आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संसद सचिवालयले आयोगसँग माग्यो जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण

शुक्रबार, ०१ पुस २०७९, २० : १०
शुक्रबार, ०१ पुस २०७९

संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण बुझाउन पत्राचार गरेको छ । बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन शुक्रबार आयोगलाई पत्राचार गरिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । 

सभामुखको निर्वाचन हुनुअघि जेष्ठ सदस्यले बैठक चलाउनुपर्ने भएकोले आयोगसँग सांसदको आधिकारिक उमेर खुल्ने कागजात सहितको विवरण मागिएको उनले बताए । आयोगले सो को विवरण पठाएपछि सो को परीक्षण गर्ने र सपथ ग्रहणको कार्यक्रम राख्ने तयारी रहेको छ ।  

संसदको अध्यक्षता गर्ने जेष्ठ सांसदको पहिचान खुलेपछि राजनीतिक दलसँग समन्वय गरेर सपथ गराउने दिनको तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए । त्यअघि संसदको जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नेछ । 

सहप्रवक्ता धमलाले भने– ‘हामी सम्बन्धित जेष्ठ सदस्यसँग पनि सम्पर्क गछौँ, राष्ट्रपति कार्यालयसँग पनि समन्वय गर्छौँ, राजनीतिक दलहरूसँग पनि समन्वय हुन्छ, सरकारसँग पनि समन्वय गरेर सल्लाह परामर्शमा संसदहरूको शपथग्रहणको मिति तय गर्ने तयारीमा छौँ ।’  

संसदको पहिलो बैठक बस्नुअघि राष्ट्रपतिबाट संसदका जेष्ठ सदस्यले सपथ लिएपछि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् । सोही क्षण उनले नवनिर्वाचित सांसदहरुलाई सपथ गराउनेछन् । सांसदहरुले सपथ लिएसँगै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप