शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता

कोको उभिए आन्दोलनको पक्षमा ?
बिहीबार, ०७ साउन २०८३, २२ : ११
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नीट प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा आन्दोलनरत विद्यार्थीहरूलाई बलिउडका कलाकारहरूले समर्थन जनाएका छन् ।
  • सलमान खान, आलिया भट्ट, रघुवीर यादव, हुमा कुरैशी, साकिब सलीम, रचित सिंह, आयशा खान, सोनाक्षी सिन्हा, शबाना आजमी, नसिरुद्दिन शाह, प्रकाश राज, दिया मिर्जा, रत्ना पाठक शाह, र ऋतिक रोशन लगायतका कलाकारहरूले विद्यार्थीहरूको पक्षमा आवाज उठाएका छन् ।
  • केही कलाकारले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका छन् भने केही प्रत्यक्ष रूपमा प्रदर्शनमा समेत सहभागी भएका छन् ।

नयाँ दिल्ली । नीट प्रश्नपत्र चुहावट प्रकरणको विरोध गर्दै तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरी कारबाही भएपछि बलिउडका कलाकारहरूले उनीहरूको समर्थनमा खुलेर आवाज उठाएका छन् ।

फिल्म क्षेत्रका अभिनेता, अभिनेत्री तथा गायकहरूले सामाजिक सञ्जालमार्फत विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् भने केही कलाकार प्रत्यक्ष रूपमा दिल्ली र मुम्बईमा आयोजित प्रदर्शनमा समेत सहभागी भएका छन् । 

सलमान खान

विद्यार्थी आन्दोलनको समर्थनमा पछिल्लो पटक बोल्ने कलाकार सलमान खान हुन् । उनले जुलाई २२ मा सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूको पक्षमा सन्देश लेखेका छन्, ‘यो अत्यन्तै शान्तिपूर्ण आन्दोलन थियो । यसले हिंसात्मक रूप लिनुपरेकोमा निकै दुःख लागेको छ । घाइते भएका विद्यार्थी र उनीहरूका परिवारप्रति मेरो हार्दिक सहानुभूति छ । प्रश्नपत्र चुहावट अत्यन्तै गम्भीर विषय हो । हाम्रो देशका विद्यार्थीहरू राम्रो शैक्षिक प्रणालीका लागि एकजुट भएका छन् र उनीहरूलाई अभिभावकले पनि साथ दिएका छन् भन्ने देखेर खुसी लागेको छ ।’

उनले विद्यार्थीहरूको आन्दोलनको शैलीको प्रशंसा गर्दै लेखेका छन्, ‘उनीहरूले देखाएको समर्पण, इमानदारी र कडा मेहनत गरेर आफ्नो भविष्य तथा शिक्षित भारत निर्माण गर्ने प्रतिबद्धताको म सम्मान गर्छु । यो आन्दोलन सही बाटोमा अघि बढेको छ र विद्यार्थीहरूले यसलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाएका छन् । उनीहरूको साहस र दृढताले भारतलाई गर्व गराउनेछ ।’

आलिया भट्टको समर्थन

अभिनेत्री आलिया भट्ट ले पनि जुलाई २३ मा विद्यार्थीहरूको पक्षमा सामाजिक सञ्जालमा लेखिन्, ‘आफ्नो अडानमा अडिग प्रत्येक विद्यार्थीको पछाडि एउटा सपना, एउटा परिवारको आशा र अनगिन्ती त्यागको यात्रा लुकेको हुन्छ ।’

रघुवीर यादव 

‘पञ्चायत’ सिरिजका अभिनेता रघुवीर यादव ले जुलाई २२ मा इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै भने, ‘निर्दोष विद्यार्थीहरूलाई यति निर्दयी रूपमा कुटिएको देखेर म स्तब्ध छु । यदि खाकी पोसाक लगाएका मुख छोपेका मानिसहरूले कसैको आदेशमा विद्यार्थीमाथि कुटपिट गरेका हुन् भने प्रकृतिले उनीहरूलाई कहिल्यै माफ गर्ने छैन । विद्यार्थीहरूको गल्ती के थियो ?’ 

उनले थपे, ‘मेरो सम्पूर्ण साथ विद्यार्थीहरूसँग छ । म उनीहरूलाई सलाम गर्छु ।’

आन्दोलनमा प्रत्यक्ष सहभागी कलाकार

केही कलाकार प्रत्यक्ष रूपमा आन्दोलनमा पनि सहभागी भएका छन् । अभिनेत्री हुमा कुरैशी आफ्ना भाइ तथा अभिनेता साकिब सलीम र अभिनेता रचित सिंहसँग जन्तर–मन्तर पुगेर विद्यार्थीहरूसँग ऐक्यबद्धता जनाइन् । विद्यार्थीहरू २० दिनभन्दा बढी समयदेखि शैक्षिक सुधार र जवाफदेहिताको माग गर्दै आन्दोलनरत छन् । 

उता मुम्बईमा आयोजित प्रदर्शनमा सहभागी भएकी ‘धुरन्धर’ फिल्मकी अभिनेत्री आयशा खान लाई जुलाई २२ मा प्रहरीले नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो ।

सोनाक्षी सिन्हाको निरन्तर समर्थन

विद्यार्थी आन्दोलनलाई सुरुदेखि नै सामाजिक सञ्जालमार्फत समर्थन गर्दै आएकी अभिनेत्री सोनाक्षी सिन्हा ले पछिल्लो भिडियो सन्देशमा महत्त्वपूर्ण विषयमा आवाज उठाउनु सबैको जिम्मेवारी भएको बताएकी छन् ।

वरिष्ठ कलाकारहरूको पनि समर्थन

वरिष्ठ कलाकार शबाना आजमी, नसिरुद्दिन शाह र प्रकाश राज पनि जन्तर–मन्तर पुगेका थिए । उनीहरूले शैक्षिक सुधारको माग गर्दै अनशन बसेका विद्यार्थीहरूलाई समर्थन जनाएका थिए । अभिनेत्री तथा संयुक्त राष्ट्रसंघकी भारतका लागि वातावरण सद्भावना दूत दिया मिर्जाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘लोकतन्त्र त्यतिबेला बलियो हुन्छ, जब असहमतिका आवाज दबाइँदैनन्, बरु सुनिन्छन् । न्याय, करुणा र संयम कमजोरीका होइनन्, समाजको वास्तविक शक्तिका मापदण्ड हुन् ।’ 

रत्ना पाठक शाहले महाभारतको एकलव्य सम्झाइन्

अभिनेत्री रत्ना पाठक शाह ले इन्स्टाग्राममा भिडियो सन्देश पोस्ट गर्दै महाभारतका एकलव्यको प्रसंग उल्लेख गरिन् । उनले प्रश्न गरिन्, ‘के सत्तामा बसेकाहरू केही व्यक्तिको सत्ता जोगाउन विद्यार्थीहरूले आफ्नो भविष्य बलिदान दिनुपर्छ भन्ने अपेक्षा गर्छन् ?’

उनले उक्त पोस्टको शीर्षक ‘आजका एकलव्य’ राखेकी छन् ।

ऋतिक रोशनको भनाइ

अभिनेता ऋतिक रोशन ले जुलाई १८ मै विद्यार्थी आन्दोलनको समर्थन गरेका थिए । ‘सुपर ३०’ फिल्ममा शिक्षकको भूमिका निर्वाह गरेका उनले लेखेका थिए, ‘यो कुरा पूर्ण रूपमा सत्य लाग्छ । एउटा फिल्ममा शिक्षकको भूमिका निभाउँदा विद्यार्थीहरूले भोग्ने मानसिक तनाव र पीडालाई नजिकबाट बुझ्ने अवसर पाएको थिएँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप