शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती महिलामा देखिन सक्ने शारीरिक र मानसिक समस्यामाथि विज्ञको सुझाव

बिहीबार, २९ मङ्सिर २०७९, १५ : १५
बिहीबार, २९ मङ्सिर २०७९

काठमाडौंकी ३१ वर्षीया सरिता अर्याल गर्भवती भएको सात महिना भयो । सुरुको तीन महिना उनलाई खाना रुच्दैनथ्यो, खाना खाएपछि धेरैजसो बान्ता हुने गर्थ्यो, कहिलेकाहीँ मनमा अनावश्यक कुरा खेलेर तनाव पनि हुने गर्थ्यो ।

गर्भवती भएको ६ महिनापछि फलोअपमा जाँदा उनलाई सुगर देखियो । त्यसपछि उनलाई झन् तनाव थपियो । उनले डाक्टरको सल्लाहअनुसार बिहान थोरै सादा खाना, दिउँसो फलफूल र एक कप दूध, बेलुका रोटी, हरेक दिनजसो दुई चोक्टा खसी वा कुखुराको मासु खान थालिन् । डाक्टरको सल्लाह र परामर्श अनुसार चलेपछि भने आफ्नो तनाव कम भएको उनी बताउँछिन् ।

गर्भवती अवस्थामा महिलाको मानसिक र शारीरिक अवस्थामा के कस्ता परिवर्तन आउन सक्लान् ? मनोविद् गंगा पाठकका अनुसार, गर्भवती महिलामा प्रेसर, थाइराइड, डाइबिटिजजस्ता समस्या देखिन्छन् । बच्चालाई अटिजम हुने समस्या आउन समेत हुन सक्छ । ‘गर्भवती महिलामा हर्मोन परिवर्तन हुने गर्छ । जस कारण महिलाको शारीरिक र मानसिक अवस्थामा असर देखिन थाल्छ,’ मनोविद् पाठक भन्छिन्, ‘हर्मोन परिवर्तन हुँदा गर्भवती महिलालाई रुन मन लाग्ने, एक्लै बस्न मन लाग्ने, चिन्तित हुने, दुःखपीडा अनुभूति गर्ने, अनावश्यक कुरा सोचेर बस्ने आदि समस्या आउँछन् ।’

उनका अनुसार, प्रायः गर्भवती महिलाले शारीरिक अवस्थामा पर्ने अप्ठेराका बारेमा मात्र सोचेका हुन्छन्, मानसिक रूपमा सोच्दैनन् । मानसिक समस्या भन्नाले बच्चा कस्तो होला, के होला, नर्मल डेलिभरी गर्न सक्छु कि सक्दिनँ भन्ने चिन्ता गर्भवती महिलाले लिने गर्छन् ।

यस्तै, गर्भवती अवस्थामा आमाको मानसिक स्थितिले बच्चाको शारीरिक र मानसिक विकासमा समस्या हुने गर्छ । जन्म भइसकेपछि बच्चाले पनि सानो–सानो कुरामा चिन्ता लिने, डराउने हुन सक्छ ।

गर्भवती महिलाले धेरै सोच्दा बच्चाको मस्तिष्कमा समेत पछि गएर समस्या आउने गर्छ । मनोविद् पाठक भन्छिन्, ‘घर–परिवारका सदस्य, अझ श्रीमानले साथ–सहयोग दिएका छैनन्, सँगै बसेर कुरा गरेका छैनन्, भने झन् धेरै मानसिक तनाव बढ्दै जान्छ ।’

उनका अनुसार, मानसिक समस्याबाट बच्न गर्भवती महिलाले सकारात्मक सोच लिनुपर्छ । यसका लागि विज्ञको निर्देशनमा योगा र व्यायाम गर्ने, आफूलाई व्यस्त राख्न साथीहरूलाई भेट्ने, कुराकानी गर्ने गर्नुपर्छ । धेरै नकारात्मक कुरा सोच्ने बानीले निकै समस्या देखिन्छ ।

खानपान

डा. कृतिपाल सुवेदीका अनुसार, गर्भवती महिलालाई सुरुको तीन महिना जे खाए पनि बान्ता हुने समस्या हुन्छ । गर्भवती महिलालाई कार्बोहाइड्रेड र प्रोटिन आवश्यक पर्छ, यसको कमी हुँदा विभिन्न समस्या आउन सक्छन् । त्यसैले प्रोटिनयुक्त खानेकुरा (जस्तो : गेडागुडी, हरियो सागपात आदि) खानुपर्छ । बान्ता धेरै हुन्छ भने बान्ता रोक्ने औषधि खाएर भए पनि खानेकुरा खानुपर्छ । सुरुको अवस्थामा पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

‘तीन महिनापछि बान्ता हुन रोकिन सक्छ, त्यसपछि गेडागुडी र सागसब्जीमा बढी ध्यान दिनुपर्छ । थोरैथोरै मात्रामा सबै खानेकुरा खानुपर्छ,’ डा. सुवेदी भन्छन्, ‘गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि समस्या देखिएन भने यो खाने त्यो नखाने भन्ने केही छैन । गर्भवती महिलाले विशेष ध्यान दिने भनेको प्रोटिनयुक्त खानेकुरामै हो । कफी, चुरोट रक्सी आदि खानै हुँदैन ।’

बच्चाको विकासमा आइरन लगायत भिटामिन आवश्यक हुन्छ । यसका लागि विभिन्न किसिमको आइरन चक्की, माछामासु लगायत खान सकिन्छ ।

नियमित चेकजाँच

गर्भवती महिलाको स्वास्थ्य अवस्था नियमित रूपमा चेकजाँच गराउनुपर्छ । कति गर्भवती महिलाले भिडियो एक्स–रे मात्र गर्ने, डाक्टरकहाँ नजाने, दिएको आइरन चक्की नखाने गर्छन् । जसले गर्दा स्वास्थ्य अवस्था कमजोर हुन्छ । ‘आफ्नो मात्र नभएर बच्चाको स्वास्थ्य अवस्था कस्तो छ, कति विकास भएको छ भनेर राम्रोसँग ख्याल गर्नुपर्छ,’ डा. सुवेदी भन्छन्, ‘गर्भवती महिलामा कुनै समस्या छैन भने पनि तीन महिनामा एकपटक नियमित चेकजाँच आवश्य हुन्छ ।’

गर्भवती भएको ६ महिनापछि भने एक–एक महिनामै डाक्टरसँग सल्लाह लिनुपर्छ । गर्भवती महिलालाई आरामको आवश्यकता पर्छ, त्यसैले धेरै भारी सामान नउचाल्ने, खुट्टा झुन्डाएर नबस्ने, मानसिक तनाव नलिने गर्नुपर्छ । आफूलाई सहज हुने खालको शारीरिक व्यायाम पनि गर्न सकिन्छ, कसरी सुत्दा आफूलाई सहज हुन्छ भन्नेमा विशेष ध्यान दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप