सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

आइतबार, २५ मङ्सिर २०७९, १८ : ०३
आइतबार, २५ मङ्सिर २०७९

गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् ।   पाल्पाबाट बुटवल गएकी सुकमाया छोरालाई पढाउन गुल्मी आइन् । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उनी भन्छिन्, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ”, उनले भनिन् । शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनले बताइन् । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाको भनाइ छ । 

गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा थिइन् । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनी अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताइन् ।

अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आएका छन् । अटिजम मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ । 

रुरुक्षेत्रका अगुवा स्थानीय समाजसेवीको पहलमा विसं २०७४ अटिजम पाठशाला नेपाल स्थापना भएको थियो । पाठशालामा अहिले १४ जना अटिजम भएका बालबालिका सिकाइका लागि आउँछन् । यसअघि लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको कूल रु ६० लाख सहयोगमा पाँच कोठाको भवन पाठशालाका लागि बनेको छ । पाठशालामा शिक्षक नभएपछि तीनजना अभिभावकले एकापसमा बालबालिकालाई सिकाउँदै आएका छन् । उनीहरूलाई पाठशालाले स्वयंसेवक शिक्षक भनेको छ । 

अटिजम पाठशाला नेपालकी अध्यक्ष अमृता भण्डारी पाठशालामा शौचालयको अभाव, भान्साकोठाको अभाव र शिक्षक नहुँदा समस्या झेल्नुपरेको बताउँछिन् । “अगुवा समाजसेवीको पहलमा हामीले अटिजम पाठशाला खोलेपछि त्यस्ता बालबालिका र उनका अभिभावकलाई राहत भएको छ”, उनी भन्छिन्, “राज्य तहबाट कुनै शिक्षक नहुँदा हामीले निकै सास्ती खेप्नुपरेको छ ।”

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरि ज्ञवालीले गाउँपालिकाका तर्फबाट पाठशालामा सहयोग रहने बताए । उनले छिट्टै शिक्षक कर्मचारीको अभाव नहुने गरी व्यवस्थापन गर्ने र माथिल्लो निकायमा पनि शिक्षकका लागि पहल गर्ने बताएका   छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप