शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार र निजी क्षेत्रको फरक धारणा : अर्थतन्त्र सुधारोन्मुख कि संकट झन् ​गहिरिँदै ?

बिहीबार, १५ मङ्सिर २०७९, १७ : ५७
बिहीबार, १५ मङ्सिर २०७९

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तथ्यांक सेलाउन नपाउँदै नेपाल उद्योग वाणिज्य महासंघले भयावह स्थिति देखाएको छ । महासंघले संकलन गरेको सर्वेक्षण तथ्यांक अनुसार यतिबेला मुलुकको अर्थतन्त्र भयावह स्थितिमा छ । 

महासंघले हाल अर्थतन्त्रका सबैजसो सूचक खुम्चिएको तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले जारी गरेको ३ महिनाको विवरण अनुसार देशको सोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । यो विगत १४ महिनायता पहिलोपटक बचतमा हो । यस्तै, विदेशी मुद्राको सञ्चिती समेत बढेको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार ९.६ महिनाको वस्तु आयात धान्न सक्नेगरी विदेशी मुद्राको सञ्चिति छ । यसअघि, साढे ६ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्ने स्थिति थियो ।

केन्द्रीय बैंकले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा देखाइरहँदा निजी क्षेत्रले भने सबैजसो सूचक ओरालो रहेको देखाएको छ । यसअनुसार केन्द्रीय बैंक र महासंघले जारी गरेको तथ्यांक विपरीत अवस्थामा छन् । महासंघले आन्तरिक सर्वेक्षणलाई उद्धृत गर्दै १ वर्षमा विदेशी मुद्राको सञ्चिति १७ प्रतिशतले घटेको देखाएको छ । जबकि, केन्द्रीय बैंकको तथ्यांकले असार मसान्तको तुलनामा २.५ प्रतिशत विदेशी मुद्राको सञ्चिति बढेको देखाएको छ ।

यस्तै, नियन्त्रणमूखी नीतिका कारण पछिल्लो ८ महिनामा करिब ६० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको महासंघको भनाइ छ । यसैगरी, आन्तरिक सर्वेक्षणको रिपोर्टअनुसार सिमेन्ट, फलामे छड लगायत निर्माण सामग्री उत्पादन गर्ने उद्योग ३० प्रतिशत क्षमतामा चलिहरको महासंघको भनाई छ । दैनिक उपभोग्य वस्तुको खपत १८ प्रतिशत, अटोमोबाइलको कारोबार ७५ प्रतिशत र सेवा क्षेत्रको व्यापार ३० प्रतिशतले खुम्चिएको महासंघले जनाएको छ ।

यस्तै, देशभरका होटलहरूको अकुपेन्सी ४० प्रतिशत हाराहारी रहेको तथा रेष्टुरेण्टमा ग्राहक संख्या पनि २० प्रतिशत हाराहारी मात्रै रहेको तथ्यांक प्रस्तुत गरिएको छ । यस्तै, घरजग्गाको कारोबार ४८ प्रतिशत खुम्चिँदा सेयर बजारको कारोबार ४० प्रतिशतले र राजश्व संकलन १९ प्रतिशतले खुम्चिएको देखाइएको छ । 

निजी क्षेत्रलाई राजनीतिक अस्थिरताको डर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिमाणपछि नेपालको निजी क्षेत्र झस्किएको छ । मंसिर ४ गते सम्पन्न भएको संघ र प्रदेशको निर्वाचनमा कुनै पनि दलले सरकार बनाउन पुग्ने गरी स्पष्ट बहुमत नल्याएपछि अस्थिरताको डरले निजी क्षेत्र झस्किएको हो । महासंघले संस्थागत रूपमै नेपालको अर्थतन्त्रले थप राजनीतिक अस्थीरता भोग्न नसक्ने बताएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि नयाँ सरकार बन्ने तयारी पनि हुँदैछ, दलहरू जोड घटाउमा लागेका छन्, सबै राजनीतिक दललगायत सरोकारवालाहरूलाई अवगत गराउन चाहन्छौं कि, हामी सचेत भएर सुधारमा लागेनौँ र अर्थतन्त्र जोगाएनौँ भने मुलुक गम्भीर दुर्घटनामा जानेछ, अर्थतन्त्रले अब कुनै पनि प्रकारको राजनीतिक एवं नीतिगत अस्थीरता थेग्न सक्दैन,’ महासंघले भनेको छ ।

यसले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघ अस्थीरताको डरमा बसेको देखिन्छ । महासंघले देशको आर्थिक परिसूचक नकरात्मक अवस्थामा रहेको देखाउँदै यस्तो अवस्थामा राजनीतिक अस्थिरता थेग्न नसक्ने जनाएको हो । अस्थिर सरकार बने र नीतिगत अस्थिरता देखिएमा देशको अर्थतन्त्र झनै संकटमा पर्ने महासंघको भनाइ छ ।

के भन्छन् सरोकारवाला ?

अर्थशास्त्री केशव आचार्य बाह्य पक्ष बलियो भएकोले शोधनान्तर स्थिति बचतमा आएको नभइ आयात रोक्दा सुधारिएको बताउँछन् । रुस–युक्रेन युद्धका कारण विश्वभर महँगी बढ्दा त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको र त्यसलाई सन्तुलन गर्न सरकारले आयात प्रतिबन्ध लगाएको आचार्यको भनाइ छ । 

‘अहिले सुधारिएर १२ अर्ब रुपैयाँ बचतमा पुगेको सोधानान्तर स्थिति आयात खुलाएको केही महिनामै पुनः घाटामा जान सक्छ,’ आचार्य भन्छन् ।

सोधानान्तर स्थिति बचतमा जानुमा १५० सीसी माथिका मोटरसाइकल र महँगा चार पांग्रे सवारीको आयात रोकिनु नै मूख्य कारण रहेको उनको भनाइ छ । तर, निजी क्षेत्रले भनेजस्तो १ वर्षमा १७ प्रतिशत विदेशी मुद्राको सञ्चिति घटेको विषयमा भने आफू विश्वस्त नरहेको उनले बताए । 

‘केन्द्रीय बैंकले साढे २ प्रतिशतले बढेको देखाएको छ तर, निजी क्षेत्र १ वर्षमा १७ प्रतिशतले घटेको देखाउँछ, केन्द्रीय बैंकले कसरी र कुन–कुन क्षेत्रमा सुधार आउँदा विदेशी मुद्राको सञ्चिती बढ्यो भनेर देखाएको छ तर निजी क्षेत्रले कसरी घट्यो भनेर देखाएको छैन,’ आचार्य भन्छन् ।

यतिबेला निजी क्षेत्रले सस्तो ब्याज दरमा कर्जा र चालू पूँजी कर्जामा नियन्त्रण नगर्न राष्ट्र बैंकलाई दबाब दिइरहेको छ । यही दबाबलाई थप बढाउनका लागि नकरात्मक तथ्यांक देखाएको भएपनि राष्ट्र बैंक सही बाटोमा रहेको आचार्यको भनाई छ ।

‘निजी क्षेत्रले विरोध गरेपनि राष्ट्र बैंकको बाटो ठिक छ, आयात रोक्दा तत्काललाई रोजगारी घट्ने र कूल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि रोकिएपछि दीर्घकालीन रूपमा अर्थतन्त्र संकटमा जानबाट रोकिन्छ,’ उनले थपे ।

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) कार्यकारी निर्देशक डा. विश्वास गौचनले सरकारले र निजी क्षेत्रले प्रस्तुत गरेको तथ्यांक नै सही भएको बताए । उनले सरकारले पछिल्लो केही महिनाको अवस्था हेरेर तथ्यांक सार्वजनिक गरेको र निजी क्षेत्रले आफूलाई परेको मर्कालाई आधार मानेर तथ्यांक सार्वजनिक गरेको उनले बताए । 

‘सरकार र निजी क्षेत्रले जारी गरेको तथ्यांक सही छ, आयात रोकेपछि क्षणिकरूपमा सोधानान्तर स्थिति बढेको छ तर, निजी क्षेत्र पीडामा परेको छ,’ उनले भने । आयात प्रतिबन्धपछि निजी क्षेत्रको व्यापार प्रभावित बनेकाले उनीहरूलाई खुलाउन लागिपरिरहेको र अर्थतन्त्रमा संकटमा जानबाट रोक्न केन्द्रीय बैंकले अहिलेसम्मकै कडा मौद्रिक नीति ल्याएको गौचनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप