बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का १३ जिल्लामा एमाले बन्यो पहिलो (तथ्यांकसहित)

माओवादीभन्दा राप्रपा चार जिल्लामा अगाडि
शुक्रबार, १६ मङ्सिर २०७९, ११ : ०३
शुक्रबार, १६ मङ्सिर २०७९

प्रदेश १ का १४ जिल्ला​मध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ ।  सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।  मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो  ।

नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा मनग्य मत ल्याएको छ । सो पार्टीले झापामा ७७ हजार ४४४, मोरङमा ५३ हजार १८६, सुनसरीमा ४६ हजार ११२ र उदयपुरमा ११ हजार १४३ र इलाममा ९ हजार १३७ मत ल्याएको छ ।

प्रदेश १ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुँदा माओवादी केन्द्र चौथोमा पुगेको छ । प्रतिनिधिसभातर्फको मतगणनामा पहिलो पार्टी एमालेले १४ वटै जिल्लाबाट ६ लाख ४२ हजार ३४४ मत ल्याउँदा दोस्रोमा रहेको कांग्रेसले ५ लाख ५५ हजार २२७, तेस्रो रास्वपाले २ लाख १४ हजार ८१०, चौथो माओवादीले १ लाख ८८ हजार ६८२, पाँचौंमा राप्रपाले १ लाख ३० हजार ४०३, छैटौंमा जसपाले ५३ हजार २३९ र सातौंमा जनमत पार्टीले १८ हजार ६१४ मत ल्याएको छ ।

राप्रपाले झापा, मोरङ र सुनसरीमा मनग्य मत ल्याउँदा पहाडी जिल्लामा भने केही थोरै मत ल्याएको छ । राप्रपाले झापामा ४६ हजार ४६६, मोरङमा ४० हजार ८२२ र सुनसरीमा २६ हजार ३०३ मत ल्याएको छ । जसपाले भने मोरङ र सुनसरीमा क्रमशः १७ हजार २०७ र १५ हजार २५६ मत ल्याएको छ ।

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले भने झापा, मोरङ र सुनसरीमा केही हजार मत ल्याउँदा पहाडी जिल्लामा भने केही सय मतमात्रै ल्याउन सकेको छ ।

प्रदेशको समानुपातिकतर्फ भने राप्रपा तेस्रो

प्रतिनिधिसभामा तेस्रो स्थान कायम गरेको माओवादी केन्द्रका लागि प्रदेशको समानुपातिकमा भने राप्रपाले उछिनेको छ । प्रदेशसभातर्फ पहिलो स्थान एमाले, दोस्रो कांग्रेस, तेस्रो राप्रपा, चौथो माओवादी, पाँचौं जसपा र छैटौंमा नेकपा एकीकृत समाजवादी देखिएका छन् ।

सुनसरीको क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको छ । बाँकीको मतगणना सकिएको छ । सोही अनुसार एमालेले प्रदेशतर्फको समानुपातिक मतमा भने एमाले १२ जिल्लामा अगाडि देखिएको छ । कांग्रेस मोरङसँगै ओखलढुंगामा पनि प्रदेशतर्फको समानुपातिकमा पहिलो बनेको छ ।

मोरङमा कांग्रेसले १ लाख ३६ हजार ७७८ मत पाउँदा एमालेले भने १ लाख ३१ हजार ७२४ मत पाएको छ । यस्तै ओखलढुंगामा कांग्रेसले २५ हजार ७९ मत पाउँदा एमालेले २४ हजार ७२८ मत पाएको छ । प्रदेशको समानुपातिकमा राप्रपाले झापा, मोरङ र सुनसरीमा माओवादीलाई जितेको छ । सोही मतका आधारमा ऊ प्रदेशको तेस्रो पार्टी बन्न सफल भएको हो । यस्तै नेकपा एकीकृत समाजवादीले भने अन्य जिल्लाको तुलनामा इलाम, मोरङ र उदयपुरमा उल्लेख्य मत पाएको छ ।

हालसम्मको प्रदेशतर्फको समानुपातिक मतमा एमाले ६ लाख ३२ हजार ६९५, कांग्रेस ५ लाख ३२ हजार ८४५, माओवादीले १ लाख ७७ हजार ७२१, राप्रपाले १ लाख ९१ हजार ७७१, जसपाले ५९ हजार ४८५ र नेकपा एसले ५४ हजार ८३१ मत पाएको छ ।

एमाले, कांग्रेस र माओवादीलाई संघमा बढी, प्रदेशमा कम मत

निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले, कांग्रेस र माओवादीलाई प्रदेशमा भन्दा संघमा बढी मत झरेको छ । प्रदेश १ मा गणना भएको समानुपातिक मतमध्ये संघमा एमालेले ६ लाख ४२ हजार ३४ मत पाउँदा प्रदेशमा त्यो भन्दा ९ हजार ३३९ कम मत अर्थात् ६ लाख ३२ हजार ६९५ मात्रै मत पाएको हो । यस्तै नेपाली कांग्रेसले संघमा ५ लाख ५५ हजार २२७ मत पाउँदा प्रदेशमा त्यो भन्दा २२ हजार ३८२ कम अर्थात् ५ लाख ३२ हजार ८४५ मत पाएको छ ।

माओवादी केन्द्रले पनि प्रदेशमा भन्दा संघमा १० हजार ९६१ बढी मत पाएको छ । उसले संघमा १ लाख ८८ हजार ६८२ मत पाउँदा प्रदेशमा भने १ लाख ७७ हजार ७२१ मत पाएको छ । राप्रपा र जसपाले भने संघमा भन्दा प्रदेशमा बढी मत पाएका छन् । राप्रपाले संघमा भन्दा ६१ हजार ३६८ र जसपाले संघमा भन्दा प्रदेशमा ६ हजार २४६ बढी मत पाएको छ ।

राप्रपाले संघमा १ लाख ३० हजार ४०३ मत पाउँदा प्रदेशमा १ लाख ९१ हजार ७७१ मत पाएको छ । यस्तै जसपाले संघमा ५३ हजार २३९ मत पाउँदा प्रदेशमा भने ५९ हजार ४८५ मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप