माओवादी नेता राईले प्रचण्डलाई भने– ‘तपाईंले मलाई बधाई दिन पाउनु भएन, ठीकै छ’
माओवादी केन्द्रका नेता अजम्बर काङ्माङ राईले आफू समानुपातिक बन्द सूचीको आदिवासी जनजाति कोटामा १ नम्बरमा रहेर पनि सांसद नबनेकोमा सामाजिक संजालमा व्यंग्यात्मक तर भावुक 'स्टाटस' पोष्ट गरेका छन् । ‘तपाईंले मलाई बधाई दिन पाउनु भएन, ठीकै छ,’ काङ्माङले माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोर्खा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’
उनले लेखेको स्टाटस जस्ताको तस्तै:
क.अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
हार्दिक बधाई !
नेकपा (माओवादी केन्द्र) ले हिंजो निर्वाचन आयोगमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका समानुपातिकतर्फका सदस्यहरूको नामावली बुझायो । निर्धारित समय सीमाभित्र पठाइएका सदस्यहरू कानुनतः निर्वाचित भएको घोषणा आयोगले गर्छ नै । प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा म अजम्बर राई काङ्माङ पनि अटाएकै थिएँ । हिंजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ । पठाइने नामको सूची बनाउन छलफलरत अध्यक्षलाई भेट्दा सांसद बनाइ माग्न आएको भान र दवाव पर्ला भनेर आजभन्दा अगाडि भेट्न गइनँ ।
आज चाहिँ जानैपर्छ भन्ने लाग्यो र क.समर काफ्लेसँग बिहानै खुमलटार गयौं । शालिन र न्यानो भेटघाट भयो र अध्यक्षले, ‘अनेकौं प्रयत्नका बाबजुद तपाईंलाई यसपटक सांसद बनाउन सकिएन । सानो मन नगर्नुहोला’ भन्नुभयो । नाङ्गो पाइतालाले आगोको कोइला कुल्चदै हिँड्न अभ्यस्त मैले भनेँ- ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थें ।’ उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनुभयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउँदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ । हत्केला पनि सुरक्षित अनि मेरो मन पनि शान्त र स्थिर भयो ।
बालहठझैँ मैले मेरा आक्र‍‍ोस पोख्दै रुँदै कराउँदै गर्नुपर्ने, मैले त्यस्तो नगरि परिपक्व राजनीतिज्ञको रुपमा प्रस्तुत भएँ । ओहो ! नयनाग्निजस्ता प्रचण्ड चक्षु त नयानाश्रुमा परिणत भइसकेको देखेँ । अब सम्हालिने पालो मेरो थियो । ‘तपाईंले मलाई बधाई दिन पाउनुभएन । ठीकै छ । गोर्खा निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’ बिदाईका कसिलो हात मिलाएर बैठक कक्षको ठेला नाघेर मुल गेटमा कुन लयमा फर्किसकेछु, फर्किसकेछौं, थाहा भएन । ‘कता जाने अब !’ समर काफ्लेको प्रश्नले झस्किएँ अजम्बरेका तपश्वीजस्ता जोर आँखा पनि कहाँ ओभानो रहेछ छ त ?
मैले भुइँमा फालेको झरझराउँदो आगोको कोइलाले बैठक कक्षको कार्पेट पो सल्किदै छ कि ? हेर्न अनुरोध छ है, यो तस्बिर खिचिदिनुहुने प्रिय साथी रमेश मल्लजी । परिस्थितिले भन्यो, ‘माओवादीमा तेरो सेन्ट अप परीक्षा पाइला पाइलामा अझै छ अजम्बरे !’
मन न हो, भुपाल राई कृत ‘नुमाफुङ’ सिनेमाको गीतांश सम्झेँ
‘....पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा.....!’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण