शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोट हाल्न जाँदा मतदातालाई परिचय पत्र अनिवार्य बोक्न आग्रह

मतदान केन्द्रबाट बाहिर निस्किएपछि घरतिर लाग्नुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया
शनिबार, ०३ मङ्सिर २०७९, १४ : ३८
शनिबार, ०३ मङ्सिर २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने बताएका हुन् । 

उनले मतदाताहरूले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तुहरू बोक्न नहुने बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरू मतदान केन्द्रमा लिएर गए सामग्रीहरू जफत गर्ने चेतावनी दिए । 

उनले भने, ‘मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचय पत्र लिएर जानुहोस् । यदि मतदाता परिचय पत्र नभए आयोगले तोके बमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै परिचय पत्र लिएर जानुहोस् । तर मोबाइल, कुनै क्यामेरा, सलाई, लाइटर र यस्तै कुनै पनि निषेधित वस्तुहरू साथमा लिएर नजानुहोस् । कथम् कदाचित मोबाइल साथमै लिएर जानुभएको भए मतदान केन्द्र नजिकैको कुनै विश्वासिलो व्यक्ति वा राख्ने ठाउँमा राखेर जानुहोस्, त्यो पनि भएन भने मतदान केन्द्रमा प्रवेश गर्ने बिन्दुमा कुनै तोकिएको ठाउँ हुनेछ, त्यो ठाउँमा राख्नुहोस्, म झुक्किएँ भनेर मतदान केन्द्रमा मोबाइल लिएर जानुभयो र मोबाइलबाट मतपत्रको फोटो खिच्न चाहनुभयो भने त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले तपाईको निगरानी गरिरहनुभएको हुनेछ । तपाईको सामान जफत गर्छन् । कानुन बमोजिम कारबाही पनि हुन्छ ।’

उनले थपे, ‘आफ्नो बाहेक अरूको नाममा मत नहाल्नुस् । दोहोर्‍याएर मत हाल्ने प्रयास पनि नगर्नुस् । आफ्नो मत अरूलाई हाल्न पनि नलगाउनुस् । मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्नुस्, मतदान गर्दा पनि बदर नहुने गरी सही ढंगबाट मतदान गर्नुहोस् । मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्नुहोस् । मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्नुहोस् । भिडभाड नजानुहोस् । कुनै पनि तर्क वितर्क नगर्नुहोस् । चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिन्छ । मतदान केन्द्रबाट बाहिर निस्किएपछि आफ्नो वासस्थानतर्फ लाग्नुस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भिडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराए । उनले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिर निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप