन । हामी सालिन छौं, भद्र छौं । गठबन्धनले चुनाव जित्छ भन्ने कुरामा विश्वस्त छु ।

मैले मन्त्री भएको मान्छेले भन्दा बढी काम गरेको छुः नरबहादुर धामी

चुनावी अभियान कसरी चलिरहेको छ ?

हाम्रो चुनावी अभियान तीव्र गतिमा अगाडि बढेको छ । हाम्रो पार्टी नेकपा एमालेको सिंगो पंक्ति लागेको छ । हाम्रो राजनीतिक एजेण्डालाई, हामीले गर्ने कामलाई, सवाललाई जनता सामु लगेका छौँ । राष्ट्रव्यापी रुपमै हामीले आगामी ५ वर्षभित्र २० वटा काम गर्ने प्रतिवद्धता जाहेर गरेका छौँ । हाम्रो घोषणापत्रमा उल्लेख ती प्रतिवद्धता पूरा गर्न हामी लाग्ने छौँ । विगतमा काम गरेको विरासत हामीसँग छ । जसका कारण जनता हाम्रो पक्षमा छन् ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा हुनुहुन्थ्यो र जितेर जानुभयो । यो पाँचमा तपाईंहरुले गरेको कामको मूल्यांकन जनताले कसरी गरिरहेका छन् ?

पाँच वर्ष इतिहासकै निकै नै दुःखद क्षण रह्यो । निरन्तर काम हुने अवस्था रहेन । सरकारमा गडबडी र सरकार गठन–विघटन हुन पुग्यो । पाँच वर्षमा जनताका भाग्य बदल्छौँ र समृद्धि ल्याउँछौ भनेका थियौँ । हामीले स्थायी र स्थिर सरकारको लागि गठबन्धन बनाएका थियौँ । तर गठबन्धन चाहिँ पार्टी फुट, सरकार विघटन, सरकारलाई काम गर्न नदिनेजस्ता अलमलमा सीमित भयो । यसैबीच कोरोना महामारी आयो । महामारीले मान्छेलाई सतायो ।

मुलुकको सिंगो बजेट कोभिडमा केन्द्रित भयो । प्रतिकूल परिस्थितिमा पनि हामीले महत्वपूर्ण काम गरेका छौँ । जनताको जीवनमा दूरगामी प्रभाव पार्ने काम भयो । कञ्चनपुरमै दैजीको औद्योगिक क्षेत्र, जहाँ २२ हजार जनताले रोजगारी प्राप्त गर्छन् । पाँच सय बढी उद्योग स्थापना हुन्छ । नेपाल सरकारको नौँ अर्बभन्दा बढी बजेट खर्च हुन्छ । हामीले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय खोलेका छौँ । जहाँ गरिब जनताका छोराछोरीले एचए, नर्सिङ, फार्मेसी जस्ता प्राविधिक विषय जम्मा ५० हजारभित्र, ४८ हजारमा कम्लिट हुने व्यवस्था गरेका छौँ । अहिलेलाई सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटो मेकानिकल इन्जिनियरिङका क्लासहरु चलिरहेका छन् । निकट भाविष्यमा सबै व्यवस्था गर्ने लक्ष्य छ । त्यहाँ अहिले साढे पाँच करोडको संरचना निर्माणको ठेक्का पनि भइसकेको छ । यो सबै भइसकेपछि गरिब जनताको हातमा प्रविधिक ज्ञान र सीप हुनेछ । त्यसैगरी आरक्ष पीडित बस्तीमा शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीको समस्या थियो । तिनीहरूको व्यवस्थापनका लागि हाम्रो सरकार हुँदा एउटा कार्यदल गठन भएको थियो । जसअनुसार १४८० परिवारको व्यवस्थापनको लागि वन मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो ।

हाम्रो सरकार ढल्यो र अहिले त्यो प्रतिवेदनको रुपमा सीमित छ । भूमिहीनलाई जग्गा उपलब्ध गराउन पनि हाम्रो सरकारले काम गरेको थियो । तर परमादेशको सरकार आयो र भूमि आयोगमाथि नै प्रहार भयो । हाम्रो क्षेत्रका दुई वटा विद्यालयलाई नमुना विद्यालय बनाउन काम गरेका छौँ ।

२० ग्यारेन्टी समेटिएको घोषणापत्र लिएर जनतामाझ जाँदै गर्दा प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

हामीले पाँच वर्षमा गरेको काम अरुले वर्षाैँसम्म गरेकोभन्दा धेरै छ । पटक–पटक मन्त्री हुनेहरूले गरेको कामभन्दा बढी भएकाले जनता नेकपा एमाले तथा हामीले गरेको कामप्रति उत्साहित छन् ।

तपाईले अघि आफै पाँच वर्ष हाम्रा लागि दुर्भाग्य रह्यो भन्नुभयो । जनताले बहुमत दिएर पठाएपनि जोगाउन सक्नुभएन । फेरि मत माग्न जाँदै हुनुहुन्छ नि ?

होइन, यो सन्दर्भमा यस्तो छ, हामीले जोगाउनु नजोगाउनुभन्दा पनि केही साथीहरू केही नियतका साथ आउनुभएको थियो र, गठबन्धन टिकेन । जुन कारण देशमा स्थिर सरकार चलाउने वातावरण बन्न सकेन । अर्कोतिर हामीलाई प्रश्न गरिरहँदा अहिलेको गठबन्धनको सरकारले पनि दुई वर्षदेखि सरकार चलाइरहेको छ, यसको काम पनि जनताले देखिरहेका छन् नि ।

२०७४ र २०७९ को चुनावी समीकरण बदलिएको छ । पहिले एमालेसँग रहेको माओवादी अहिले कांग्रेससँग छ र एमाले विभाजित छ । यस्तो पृष्ठभूमिमा कस्तो किसिमको चुनौतीको सामना गर्नुपरेको छ ?

अहिले यस्तो छ, सबैतिरबाट हाम्रो पार्टी पुर्नजागृत भएको छ । नयाँ ढंगले अगाडि बढेको छ । नयाँ सिराबाट उठेको छ । पहिलेको गठबन्धन प्राकृतिक हो । सैद्धान्तिक, वैचारिक तहसम्म एकता हुने गठबन्धन थियो । तर आजको पाँच दलीय गठबन्धन त्यस्तो होइन । माओवादीको अधिवेशनबाट पारित दस्तावेज नै पढ्ने हो भने पनि नेपाली कांग्रेसलाई उसले वर्ग शत्रु र वर्ग दुस्मनको रुपमा लिएको छ । जुन कारण दुई शत्रु बीचको गठबन्धनलाई जनताले पनि स्वीकार गरेका छैनन् ।

२०७४ मा यहाँ एनपी साउदले जिते मन्त्री र नरबहादुरले जिते सांसद भन्ने चर्चा गरिन्थ्यो । सांसद मात्रै हुनुभयो है ?

सांसद मात्रै भएकोमा मलाई गर्व छ । यहाँका जनताले मलाई सांसद बनाए । मैले यहाँ मन्त्री भएको मान्छेले भन्दा बढी काम गरेको छु । यहाँ मन्त्री भएर के हुने हो र ? हिजो एनपी साउद मन्त्री भएको होइन र ? मन्त्री हुँदा उनले गरेको कामको कुनै फेहरिस्त छ ? जनताको जीवनसँग दूरगामी प्रभाव पार्ने गरी गरेको कामको कुनै विरासत छ ? मैले त भनिसके हामीले सुरु गरेको दैजी औद्योगिक क्षेत्र जनताले देखिरहने छन् । २२ हजार मान्छेले रोजगारी पाइरहने छन् । सुख्खाबदरगाहको काम हुनेछ । बहुप्राविधिक विद्यालयबाट गरिबका छोराछोरीले शिक्षा पाइरहने छन् ।

त्यसो भए तपाईंको आगामी पाँच वर्षे रोडम्याप के हो ?

हाम्रो घोषणापत्रको २० ग्यारेन्टी हाम्रो नेशनल इस्यू हो । स्थानीय मुद्दा पनि छन् । यहाँका आरक्ष पीडितको समस्या समाधान हुन्छ । उहाँहरुको भाग्य हामी बदल्न चाहान्छौँ । हामीले नै भूमिहीनलाई जग्गा दिने कार्यको थालनी गरेका थियौँ । तर परमादेशको सरकार आयो, हामीले सुरुवात गरेको काम अगाडि बढाउन यो सरकारले दायित्व लिन सकेन । हामीले अब यहाँ शिक्षामा नवीनतम प्रविधि ल्याउनु छ ।​यहाँका बाटोघाटो राम्रो बनाउनु छ । नदी कटान नियन्त्रण गर्नुछ । यहाँका जनताको जीवनस्तर उकास्नु छ, यिनै कुरामा हामी केन्द्रित हुनेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप