शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर–१ कसरी बन्यो नेमकिपाको गढ ?

मतान्तर घटाउने सत्ता गठबन्धन र एमालेको जोड
मङ्गलबार, २९ कात्तिक २०७९, १३ : १६
मङ्गलबार, २९ कात्तिक २०७९

भादगाउँ अर्थात् भक्तपुर भन्नासाथ राजनीतिक रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ मानिन्छ । सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छे पटकपटक भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदै आएका थिए । २०७४ को निर्वाचनदेखि उनी चुनावी मैदानमा छैनन् । उनले २०७४ सालको चुनावदेखि नै विश्राम लिएका हुन् । उनको उत्तराधिकारीको रुपमा प्रेम सुवाल यो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन् । 

नेमकिपासँगको प्रतिस्पर्धामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन, एमाले र राप्रपा चुनावी मैदानमा छन् ।  

नेमकिपाबाट भक्तपुर–१ अन्तर्गत प्रदेशसभा ‘क’ बाट मिनबहादुर बाटा र प्रदेश सभा ‘ख’ बाट सुरेन्द्रराज गोसाई प्रतिस्पर्धामा उत्रिएका छन् । सत्ता गठबन्धनबाट भक्तपुर १ मा माओवादीका सुनिल बासु उम्मेदवार छन् भने प्रदेशसभा ‘क’ बाट कांग्रेसका सुरेश श्रेष्ठ र प्रदेशसभा ‘ख’ बाट पवन भुजु उम्मेदवार छन् । 

यस्तै एमालेबाट भक्तपुर–१ मा प्रतिनिधिसभातर्फ नवराज गेलाल उम्मेदवार छन् भने प्रदेशसभा ‘क’ बाट मोहनवीर श्रेष्ठ र प्रदेशसभा ‘ख’ बाट नारायणसुन्दर सिन्ताकल प्रतिस्पर्धामा छन् । 

भक्तपुर–१ बाट २०४८ देखि २०७० सालसम्म विजुक्छेले ५ पटक चुनाव जिते । २०७४ सालमा विजुक्छेले पार्टीमा अरू नेतालाई अवसर दिने भन्दै विश्राम लिएपछि नेमकिपाकै सुवाल निर्वाचित भए । आगामी चुनावमा समेत उनै सुवाल नेमकिपाको उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् ।

भक्तपुर–१ निर्वाचन क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा भक्तपुर नगरपालिका प्रमुख/उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको छ । कांग्रेस, एमाले र माओवादी लगायत पार्टीले यहाँ नेमकिपाभन्दा निकै कम मत पाएका छन् ।

यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले ९ नम्बर वडा अध्यक्ष मात्रै जितेको छ । अरु वडामा भने कांग्रेस, एमाले, माओवादीभन्दा निकै कम मत पाएर नेमकिपा पराजित भएको हो । भक्तपुरको जनमतकै कारण नेकपाले विगतका ६ चुनाव लगातार जित्दै आएको छ । 

स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा सत्ता गठबन्धन र एमालेभन्दा नेमकिपा भारी देखिन्छ । उस्तै परेमा यस क्षेत्रमा भएका सबै पार्टी मिल्दासमेत नेमकिपा बलियो हुने अवस्था छ । यो चुनावमा अरु दल नेमकिपासँगको मतान्तर घटाउने बाहेक जित्ने अवस्था छैन । 

गत वैशाखमा भएको स्थानीय चुनावमा वडा अध्यक्षको आधारमा नेमकिपाले यो क्षेत्रमा ३३ हजार ८९५ मत ल्याएको छ । यस्तै, सत्ता गठबन्धनले १४ हजार ४०१, एमालेले १४ हजार ११९ मत र राप्रपाले ६ हजार २८६ मत ल्याएको छ । प्रदेशसभा ‘क’ मा त्रिपक्षीय प्रतिस्पर्धा भए पनि प्रदेशसभा ‘ख’ मा भने नेमकिपा निकै शक्तिशाली देखिन्छ ।

भक्तपुरमा नेमकिपा कसरी बलियो भयो ? 

नेमकिपा आफैमा किसान आन्दोलनबाट उठेको पार्टी हो । २०२१ सालमा भूमिसुधार लागु भएपछि किसानलाई मोहियानी हक दिलाउन नेमकिपा लागिपरेको थियो । त्यस संघर्षबाट भक्तपुरसहित उपत्यका बाहिर धेरै जिल्लामा नेमकिपाले आफ्नो संगठन विस्तार गरेको थियो । 

किसानलाई मोहियानी हक दिलाउन नेमकिपाका नेता कार्यकर्ताहरु किसानका खेतमा गई बाली काट्ने, भित्र्याउने र किसानलाई जोताहा हक दिलाए । नेमकिपाले गरेको संघर्षबाट भक्तपुरमा झण्डै ५० प्रतिशत किसानले मोहियानी हक पाएको नेता कार्यकर्ता बताउँछन् । त्यसरी मोहियानी हक दिलाउने क्रममा नेमकिपाका नेता कार्यकर्तालाई चोरी, ठगी र लुटपाटको मुद्दा लगाउनुका साथै घाइते र अपाङ्गसमेत बनाएको नेमकिपाका उम्मेदवार सुवाल बताउँछन् । 

यस्तै २०२५/०२६ सालमा भक्तपुरमा नेमकिपाले चलाएको भ्रष्टाचार विरोधी गतिविधिले समेत निकै प्रभाव परेको थियो । किसानको विपक्षमा कृषि सहकारी र  साहु महाजनले जनविरोधी क्रियाकलाप र भ्रष्टाचार गरेको भन्दै संगठनले आन्दोलन गरेको थियो ।

भक्तपुरमा नेमकिपाले संगठन बलियो हुनुमा नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ र सडकको स्तरोन्नति नै हो । ०५८ सालपछि ख्वपः इन्जिनियरिङ कलेज स्थापना भएपछि सर्वसुलभ शुल्कमा इन्जिनियर उत्पादन गर्दै आएको छ । नगरभित्रका सामुदायिक विद्यालय गुणस्तरीय बनाउनुका साथ निःशुल्क बनाएको छ । नर्सिङ कलेज स्थापना भएपछि घरघरमा नर्सहरू गएर सुगर, प्रेसर, गर्भवती र सुत्केरी जाँच गर्दै आएका छन् । नगरपालिकाले ६ शिशु स्याहार केन्द्र, ६ ओभरसियर पढाउने कलेज, ३ जनस्वास्थ्य कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ ।

नगरभित्र पुरानो बस्तीमा नयाँ घर बनाउँदा पुरानो शैली मास्न नपाउने नियम बनाएको छ । नगरभित्र घर बनाउँदा बाहिर देखाउनुपर्ने, अगाडि भागमा झिँगटी लगाउनुपर्ने र काठ देखाउनुपर्ने व्यवस्था छ । पुरानै स्वरूपका घर निर्माणलाई प्रोत्साहन गर्न ३५ प्रतिशत नगरपालिकाले अनुदान दिने व्यवस्था छ । खाद्यान्नमा मिसावट नहोस् भनी नगरपालिकाले दैनिक बजार अनुगमन गर्दै आएको छ । भक्तपुरलाई सरसफाइको नमुना सहरमा विकास गर्दै आएकाले यहाँ नेमकिपा अरु पार्टीभन्दा बलियो छ ।

भक्तपुरका मतदाता भन्छन्– शिक्षा, स्वास्थ्य, सरसफाइ र सडक राम्रो छ  

यस क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिकाका मतदाताले धेरै सुविधा पाएको बताएका छन् । भक्तपुर नगरको सांस्कृतिक सम्पदाको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, सरसफाइ राम्रो रहेको विजय सुवालले बताउँछन् । भक्तपुर नगरमा हार्डवेयर पसल सञ्चालन गर्दै अएका सुवालले उपत्यकाका अरु नगरपालिकाको तुलनामा भक्तपुरमा धेरै समस्या नभएको बताए । 

‘काठमाडौँ, ललितपुरमा यस्तो समस्या छ, उस्तो समस्या छ भन्ने सुनिन्छ । झक्तपुरकै पनि अरु नगरपालिकामा थुप्रै समस्या छन्,’ सुवालले भने, ‘तर, यहाँ पढ्नलाई सर्भसुलभ व्यवस्था छ । उपचार गर्न अस्पताल छ । बाटोघाटो सबै राम्रो र सफा छ ।’ 

यस क्षेत्रमा खानेपानीको सुविधा भने नभएको सुवालले बताए । ‘यस क्षेत्रमा एउटा खानेपानीको समस्या छ । यहाँ पानीको स्रोत नै छैन, त्यसैले अलि समस्या छ । त्योबाहेक सबै ठिक छ,’ उनले भने ।  

भक्तपुर नगरकै विकलाल बासुले नेमकिपाले शिक्षा र स्वास्थ्यमा एक नम्बर काम गरेकाले चुनाव जित्दै आएको जिकिर गरे । ‘नेमकिपाका नेताहरुले धेरै काम गरेका छन् । शिक्षामा देशैभरका ७७ जिल्लामध्ये भक्तपुर उत्कृष्ट छ । सरकारी स्कुल गुणस्तरीय र सर्भसुलभ छ । सबै वडामा स्वास्थ्य जाँचको व्यवस्था छ,’ बासुले भने, ‘यस क्षेत्रमा पानीको समस्यामात्रै छ । पानीको मुहान धेरै टाढा भएकाले समाधान हुन सकेको छैन ।’ 

भक्तपुरमै डेरी व्यवसाय सञ्चालन गर्दै आएकी पञ्चलक्ष्मी सुवालले भक्तपुरमा खासै समस्या नरहेको बताइन् । तर, पुस लागेपछि खानेपानीको समस्या हुने गरेको उनले बताइन् । 

भिडियो : कृष्ण खड्का

नेमकिपाले चन्द्रमाको जस्तै उज्यालो दिने काम गरेको छ : प्रेम सुवाल 

भक्तपुर–१ का उम्मेदवार, नेमकिपा 

चुनावी प्रचारप्रसारको क्रममा जनताको घरदैलोमा कुन कुन मुद्दा लिएर जानु भएको छ ? 

संसद भनेको नीति तथा कार्यक्रम, बजेट, विधेयक, सन्धि सम्झौताका विषयमा छलफल गर्ने ठाउँ हो । यी विषय नै जनताको बीचमा राखेका छौँ । यस्तै, खाद्यान्न आत्मनिर्भर हुने कानुन बनाउन सक्यौँ भने अहिले भारतबाट चामल, दाल, तरकारी अर्बौँ रुपैयाँको आयात भइरहेको छ । ती सबै खाद्यान्न आयात गर्न रोकिन्छ । 

ऊर्जामा आत्मनिर्भर बनाउन सक्यौँ भने नेपाली जनताले ग्यासको सिलिण्डर बोकेर हिँड्नु पर्दैन । हरेक घरमा ५०/१०० रुपैयाँले महिनाभरि बिजुली बालेर खान पुग्छ । हामीले संसदमा नदीनाला र जलविद्युतका स्रोतहरु भारतलाई दिने होइन, नेपाली जनताको लगानीमा जलविद्युत उत्पादन गर्ने हो भन्ने आवाज उठाउने छौँ । 

त्यस्तै हामीले युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्छ भन्दै आएका छौँ । अब युवालाई विदेशमा पठाउने होइन । हामीले देशको विकास गर्न युवाहरुलाई स्वदेशमै काम दिनुपर्छ । हामीले नेपाली युवालाई खाडीमा हराभरा गर्न पठाएर हाम्रो देशको विकास हुँदैन । स्वदेशमै रोजगारी दिनेगरी कानुन बनाउन सक्यौँ भने यो देशको हितमा हुने छ । 

चेलिबेटी बेचविखन गर्ने र महिला बलात्कारपछि हत्या गर्ने र ठुला ठुला भ्रष्टाचारीहरुलाई मत्युदण्ड दिने कानुन बनाउनुपर्छ । आज अपराधीहरु सरकारमा जाने र झण्डावाल गाडीमा बसेर आफ्नो अपराध लुकाउँदै छन् । सिंहदवार र बालुवाटारलाई भ्रष्टाचारको अखडा बनाएको छ । यी विषयहरु संसदमा उठाउने छौँ । देश र जनताको हितमा लड्ने छौँ । देशको सीमा रक्षा, सार्वभौम सत्ता र अखण्डताका विषयमा समेत संसदमा आवाज उठाउने प्रतिवद्धतता जनाएका छौँ ।

अरु पार्टीका उम्मेदवार खादा, माला लगाएर घरदैलोमा गएका छन् । तपाईंले केही पनि लगाउनु भएको छैन, किन ? 

जनताका प्रतिनिधि र प्रतिक्रियावादीका प्रतिनिधिबीचको फरक नै यही हो । हामी जनताका प्रतिनिधि हौँ । प्रतिक्रियावादीका प्रतिनिधिहरु पैसा बाँड्छन्, भोज खुवाउँछन्, झुटा कुरा गर्छन् । मानौँ कि सबैका घरघरमा बगैंचा र हराभरा हुन्छ भन्छन् । हामी खादा, माला लगाउँदैनौँ । जनताको काममा विश्वास गर्छौँ, त्यसैले नेमकिपा देशभक्त पार्टी हो र जनताको पार्टी हो । देश भक्त र किसानहरुको पार्टी हो । 

अब तपाईं निर्वाचित भएपछि मात्रै खादा, माला लगाउने हो ? 

खादा, माला लगाउने जनताको जिम्मेवारी हो । जनताबाट निर्वाचित भएपछि देश र जनताको विषय संसदमा आवाज उठाउनु नै खादा, माला लगाउनु हो । अरु केही पर्दैन । 

यस क्षेत्रमा मुख्य समस्या के के रहेछन् ? 

मैले यसअघि नै उल्लेख गरिसकेँ । म निर्वाचित भएपछि संसदमा राष्ट्रिय मुद्दा उठाउने हो । संसदको सदस्यले एउटा कानुन बनाएर बजेट विनियोजन गरेपछि स्थानीय जनतालाई फाइदा हुने हो । संसदबाट निर्वाचित बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री हुन्छ । आफ्नो क्षेत्रकै मात्र कुरा गर्ने हो भने उसलाई किन प्रधानमन्त्री बनाउने ? त्यसैले संसद सदस्यले देशको बारेमा बोल्ने हो । अरु केही होइन । 

तर तपाईंले राष्ट्रिय मुद्दालाई मात्रै प्राथमिकता दिनुभयो । यहीँ भक्तपुर, दुवाकोटको बाटोको हालत यस्तो छ । अरु फोहरमैला अव्यवस्थित उस्तै छ, यता ध्यान दिनु पर्दैन ? 

दुवाकोटको बाटोको विषयमा हामीले धेरै पटक संसदमा आवाज उठाएका छौँ । यो दुवाकोटको बाटो किन धुलो र हिलो भनेर तीन पटक संसदमा बोलिसकेँ । हामीले यो सडकको हाकिमलाई पनि आग्रह गर्‍यौँ । गत असारमै यो सडक पिच हुन्छ भन्नुभएको थियो । अहिलेसम्म केही भएको छैन । अहिले पनि जोड दिन चाहन्छु, छिटोभन्दा छिटो यो सडक पिच हुनुपर्छ । तर, सांसद, पालिका अध्यक्ष र वडा अध्यक्षको कामको प्रकृति फरक हुन्छ । नेमकिपा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा एउटा दृष्टिकोणसहित आफ्नो विचार राख्ने पार्टी हो । 

नेमकिपा कुनै समय जुम्ला, दैलेखसहित उपत्यका बाहिर राम्रो उपस्थिति भएको पार्टी थियो । अहिले आएर भक्तपुरमा मात्रै सीमित हुन पुगेको छ । यो क्षेत्रमा के काम गर्नु भएकाले चुनाव जित्दै आउनु भएको छ ? 

नेपाली जनतामा गरिबी छ । गरिबी भएकाले कतिपय जिल्लाका हाम्रा साथीहरुलाई प्रतिक्रियावादी पार्टीका नेता कार्यकर्ताले फसाउँदा निर्वाचित हुनु भएन । देशमा जातजातिको भेदभाव बढ्दो छ । हामीले वर्ग र जातीय भेदभाव अन्त्यको कुरा गरेका छौँ । अर्को, कामदार र श्रमिक जनताको कुरा गरेका छौँ । हामीले भक्तपुर मात्रै होइन देशभरका जनताको सेवा गरेका हौँ । तर भक्तपुरका जनता अन्य ठाउँका भन्दा राजनीतिक रुपमा अझ अगाडि बढेको स्थिति छ । हामीले यसरी सबैलाई राजनीतिक रुपमा सचेत बनायौँ भने देशभर नेमकिपा उम्मेदवारको जित हुने छ । अहिले पनि ५८ जिल्लामा हाम्रा पार्टीका साथीहरुले उम्मेदवारी दिएका छन् । ती सबै निर्वाचित हुने विश्वास लिएका छौँ । 

यस क्षेत्रमा तपाईंको मुख्य प्रतिस्पर्धी को हुनुहुन्छ ? 

निर्वाचनमा उठेपछि सबै प्रतिस्पर्धी हुन् । संविधान र कानुनी व्यवस्था बमोजिम उम्मेदवारी दिएका सबैलाई प्रतिस्पर्धीको रुपमा लिनुपर्छ । त्यसैले मैले सबैलाई प्रतिस्पर्धीको रुपमा लिएको छु । 

तपाईंकै प्रतिस्पर्धी पार्टीका उम्मेदवारहरुले प्रेम सुवाललाई जिताएर के गर्नुहुन्छ ? संसदका अन्तिममा सिटमा बसेर नियमापत्ति गर्ने र विरोध गर्ने बाहेक अरु केही   छैन । उनी सरकारमा पनि जाँदैनन् । त्यसैले एक जना सांसदलाई चुनाव जिताएर के गर्नुहुन्छ भन्ने गरेका छन् नि ?  

आकाशमा अँध्यारो हुँदा एउटा चन्द्रमाले पृथ्वीभरि उज्यालो दिन्छ । समुद्रमा जाहाज आउँदा परबाट बत्ती बलेको हुन्छ । त्यसले जहाजलाई दिशा निर्देश गरेको हुन्छ । आज नेमकिपाले त्यही चन्द्रमाको जस्तै उज्यालो र समुद्रको जहाजको लाइट हाउस जस्तै काम गरेको छ । हामी संसदमा अगाडि बसौँ वा पछाडि बसौँ, हाम्रो एउटै उद्देश्य देश र जनताको सेवा गर्नु हो । हामी जहाँ भए पनि जनताको कुरा उठाउने हो । हामी सडकमा होस् वा संसदमा, त्यही आवाज उठाउँछौँ । जस्तै नागरिकता विधेयक, एमसीसी, एसपीपी सम्झौता सबै संसद र सडक दुवैमा उठाएर विरोध गरेका थियौँ ।  

तर, तपाईंको पार्टीले चन्द्रमा जस्तै देशैभर उज्यालो दिनुपर्नेमा भक्तपुरमा मात्रै दिएको छ नि ? 

हाम्रो पार्टीबाट देशैभर ५८ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । हामीलाई जनताले मत दिनुहुन्छ । हामीलाई मंसिर ४ गते विजयी गराउनु हुनेछ । नेमकिपाले उठाउँदै आएको आवाज र संघर्षलाई कदर गरेर मादल चिह्नमा मतदान गरेर विजयी गराउनु हुनेछ भन्नेमा पूर्ण विश्वास छ । 

***

यो चुनावले परिवर्तन ल्याउने विश्वास छ : सुनिल बासु 

भक्तपुर–१ का उम्मेदवार, नेकपा माओवादी केन्द्र (सत्ता गठबन्धन) 

चुनाव प्रचार र घरदैलो अभियान कसरी चलिरहेको छ ? 

हामीले कांग्रेस, माओवादीसहित गठबन्धन मिलेर घरदैलो अभियान चलाइरहेका छौँ । चुनावमा चार वटा मतपत्रमा मत दिनुपर्ने भएकाले मतदाता शिक्षा दिने काम भइरहेको छ । निर्वाचनबाट निर्वाचित भएपछि के के कामहरु गर्नुपर्ने हो, त्यसको लिष्टिङ गर्ने काम जारी छ ।

तपाईंको प्रतिस्पर्धी प्रेम सुवाललाई भेटेका थियौँ । उहाँले खादा, माला, अबिर केही लगाउनु भएको थिएन । तपाईंचाहिँ विजय र्‍यालीजस्तै अबिर, माला लगाउनु भएको छ, किन ? 

यो खादा, माला लगाउने हाम्रो रहर होइन । हामीलाई जनताले लगाइदिएका हुन् । हामीलाई विजयको शुभकामना स्वरुप लगाइ दिनु भएको हो । त्यसलाई हामीले अवमूल्यन गर्नु भएन । जनताले उत्साह स्वरुप लगाएकाले स्वीकार गरेका हौँ । 

यस क्षेत्रका मुख्य समस्या के के रहेछन् ? 

यस क्षेत्रको मुख्य समस्या भनेकै भौतिक पूर्वाधार र विकास निर्माण हो । लामो समय नेमकिपाका नेताहरुले यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुभयो । उहाँहरु संसदमा भए पनि भक्तपुरका जनताको आवाज बुलन्द गर्न सक्नुभएन । त्यस कारण अन्य क्षेत्रभन्दा भक्तपुर पछाडि पर्‍यो । चाँगुनारायणको लिङ्क रोड, नगरकोट र चाँगुनारायण क्षेत्रको सडक, पुलपुलेसाका कुरा छन् । अरु थुप्रै जनजीविकाका मुद्दालाई सम्बोधन गर्नुपर्ने छ । 

तपाईंले नेमकिपाले खासै काम गर्न सकेन भन्नुभयो । तर, नेमकिपा २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छ । जनताको काम नगरेको भए कसरी हरेक चुनावमा निर्वाचित हुन्छ ? 

विगतको चुनाव र अहिलेको चुनावमा फरक छ । यो राजनीतिक एजेण्डाको चुनाव हो । अहिले जे सोच्नु भएको छ, त्यस्तो हुँदैन । विगतमा चुनावी परिणाम जे जस्तो भए पनि अब त्यसकै निरन्तरता हुँदैन । जनताले परिवर्तन खोजीरहेका छन् । विगत २०४८ सालदेखि छानेको नेताले काम गर्न नसकेको भन्दै जनताले विकल्प खोजीरहेका छन् । 

तपाईंले जित्ने आधार के के हुन् ? 

मेरो जितको मुख्य आधार राजनीतिक एजेण्डा हो । राजनीतिक एजेण्डाले धेरै कुराको निर्धारण गर्छ । शान्ति र संविधानको रक्षा गर्दै समृद्धिको एजेण्डा उठाएका छौँ । यहाँका जनतालाई राष्ट्रिय रुपमा नीतिको पहुच पुर्‍याउन सकिएको छैन । सांसद भनेको नीति निर्माणमा पहुँच पुर्‍याउने थलो र राष्ट्रिय बजेटमा भूमिका खेल्ने हो । त्यसमा नेमकिपा पछाडि देखियो । यस्तै यो क्षेत्रमा पुस्तान्तरणको कुरा चलेको छ । म र अरु उम्मेदवार बीच पुस्तान्तरण हुने भएकाले चुनाव जित्ने बलियो आधार हो ।

गत वैशाखमा भएको स्थानीय तहको मत केलाउँदा सबै पार्टी मिल्दा पनि नेमकिपाभन्दा कमजोर नै देखिन्छन् नि ? 

स्थानीय चुनाव र संसदीय चुनाव फरक हुन् । स्थानीय चुनावमा गठबन्धनका केही कमजोरी थिए । हामीले बलियो गठबन्धन बानाउन सकेनौँ । त्यसलाई करेक्सन गरी सकेका छौँ । राजनीतिक रुपमा अब मत पनि करेक्सन हुने देखिएको छ । 

यस क्षेत्रलाई नेमकिपाको किल्ला भनिन्छ । यसलाई के यो पटक भत्काउनु हुन्छ ? 

कुनै अमुक पार्टीको किल्लाभन्दा पनि राजनीतिक एजेण्डा प्रधान भएकाले चुनाव जित्छु । राजनीतिक रुपमा जनताले परिवर्तन चाहेका छन् । यो क्षेत्रको चुनावी परिणाम यो पटक परिवर्तन हुने विश्वास छ । 

***

यस क्षेत्रको विकास र समृद्धिको बाधक नेमकिपा हो : नवराज गेलाल 

भक्तपुर–१ का उम्मेदवार, नेकपा एमाले

घरदैलो अभियान कसरी चलिरहेको छ ? 

चुनावी प्रचारप्रसार र घरदैलो अभियान जारी छ । अहिले जनताको घरमा जाने, मत माग्ने र आफ्ना कुरा राख्ने काम भइरहेको छ । 

कुन कुन मुद्दा लिएर जनताकहाँ पुग्नु भएको छ ? 

जनताको बीचमा जाँदा भक्तपुरका स्थानीय र राष्ट्रिय राजनीतिका समग्र मुद्दा लिएर गएका छौँ । हाम्रो मुलुक स्वतन्त्र र स्वायत्त हो । हामीलाई विदेशी हस्तक्षेप कदापी स्वीकार्य हुँदैन । नागरिकताको सन्दर्भमा पार्टी केन्द्रले लिएको अडानलाई लिएर जनताकोमा गएका छौँ । स्थानीय मुद्दाको सन्दर्भमा नेमकिपाले ४१ वर्ष यो क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्‍यो । भौतिक विकास र मानवीय विकासका सन्दर्भमा ठोस काम गर्न सकेन । दीर्घकालीन रुपमा के योजना लिने भन्ने केही छैन । उहाँहरुको खाली परम्परागत, र्‍याडिकल कुरामात्रै छन् ।

यस क्षेत्रलाई पर्यटनको हब बनाउनु पर्छ । भक्तपुर दरबार, चाँगुनारायण र नगरकोट क्षेत्रमा केही दिन आन्दसँग रिलिफ गराउने वातावरण बनाउनुपर्ने छ । चाँगुनारायणबाट नगरकोटसम्म हाइकिङ रुट, मेलम्ची आयोजनाको खानेपानी यस क्षेत्रमा प्रवेश गराउने र एक घर, एक धाराको व्यवस्था गर्नुपर्ने छ । भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन गर्ने योजना छ । मानव अंग अस्पतालका लागि धौखेलमा जग्गा प्राप्त भएकाले त्यस कामलाई तीव्रता दिने र वीर अस्पताल प्रतिष्ठानको जग्गा प्राप्तिको कामलाई तीव्रता दिने योजना छ । 

नेमकिपाले भक्तपुरमा कामै गरेको छैन भन्नुहुन्छ । तर गत वैशाखमा भएको स्थानीय चुनावमा सबै दल मिल्दा पनि नेमकिपा भारी रहेछ त ? 

स्थानीय चुनावमात्रै आधार हुँदैन । स्थानीय र संसदीय चुनाव फरक हो । स्थानीय चुनाव पालिकामा सीमित चुनाव हो । संसदीय चुनाव राष्ट्रिय सरोकारका मुद्दासँग केन्द्रित हुन्छ । स्थानीय चुनावलाई मात्रै देखाएर नेमकिपा बलियो छ भन्न मिल्दैन । 

विगत २०४८ सालदेखि लागातार कसरी नेमकिपा विजयी भयो ?  

नेमकिपाले लगातार जितेकाले यो क्षेत्र पछाडि पर्‍यो । उसले जितेकै कारण विकास निर्माण भएन । भक्तपुरकै निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले जित्दा सिंहदरवारसँग जोडिएकाले धेरै विकास हुन पायो । राष्ट्रिय पहुँचमा जोडियो । यस क्षेत्र कतै नजोडिएकाले पछाडि पर्‍यो । 

तपाईंले चुनाव जित्दै छु भन्ने आधार के हो ? 

हाम्रो पार्टीको आफ्नै १६ हजारभन्दा बढी मत छ । कांग्रेस र एकीकृत समाजवादीको उम्मेदवार छैन । गठबन्धनबाट माओवादीको उम्मेदवार छ । अरु बुद्धिजीवी, नागरिक समाज, पढे लेखेका विद्वानहरुले नेमकिपा यस क्षेत्रको विकास र समृद्धिको बाधक हो, यस कारण बोलाइबोलाइ हामीलाई भोट दिन्छु भन्नु भएको छ । मैले जित्ने आधार जनताको जनमत हो । 

त्यसो भए भक्तपुरको विकास र निर्माणको बाधक नेमकिपा रहेछ ? 

त्यो सत्य हो । यस क्षेत्रको विकास र समृद्धिको बाधक नेमकिपा नै हो, त्यो ठोकुवाका साथ भन्न सक्छु । हामी नेमकिपाको किल्ला भत्काउनेगरी अघि बढेका छौँ । तपाईंले हेर्नुहोला । अहिलेको मत परिणाम नसोचेको हुन्छ । काठमाडौँमा बालेन र धरानमा हर्कले चुनाव जित्छ भन्ने कसैले कल्पना गरेका थिए ? जित्दै आएका अरु पार्टीले जित्छन् भन्ने थियो । तर सबैको अनुमान फेल भयो । अब त्यसरी नै यो क्षेत्रबाट नेमकिपा बिदा हुँदैछ । यहाँका जनताले पनि परिवर्तन चाहेका छन् । नेमकिपा विकास र समृद्धिको बाधक बनेको जनतालाई महसुस भएको छ । त्यस कारण यो क्षेत्रबाट नेमकिपालाई बिदा गर्नुपर्छ भन्ने जनताको जोडदार माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप