कालिका माविको होस्टेल सञ्चालनमा आर्थिक स्रोतको कमी
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–२, पिपल धाराका विशाल थापा असहाय हुन् । बुबाआमा नभएपछि बहिनीसहित जेठा बुबाको घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गरिरहेका उनी अध्ययन गर्दा लाग्ने खर्चको समस्या भएपछि स्थानीय समाजसेवी महेन्द्र थापाको समन्वयमा गुल्मीबाट बुटवल झरे ।
यहाँ आएपछि उनी कालिका माविमा भर्ना भए । सोही विद्यालयले असहाय, द्वन्द्व पीडित र अनाथका लागि सञ्चालन गरेको होस्टेलमा बस्ने अवसर पनि उनले पाए । हाल विशाल कक्षा ६ मा र उनकी बहिनी कक्षा ४ अध्ययनरत छन् । विद्यालयले खाने, बस्ने, कपडा देखि औषधि उपचार समेत निःशुल्क गरेपछि विशाल प्रसन्न छन् ।
रुकुम पूर्वका भक्ति दमाई पनि कालिका माविको होस्टेलमा बसेका छन् । द्वन्द्वमा बुबाको मृत्यु भएपछि आर्थिक अवस्था कमजोर रहेका १२ वर्षीय दमाईलाई प्रमुख जिल्ला अधिकारीको सिफारिसमा बुटवलको कालिका माविमा ल्याइएको हो । उनी अहिले कक्षा ५ मा पढ्छन् ।

सामुदायिक विद्यालयमा नमुना विद्यालयको पहिचान बनाएको कालिका माविको होस्टेलमा द्वन्द्व पीडित, असहाय तथा अनाथ गरी अहिले २२ विद्यार्थी छन् । उनीहरू सबैलाई विद्यालयले पालनपोषण देखि औषधि उपचारको व्यवस्थासमेत गरेको वार्डेन तथा शिक्षक राम बहादुर जिसीले रातोपाटीलाई बताए ।
विद्यालयका प्राचार्य दिनेश थापाले विपन्न तथा अनाथका लागि निःशुल्क होस्टेलको व्यवस्था अरुले नगरेका कारण आफूहरूले गरेको बताए । उनले यहाँ आउने त्यस्ता सबै विद्यार्थी प्रमुख जिल्ला अधिकारीको रोहवरमा आउनुपर्ने बताए ।

बुटवलको कालिका माध्यमिक विद्यालय र कमजोर शैक्षिक अवस्थामा रहेको मानव ज्ञान माध्यमिक विद्यालय मर्ज भएर २०७५ सालमा कालिका मानव ज्ञान मावि भएको हो । अहिले विद्यालयमा ८ हजार विद्यार्थी छन् ।
सामुदायिक विद्यालयतर्फ जिल्लामै सबैभन्दा बढी विद्यार्थी भर्ना गरी सोही अनुरूप उत्तीर्ण समेत गराउँदै आएको कालिका माविको शैक्षिक गुणस्तर निकै राम्रो भएको रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी तथा स्थानीयवासी टेक बहादुर थापाले बताए ।
सामुदायिक विद्यालय निःशुल्क होस्टेल सञ्चालन गर्ने उद्देश्यले २ सय जनासम्म विद्यार्थीलाई खाना, बस्न, पोसाक, अध्ययनका लागि भौतिक पूर्वाधारको व्यवस्था कालिका माविले गरेको छ । यद्यपि यसका लागि आर्थिक स्रोतको अभाव देखिएको प्राचार्य दिनेश थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण